आज :

भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

  • अनलाइन डबली

काठमाडौं । भारतमा व्यावसायिक प्रयोजनका लागि प्रयोग हुने एलपी ग्यास (एलपीजी) सिलिन्डरको मूल्य पुनः घटाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार १९ किलोग्राम क्षमताको व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य अगस्ट १ देखि लागू हुने गरी नयाँ दिल्लीमा २०२ भारतीय रुपैयाँ र कोलकातामा २०० भारतीय रुपैयाँले घटाइएको हो ।

मूल्य समायोजनपछि कोलकातामा १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य १ हजार ७५२.५० भारतीय रुपैयाँ कायम भएको छ । घरेलु प्रयोजनका लागि प्रयोग हुने एलपीजी सिलिन्डरको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन ।

भारतमा पछिल्ला केही महिनादेखि व्यावसायिक एलपीजीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ । जुलाई १ मा पनि १९ किलोग्रामको व्यावसायिक सिलिन्डरको मूल्य १८५.५० रुपैयाँले घटाइएको थियो । यसअघि अप्रिलमा १९५.५० रुपैयाँ र जनवरीमा ११ रुपैयाँले मूल्य बढाइएको थियो । घरेलु एलपीजीको मूल्य भने जुनमा २० रुपैयाँ र मार्चमा ५० रुपैयाँले बढाइएको थियो ।

भारतमा व्यावसायिक एलपीजीको मूल्य घटे पनि त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा भने तत्काल नपर्ने देखिएको छ । नेपालमा खाना पकाउने ग्यासको मूल्य भारतीय बजारको खुद्रा मूल्यका आधारमा नभई नेपाल आयल निगम (एनओसी) ले भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त गर्ने मासिक खरिद मूल्यका आधारमा निर्धारण हुने गर्छ ।

हाल नेपालमा १४.२ किलोग्राम क्षमताको एलपी ग्यास सिलिन्डरको उपभोक्ता मूल्य प्रतिगोटा १ हजार ९१० रुपैयाँ कायम छ । नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा नाफा कमाइरहे पनि एलपी ग्यासमा भने अझै घाटा व्यहोर्दै आएको जनाएको छ ।

निगमका अनुसार एलपी ग्यासमा प्रतिसिलिन्डर घाटा क्रमशः घट्दै गए पनि मूल्य समायोजनका लागि समग्र पेट्रोलियम व्यवसायको वित्तीय अवस्था र आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीलाई आधार बनाइन्छ ।

भारतमा व्यावसायिक एलपीजी सस्तो हुँदा होटल, रेस्टुरेन्ट, क्याटरिङ तथा साना उद्योग व्यवसायको लागत घट्ने अपेक्षा गरिएको छ । नेपालमा पनि पर्यटन तथा सेवा क्षेत्र विस्तारसँगै व्यावसायिक ग्यासको खपत बढ्दै गएकाले अन्तर्राष्ट्रिय बजारमा एलपीजी मूल्य घट्ने क्रम जारी रहे आगामी महिनाहरूमा निगममाथिको घाटा चाप कम हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal