स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या, बढ्दो नसर्ने रोग, मानसिक स्वास्थ्य चुनौती तथा आत्महत्याजस्ता गम्भीर सामाजिक समस्याको न्यूनीकरणमा स्वास्थ्य युवा महोत्सवजस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बताउनुभएको छ।
उद्योग वाणिज्य संघ अत्तरियाद्वारा आयोजित स्वास्थ्य युवा महोत्सवलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले वर्तमान समयमा स्वास्थ्य क्षेत्रमा अनेकौँ चुनौती देखिइरहेको अवस्थामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रम आयोजना गर्नु प्रशंसनीय रहेको बताउनुभयो।
उहाँले पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको प्रकोप बढ्दै गएको, मानसिक तनाव, डिप्रेसन तथा आत्महत्याका घटनासमेत बढिरहेको उल्लेख गर्दै यस्ता समस्याको रोकथाम र न्यूनीकरणका लागि स्वास्थ्य महोत्सव प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। स्वास्थ्य क्षेत्रको सुधार, रोगको रोकथाम तथा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न गतिविधिमा प्रदेश सरकार सधैँ सहयोग र सहकार्यका लागि तत्पर रहेको उहाँले बताउनुभयो।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको भौगोलिक अवस्था र पहाडी क्षेत्रको स्वास्थ्य सेवामा पहुँचसम्बन्धी समस्यालाई ध्यानमा राख्दै बैतडीको खोडपे साथै बुडरमा मिनी ट्रमा सेन्टर स्थापना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। त्यसैगरी, प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर दार्चुलाको गोकुलेश्वर र बाजुराको कोल्टीमा प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो।
उहाँले दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय यस क्षेत्रका नागरिकको चाहना, निरन्तर संघर्ष र लामो प्रयासको प्रतिफल भएको उल्लेख गर्दै विश्वविद्यालयमा एमबीबीएस अध्ययन सुरु हुने अवस्थामा कुनै पनि बहानामा पढाइ रोकिनु नहुने बताउनुभयो। संघीय सरकार र डा. गोविन्द केसीबीच भइरहेको सम्झौताका सन्दर्भमा एमबीबीएस अध्ययन प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो।


अनलाइन डबली

