आज :

सात समुद्र पारिबाट नौमूलेका असिना पीडितको घाउमा मलम लगाउँदै मानेन्द्र चन्द

  • नवीन रिजाल

दैलेख । असिना पानी एउटा यस्तो प्राकृतिक प्रकोप हो, जसले केही मिनेटमै ठूलो विनाश निम्त्याउन सक्छ र निरन्तर असिना पर्दा विशेष गरी नेपाल जस्तो कृषि प्रधान देशका ग्रामीण र भौगोलिक रूपमा दुर्गम भेगमा यसको प्रत्यक्ष र गम्भीर असर पर्छ । दैलेख सदरमुकाम देखि झण्डै २० किलोमिटरको जोखिम पूर्ण कच्ची सडक पार गरेर मात्र पुग्न सकिने नौमूले गाउँपालिका राज्यको नजर बाट सधैँ पछाडि परेको एउटा पिछडिएको क्षेत्र हो । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको यो पालिका असाध्यै विकट र भिरालो भूगोलमा अवस्थित छ, जहाँ भिरालो जग्गाका कारण त्यसै पनि खेतीपाती खासै फस्टाउन सक्दैन । दुःख गरेर उब्जाएको अन्नबाली र फलफूल लाई समेत गत वैशाख ४, ५ र ६ गतेको निरन्तर असिना पानीले चुटेर यहाँका गरिब जनताको छाक र बास नै उजाड बनाइदिएको छ ।

असिना पानीले विशेष गरी नौमूले गाउँपालिका वडा नम्बर २, ३ र ४ मा ठूलो प्राकृतिक विपत्ति निम्त्याए पछि महिनाौँको श्रम र लगानी क्षणभरमै बालुवामा परिणत हुँदा किसानहरू ऋणको दलदलमा फसेका छन्, जसले गर्दा उनीहरूमा गम्भीर मानसिक समस्या र तनाव समेत निम्त्याएको छ । असिना पानीले खेतमा पाकेको र भित्र्याउने बेला भएको गहुँ, तोरी तथा उम्रिँदै गरेको मकै बाली लाई चुटेर क्षण भरमै सोत्तर बनाइ दिएको छ भने यस क्षेत्रको आम्दानीको स्रोत मानिने सुन्तलाका फल र साना फलफुलका बिरुवाहरू सबै झारिदिए पछि आगामी वर्षको उत्पादन शून्य हुने स्थिति बनेको छ । व्यावसायिक रूपमा लगाइएको बन्दा, आलु, खुर्सानी, लसुन र प्याजका पात तथा डाँठहरू भाँचिएर पूरै नष्ट भएका छन् भने आधुनिक कृषि अन्तर्गत किसानहरूले ठूलो लगानी गरेर बनाएका व्यावसायिक प्लास्टिकका टनेलहरू असिनाको भार र चोटले क्षत बिक्षत भएका छन् । ग्रामीण भेगका फुसका छाना र कमजोर जस्ता पाता भएका घरहरूमा समेत असिनाले प्वाल पारिदिएको छ भने खुला आकाश मुनि रहेका घर पालुवा पशुपन्छी र जङ्गलका चराचुरुङ्गीहरू समेत असिनाको चोटले मरेका छन् र ठूलो असिनाले माटोको माथिल्लो मलिलो भाग बगाएकाले आगामी बालीको उत्पादकत्वमा समेत ह्रास आउने जोखिम बढेको छ ।

असिनाले खेती पाती मात्र होइन, वनजङ्गल समेत उराठ बनाए पछि नौमूले वडा नम्बर ३ की पीडित नर्मा रासकोटी मगर आफ्नो पीडा पोख्दै भन्नुहुन्छ, “यो विकट ठाउँमा खेतीपाती बाहेक केही हुँदैन, अन्न त सखाप भयो भयो, जङ्गलमा पाइने तरुल, कन्दमूल र काफल खाएर भए पनि छाक टार्न हुन्थ्यो, असिनाले त्यो पनि सबै झारेर नष्ट गरिदियो ।“ सात जनाको परिवार भएकी नर्माका श्रीमान् अपाङ्गता भएका कारण घरमा कमाउने कोही छैन र पूरै परिवार अहिले समस्या र बेरोजगारीको चपेटामा परेको छ ।

एउटा व्यक्तिको सच्चा समाज सेवा र मनकारी भावनाले समाजमा कति गहिरो प्रभाव पार्छ भन्ने उदाहरण नौमूले गाउँपालिका वडा नम्बर ६ स्थायी घर भई हाल अमेरिकामा बस्दै आएका मनकारी व्यक्तित्व एवं ’मानेन्द्र चन्द फाउन्डेसन’ का अध्यक्ष मानिन्द्र चन्द ठकुरीले प्रस्तुत गर्नुभएको छ । विगत लामो समय देखि दैलेखको शैक्षिक क्षेत्र लगायत अन्य सामाजिक क्षेत्रमा मात्रै करिब ३ करोड रुपैयाँ भन्दा बढी रकम सहयोग भित्र्याइ सक्नु भएका ठकुरीले यस पटकको महा विपत्तिमा पनि तत्कालै मल्हम लगाउँदै हुनुहुन्छ । अति प्रभावित १७० विपन्न, अपाङ्ग र असहाय किसान परिवार लाई प्रति परिवार एक÷एक बोराका दरले १७० बोरा चामल राहत स्वरूप वितरण गर्नुभएको छ । राहत वितरणका सह–संयोजक गगनबहादुर थापा भन्नुहुन्छ, वडा कार्यालयको सिफारिसमा वास्तविक पीडित छनोट गरेर हामीले स्वयम सेवकका रूपमा यो राहत पु¥याएका हौँ, भौतिक रूपमा सात समुन्द्र पारि भए पनि मानिन्द्र जीको मनकारी विचारले पीडित लाई ठूलो मलम पट्टी लागेको छ । तर, ठकुरीको यो निःस्वार्थ समाजसेवाको जति प्रसंसा गरे पनि कमै हुन्छ ।

यद्यपि, यो सहयोग तत्कालको छाक टार्न मात्र पर्याप्त छ र नौमूले गाउँपालिकाका उपाध्यक्ष गङ्गबहादुर शाहीका अनुसार अझै ९०० भन्दा बढी असिना पीडित परिवार राहत पाउन बाट छुटेका छन् । वडा नम्बर ४ की अमृता सुपराई मगर राहत बुझ्दै भन्नुहुन्छ, यो राहतले धेरै दिन सम्म खान पुग्छ, हामी खुसी छौँ तर एउटा व्यक्तिले मात्र हेरेर भएन, जनता खान नपाएर मर्ने स्थिति आयो, पालिका, सङ्घ र प्रदेश सरकार जनताका कुना कन्दरा र काप्चा सम्म पुग्नु प¥यो । स्थानीय उत्पादन पूरै नष्ट भएकाले अब बजारमा तरकारी र फलफूलको अभाव भई अस्वाभाविक महँगी बढ्ने र यसले खाद्य संकट निम्त्याउने निश्चित भएकाले यस्तो जोखिम न्यूनीकरणका लागि मौसम पूर्वानुमानको नियमित अपडेट लिने, ’असिना रोक्ने जाली’ को प्रयोग गर्ने र बाली तथा पशु बिमा गराउने तर्फ सरकारले नीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ ।

नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले सहयोगी मानिन्द्र चन्द ठकुरीको परोपकारी कार्यको उच्च प्रसंशा गर्दै पालिका सरकार मूकदर्शक नबस्ने स्पष्ट पार्नुभएको छ। अध्यक्ष सुवेदी भन्नुहुन्छ, उहाँ अमेरिकामा बस्ने भए पनि दैलेखमा कहाँ कसलाई समस्या परेको छ, त्यो बुझेर सहयोग गर्नुहुन्छ, उहाँको कामले उहाँ अमेरिकामा नभई नौमूलेमै भएको अनुभूति दिलाएको छ र गाउँपालिकाको तर्फबाट पनि छिट्टै बाँकी पीडित किसानहरूका लागि राहत र पुनस्र्थापनाको प्याकेज वितरण गरिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal