हुम्ला । भारत सरकारको सहयोगमा सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (HICDPs) अन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि उपज प्रवर्धन केन्द्र (Construction of Agriculture Promotion Center) निर्माण हुने भएको छ। परियोजना कार्यान्वयनका लागि सम्बन्धित पक्षबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।
सम्झौतामा भारतीय राजदूतावासको तर्फबाट विकास साझेदार काउन्सेलर अविनाश कुमार सिंह, सम्बन्धित मन्त्रालयका उपसचिव होमनाथ काफ्ले र सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले हस्ताक्षर गरेका छन्।
सर्केगाड गाउँपालिकाले मिति २०८१/०६/१० गते उक्त परियोजनाका लागि प्रस्ताव पेश गरेको थियो। प्रस्ताव स्वीकृत भएसँगै परियोजनाका लागि रु. ८ करोड ११ लाख ४१ हजार ३ सय ५१ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
कृषि उपज प्रवर्धन केन्द्र निर्माण भएपछि सर्केगाड गाउँपालिकामा उत्पादन हुने स्थानीय तथा रैथाने बालीको उत्पादन, संकलन, प्रशोधन, यान्त्रीकरण, व्यवसायीकरण तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। परियोजनाले स्थानीय कृषि उत्पादनलाई बजारसँग जोड्नुका साथै कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
गाउँपालिकाका अनुसार केन्द्र सञ्चालनमा आएपछि स्थानीय कृषक तथा विशेषगरी विपन्न र गरिब परिवारको आयआर्जनमा वृद्धि हुने, रोजगारीका अवसर सिर्जना हुने तथा कृषि क्षेत्रको व्यावसायिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
परियोजना छनोट तथा कार्यान्वयनका लागि सहयोग गर्ने भारतका महामहिम राजदूत नवीन श्रीवास्तव, काउन्सेलर अविनाश कुमार सिंह, सेकेन्ड सेक्रेटरी गरिमा नौट्याल तथा कुमार गौरव लगायत सम्बन्धित निकायप्रति गाउँपालिकाले धन्यवाद व्यक्त गरेको छ।
त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सर्केगाड गाउँपालिका परिवार तथा परियोजनासँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका सम्पूर्ण सरोकारवाला निकाय र व्यक्तिहरूप्रति पनि गाउँपालिकाले आभार व्यक्त गरेको छ।
सर्केगाड गाउँपालिकाले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र आत्मनिर्भर बनाउने दिशामा कृषि उपज प्रवर्धन केन्द्र निर्माण परियोजनालाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। गाउँपालिकाका अनुसार यो परियोजना सर्केगाडको कृषि विकास र स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ।


अनलाइन डबली



