काठमाडौं । यातायात चालकहरूको हकहित तथा पेशागत सुरक्षाका लागि ‘यातायात चालक एकता समाज’ ले ११ बुँदे माग अघि सार्दै हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले माग पुरा नगरे सशक्त संघर्षमा उत्रने चेतावनीसमेत दिएको छ ।
समाजका अध्यक्ष सानु पूर्वछानेले अभियानअन्तर्गत देशभरका चालकलाई एकताबद्ध गर्दै चालकको पेशागत सुरक्षा, दुर्घटनापछिको राहत तथा क्षतिपूर्तिलगायतका विषयमा आफूहरु प्रतिबद्ध रहेको जनाए । पूर्वछानेले स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र यातायात क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा सुधारको मागसमेत रहेको बताए ।

मेची–महाकाली, हिमाल पहाड तराई मधेशका सम्पूर्ण चालकहरुलाई भदौ २७ गते शनिबारका दिन काठमाडौंको खुल्लामन्चमा हस्ताक्षरको लागि पूर्वछानेले अपिल गरेका छन् ।
“हामीले २७ गते नै दुघएटनामा ज्यान गुमाएका चालकका परिवारलाई दोसल्ला ओडाउने, दुर्घटनामा घाइते, कोमामा रहेका चालक तथा परिवारलाई खादा लगाई हौसला दिने र सकेको आर्थिक सहयोगको योजना छ” पूर्वछानेले भने ।
वरिष्ठ अधिवक्त ध्रुबलाल श्रेष्ठले समाजले सुरु गरेको अभियान अत्यावश्यक रहेको बताउँदै सबैलाई यसमा जोडिन आग्रह गरे ।
अधिवक्ता मनिष श्रेष्ठले अभियानले चालकलाई अनावश्यक दुःख, जरिवाना तथा दुव्र्यवहारबाट जोगाउनुपर्ने, चालकको लाइसेन्स तथा रुट परमिटसम्बन्धी समस्या समाधान गर्नुपर्ने, सवारी पार्किङको उचित व्यवस्था गर्नुपर्ने र चालकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने विषय निकै नै संवेदनशील रहेको जनाए ।

समाजका सल्लाहकार राम थापाले दुर्घटनाका क्रममा चालकलाई मात्रै दोषी देखाउने प्रवृत्तिको अन्त्य गरी घटनाको निष्पक्ष अनुसन्धान गर्नुपर्ने, चालक तथा यातायात मजदुरका लागि बीमा र सामाजिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउनुपर्ने माग अभियानले उठाएको जनाए ।
समाजका उपाध्यक्ष इश्वर बस्नेतले ‘यातायात चालक एकता नै शक्ति हो’ भन्ने नारासहित चालकहरूको साझा समस्या समाधानका लागि एकताबद्ध हुन आह्वान गरे । अभियानका क्रममा संकलन हुने हस्ताक्षरमार्फत सम्बन्धित निकायसमक्ष ११ बुँदे माग प्रस्तुत गर्ने तयारी रहेको बस्नेतले बताए ।
‘मेची–महाकाली’ अभियानका रूपमा अघि बढाइएको उक्त पहलले यातायात क्षेत्रका चालकहरूको समस्या राज्यको प्राथमिकतामा राख्न दबाब सिर्जना गर्ने उद्देश्य राखेको पनि जनाए ।


अनलाइन डबली




