आज :

नवनियुक्त उद्योगमन्त्री साहलाई नेपाल उद्योग व्यापार महासंघको ६ बुँदे सुझाव 

  • अनलाइन डबली

काठमाडौं । नेपाल उद्योग व्यापार महासंघ (FNIC) ले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री माननीय दिपक कुमार साहलाई बधाई दिँदै ६ बुँदे सुझाव दिएको छ ।

महासंघका अध्यक्ष खिमनारायण पराजुलीले मन्त्री साहलाई बधाई दिँदै निजी क्षेत्रसँग सहकार्य, संवाद र विश्वासका आधारमा अघि बढाउँदै देशको औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गर्न विश्वास लिएका छन् ।

अध्यक्ष पराजुलीले पछिल्लो समय उद्योगी–व्यवसायी र सरकारबीच विभिन्न विषयमा देखिएका असमझदारी तथा सार्वजनिक अभिव्यक्तिका कारण निजी क्षेत्रको मनोबलमा असर परेको विषयप्रति आफ्नो धारणा सार्वजनिक गरिसकेको बताएका छन् । उनले विगतका घटनालाई विवादका रूपमा लम्ब्याउने पक्षमा नभएको बताउँदै विगतबाट आवश्यक पाठ सिक्दै अब सरकार र निजी क्षेत्रबीच विश्वास, सम्मान, संवाद र सहकार्यको नयाँ वातावरण निर्माण गर्नुपर्छ भन्ने महासंघको स्पष्ट धारणा रहेको बताएका छन् ।

निजी क्षेत्र सरकारको प्रतिपक्षी नभएर आर्थिक विकासको महत्वपूर्ण साझेदार भएको बताउँदै अध्यक्ष पराजुलीले उद्योगी–व्यवसायीले रोजगारी सिर्जना, उत्पादन वृद्धि, राजस्व योगदान तथा वस्तु तथा सेवाको आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

अध्यक्ष पराजुलीले “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण” मूल मान्यता महासंघको रहेको बताउँदै उद्देश्य प्राप्त गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए ।

अध्यक्ष पराजुलीले महासंघको तर्फबाट सरकारले तत्काल ६ वटा काम गर्नुपर्ने प्रस्तुत गरेका छन् ।

१. ग्यास तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज 

हाल देखिएको ग्यास आपूर्तिसम्बन्धी समस्या तत्काल समाधान गरी उपभोक्ता, उद्योग तथा व्यवसायीलाई सहज आपूर्ति सुनिश्चित गर्न आवश्यक छ। आपूर्ति प्रणालीमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी तथा निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक छ।

२. उद्योगी–व्यवसायीसँग नियमित संवाद

मन्त्रालयस्तरमा निजी क्षेत्रसँग नियमित संवाद गर्ने संस्थागत संयन्त्र निर्माण गरिनुपर्छ। समस्या उत्पन्न भएपछि मात्र छलफल गर्नेभन्दा समस्या आउनुअघि नै निजी क्षेत्रसँग परामर्श गर्ने व्यवस्था आवश्यक छ।

३. साना तथा मझौला व्यवसायीलाई प्राथमिकता

नेपालको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेका साना तथा मझौला उद्योगी–व्यवसायीका समस्या समाधानका लागि विशेष नीति, सहुलियत, वित्तीय पहुँच, बजार व्यवस्थापन तथा प्रविधिमैत्री कार्यक्रम ल्याउन महासंघ आग्रह गर्दछ।

४. औद्योगिक लगानीको वातावरण सुधार

नीतिगत स्थिरता, प्रशासनिक सहजता, लगानी सुरक्षा, औद्योगिक पूर्वाधार, विद्युत्, कच्चा पदार्थ, कर तथा भन्सारसम्बन्धी समस्याको समाधान गर्दै स्वदेशी तथा विदेशी लगानीका लागि विश्वासिलो वातावरण निर्माण गरिनुपर्छ।

५. एकद्वार सेवा प्रभावकारी बनाउने

उद्योग दर्ता, नवीकरण, अनुमति, वातावरणीय स्वीकृति तथा अन्य प्रशासनिक प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउँदै वास्तविक अर्थमा One Door Service लागू गर्न आवश्यक छ।

६. व्यापार तथा आपूर्ति प्रणालीमा सुधार

आयात–निर्यात प्रक्रियालाई सरल बनाउने, भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउने, अनावश्यक प्रशासनिक झन्झट हटाउने तथा व्यापार लागत घटाउने नीति आवश्यक छ।

नेपाल उद्योग व्यापार महासंघ सरकारसँग केवल माग राख्ने संस्था मात्र नभई समाधानका विकल्पसहित सहकार्य गर्ने जिम्मेवार निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाका रूपमा अघि बढ्न चाहन्छ।

महासंघले देशको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सम्बन्धित नीतिनिर्माणमा सरकारलाई आवश्यक सुझाव, तथ्यांक, अध्ययन तथा व्यावहारिक समाधान उपलब्ध गराउन तयार रहेको स्पष्ट गर्दछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal