आज :

गाउँको यात्रा : परिवर्तनको प्रतीक्षामा गाउँ

  • देविराम देवकोटा

फागुन २१ गते, गाउँ जाने अवसर जुर्यो। सुर्खेतबाट निस्किँदा मनमा उत्साह थियो — बाल्यकाल बिताएको ठाउँ, पुराना साथीहरू र जन्मभूमिको माया। विद्यालयदेखिका साथी नहकुल सञ्ज्याल (हाल सान्नीत्रिवेणी–६ का वडाध्यक्ष) सँगै बाइकमा यात्रा सुरु गर्‍यौँ।

सुर्खेतदेखि दैलेखको तल्लोडुङ्गेश्वरसम्म सडक अवस्था ठिकठाकै थियो। तर, त्यसपछि कर्णाली राजमार्गको हालत देखेर मन भारी बन्यो। ठाउँ–ठाउँमा खाल्डाखुल्डी, पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे। पादुका खोलाभन्दा माथि त धुलो यति उड्छ कि बाटो नै देखिन्न। मनमा प्रश्न उठ्यो — यो बाटो कहिले बन्ने हो? कसले बनाउने हो?

बिहान आठ बजे नास्ता खाएर निस्किएका हामी दैलेखको टुनिबगर पुगेर केहिबेर आराम गर्‍यौँ। खाजा खाएर फेरि अगाडि बढ्यौँ। कर्णाली नदी आफ्नै गतिमा सुसाउँदै तलतिर बगिरहेको थियो, हामी त्यसको छेउछाउ हुँदै माथि चढ्दै थियौँ। कालिकोटको लालिघाटमा पुग्दा चार बजिसकेको थियो।

त्यहाँबाट कतै नरोकिएर सान्निघाटतर्फ लाग्यौँ। तर, त्यहाँ अनपेक्षित घटना भयो — झोलाबाट एक जोर कपडा खसेको पत्तै भएन। थाहा पाएर आधा बाटो फर्केर खोजेँ, तर फेला परेन। सान्निघाटदेखि मेहलमुडीसम्मको यात्रा झन् दर्दनाक रह्यो। ठाउँ–ठाउँमा बाइक पछाडिबाट धकेल्नुपर्‍यो, थकाइले लखतरान बनायो। अन्ततः साँझ सात बजे मेहलमुडी पुग्यौँ। वडाध्यक्ष नहकुलकै घरमा खाना खाएर सुतेँ।

फागुन २२ गते

मेहलमुडी मेरो लागि परिचित ठाउँ हो। त्यहाँ इमानदार र त्यागी नेता देवनारायण सञ्ज्यालसँग बिहानै भेट भयो। उहाँसहित वडाध्यक्ष नहकुलका साथमा मेहलमुडीमा रहेको पञ्चदेवलको संरक्षणबारे कुराकानी गरियो। त्यसपछि वडामा भएका विकास निर्माण र भोलिका योजनाहरूको चर्चा भयो। खाना खाएपछि नेकपा (माओवादी केन्द्र) सान्नीत्रिवेणी गाउँ कमिटीको बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी भएँ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, केन्द्रीय सदस्य गङ्गा खड्का बोगटी, जनकनाथ योगी, जिल्ला संयोजक डम्बर बहादुर शाही, सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी, जिल्ला नेताहरू जगत बहादुर शाही, मिठ्ठुदेवी बम, भरत बहादुर विक, देवनारायण सञ्ज्याल, नहकुल सञ्ज्याल, हर्क बहादुर ऐडी लगायत स्थानीय नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रह्यो। उहाँहरूसँगको भेटघाट र छलफल मेरो लागि निकै फलदायी बन्यो।

फागुन २३ गते

बिहानै साथीहरू भेट्न पालिका मुकाम पुगेँ। शिक्षक कर्मचारीहरूको कार्यक्रममा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, जिल्ला संयोजक डम्बर बहादुर शाही, गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी लगायत सहभागी हुनुहुन्थ्यो। दिउँसो गाउँपालिकाले गरेका विकास निर्माण र नयाँ योजनाबारे गाउँपालिका अध्यक्षसँग जानकारी लिएँ। बेलुकी उहाँसँगै बस्ने निधो भयो। अबेरसम्म विगत, वर्तमान र भविष्यबारे मिठा कुराहरू गर्दै उहाँकै निवासमा सुतेँ।

फागुन २४ गते

फागुन २४ गते, अन्तर्राष्ट्रिय नारी दिवस। दिवसको अवसरमा पालिका मुकाममा विशेष कार्यक्रम आयोजना गरियो। गाउँभरिका महिलाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा महिलाहरूले सांस्कृतिक प्रस्तुति, देउडा खेल प्रस्तुत गरेका थिए — नाचगान र प्रेरणादायी भाषणहरू। विभिन्न क्षेत्रबाट आएका वक्ताहरूले महिलाको सशक्तीकरण, शिक्षा र नेतृत्वमा उनीहरूको उपस्थितिको महत्त्वबारे बोले। त्यो दिन केवल उत्सव मात्र होइन, चेतना र अधिकारको कुरा गर्ने थलो बन्यो। नारी दिवसको त्यो उत्साहले गाउँमा महिला सशक्तीकरणको नयाँ आशा जगाएको महसुस भयो। त्यही दिन गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालसँग पनि भेट भयो। छोटो कुराकानी पछि छुट्टीयौ ।

फागुन २५ र २६ गते

नेकपा (माओवादी केन्द्र) कालिकोटले मान्ममा जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रम आयोजना गरेको रहेछ। मलाई “सूचना र सञ्चारको महत्त्व” भन्ने विषयमा प्रशिक्षण दिन अनुरोध गरियो। झन्डै पाँच सयभन्दा बढी सहभागीहरूका अगाडि प्रशिक्षण दिन पाउँदा मन गदगद भयो। सबैले चासोका साथ सुने, जसले मलाई थप हौसला दियो। त्यस कार्यक्रममा सबैभन्दा प्रभावकारी प्रशिक्षण डा. आर.सी. लामिछानेको रह्यो। सकारात्मक सोच विकासबारे उहाँले दिनुभएको प्रशिक्षण माओवादी नेता कार्यकर्ताका लागि निकै प्रेरणादायी बन्यो।

 

फागुन २६ गते दिउँसो सान्नीत्रिवेणी गाउँपालिकाको वडा नम्बर १, सेरिज्युला जाने योजना बन्यो। माओवादी केन्द्र सान्नीत्रिवेणी गाउँपालिका अध्यक्ष हर्क बहादुर ऐडी र म मान्मबाट सियाला हुँदै रेङ्गिल पुग्यौं। बाटैमा सान्नीत्रिवेणीकी इन्चार्ज मिठ्ठुदेवी बम (सैलजा) लाई भेट्यौं। सेरिज्युलामा पुगेर पूर्व वडाध्यक्ष भरत बहादुर विकसँग भेट भयो। त्यस रात वडासदस्य शक्तिराज बटालाको घरमा आत्मीय स्वागत पाइयो।

फागुन २७–२९ गते

फागुन २७ गते बिहान पूर्व वडाध्यक्ष भरत बहादुर विकको घरमा खाना खाएर दिउँसो वडा नम्बर १ को बैठकमा सहभागी भयौं। स्थानीय कार्यकर्ता र नेताहरूले उत्साहजनक रिपोर्ट प्रस्तुत गरे। बैठकमा पार्टीका वडाध्यक्ष मनिराम जैसी, सचिव परेकराज गिरिको नेतृत्वमा रहेको कमिटीका सदस्यहरूको उपस्थिति उल्लेखनीय र उत्साहजनक थियो।

फागुन २८ गते वडा नम्बर २ को कार्यक्रमका लागि सेरिज्युलाबाट माथि चुच्चेढुंगातर्फ लाग्यौं। वडाध्यक्ष परेकराज तिरुवाको घरमा खाना खायौं। अबेरसम्म कार्यक्रम गरेर राति बुट्ठिगेस्थित सुर्ज बुढाको घरमा बास बस्यौं।

फागुन २९ गते वडा नम्बर ३ को कार्यक्रमका लागि बिहानै उठेर बुट्ठिगेबाट हिँड्यौं। भैन पुग्दा भोक लागिसकेको थियो, त्यहाँ शिक्षक पदमराज देवकोटाको घरमा रोटी खाएर कयारीतर्फ लाग्यौं। कयारीमा माओवादी नेता दमनराज देवकोटाको घरमा खाना खाएर वडा नम्बर ३ को बैठकमा सहभागी भयौं।

यसरी मेरो एक हप्ता गाउँमा बित्यो। गाउँको अवस्था हेर्दा केही आशा र केही चिन्ता लाग्यो। भौतिक विकासले फड्को मार्दै गरेको छ — स्कुल, स्वास्थ्य चौकी, बिजुली, सडक पुगेको छ। गाउँमा बिस्तारै पक्की घरहरू बन्दैछन्। तर, गाउँमा सरसफाइ, चेतना र भाषिक स्तरमा अझै सुधारको आवश्यकता छ। सबैभन्दा दुःख लाग्ने पक्ष के थियो भने — गाउँमा युवाहरू छैनन्। केवल बुढाबुढी र बालबालिका मात्रै छन्। युवाबिनाको गाउँ नरमाइलो लाग्दो रहेछ।

यो यात्रा मेरो लागि केवल बाटो पार गर्ने अनुभव मात्र बनेन, गाउँको माटो, माया र विकासको भोक महसुस गर्ने अवसर पनि बन्यो। गाउँ अझै परिवर्तनको प्रतीक्षामा छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal