काठमाडौं । गत जेठ १५ गते गिरफ्तार भएका दलित अभियान्ता जनक परियार हिरासत मुक्त भएका छन् । सार्बोच्च अदालतमा परेको बन्दी प्रत्क्षीकरण सम्बन्धी रिटमाथि भएको सुनुवाईपछि परियार शुक्रबार रिहा भएका हुन् ।
शनिबार संवाद डबलीमा दलित अधिकारकर्मीहरुले गरेको कार्यक्रमा बोल्दै परियारले आफूलाई केही सांसदहरुको ब्यापक दबाबमा प्रहरीले गिरफ्तार गरेको दाबी गरे । आफूलाई गरिफ्तार गरेलगत्तै ‘धार्मीक आस्थामाथि आघत पुर्याउन नहुने’ सम्बन्धी मुद्धा दायर गरेर ७ दिनसम्म हिरासत राखेको जनाए । हजारौं वर्षदेखि दलितमाथि भएको थिचोमिचोको विषयमा पीडा व्यक्त गर्दा हिरासत पुग्नु परेको बताउँदै परियारले भने,“मेरो गिरफ्तारी हैन, सिंगो दलित समुदायमाथिको अपमान हो, हिरासतपछि मेरो आत्मबल थप बढेर आएको छ ।” “मेरो शरीरमा एक थोपा रगत रहेसम्म दलितका पक्षमा आवाज उठाइरहनेछु” परियारले थपे ।
अधिवक्ता यमकुमारी ददेलले बोलेकै आधारमा गिरफ्तार पर्नु संविधानकोे मर्म र भावना विपरित भएको बताईन् । जनकालाई राजनीतिक उच्च तहबाटै दबाबपछि गिरफ्तार गरिएको विषय प्रहरी प्रशासनले खुलासा गरेको जनाउँदै भनिन्,“माननीयज्यूहरुले आफ्नो गरिमालाई भूलेर दलित अभियान्तालाई पक्रे पनि सम्मानित अदालतले नयाय दिएको छ ।”
अधिवक्ता गम्भीर नेपालीले बोलेकै आधारमा व्यक्तिाई पक्रनु निकै नै गम्भीर विषय भएको र राज्य त्यस्ता विषयमा संवेदनशील बन्नु पर्ने धारणा राखे ।
श्रम–संस्कृति पार्टीका नेता निर्मल परियारले जनकालाई गिरफ्तार गराउन सांसद ज्ञानबहादुर शाही हात धोएर लागेको र उनि दलित समुदायप्रति पूर्वाग्रह रहेको भन्दै आक्रोश व्यक्त गरे । “ज्ञानेन्द्र जी तपाई श्रीकृष्ण विक, अजित मिजार, इनिसा, रेस्मिका परियार, खगेन्द्र विकहरु अन्यायमा पर्दा चुइक्क नबोल्ने, अनि दलित अधिकार बारे बोल्नेहरुको मुखमा टेप लाउने, हामीले हिसाब राखेका छौं” परियारले भने ।
परियारले भिम उपाध्यायले पनि जनकका विषयमा भए नभएका विषय उठान गरेर अतिरञ्जित गरेको र दलित अभियान्ताबाट उदाएका रास्वपा सांसद खगेन्द्र सुनार पनि मौन बस्ने विषयको हिसाब राखेको भन्दै चेतावनी दिए ।
राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विकले दलितहरुका आत्मसम्मान, सामाजिक न्याय, समानता र समस्याका विषयमा बेलैमा हल नगरिए नेपालमा मात्रै नभएर दक्षिण एसियामै ठूलो विद्रोह जन्मने चेतावनी दिए ।
दलित अभियान्ता कृष्ण सेवाले जनक परियारको गैरन्यायीक गिरफ्तारीले सिंगो दलित समुदायमाथि नै प्रहार भएको बताए । “जनकलाई सम्मानीत अदालतले रिहा त गर्यो तर दलितका तमाम समस्याहरुलाई समाधान नगरे भविष्यमा ठूलो आन्दोलन हुनसक्छ” सेवाले भने ।
नेपाली कम्युनिस्ट पार्टीका नेता गणेश गोतामेले माओवादीले १० वर्षको जनयुद्धमा दलितलाई अधिकार दिन सफल भएपनि पछिल्लो समयमा अधिकार खोसिन लागेको भन्दै चिन्ता व्यक्त गरे ।
जेनजी सुप्रिया नेपालीले लुम्बिनी प्रदेशका सांसद सिके गुप्ताले जनक परियार विरुद्ध अभिव्यक्तिको सिंगो दलित समुदायले हिसाब राखेको चतावनी दिइन् ।
जेनजी सुनिल विकले कर्णाली जस्तो सबैभन्दा उत्पीडनमा परेको क्षेत्रबाट आएका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीकै दलित युवामाथि पूर्वाग्रह साध्नुले उनको साशकीय मानसिकता झल्केको जिकिर गरे ।
परियारलाई गिरफ्तार गरे लगत्तै धार्मीक आस्थामाथि आघात पुर्याउन नहुने सम्बन्धी मुद्धा चलाएको थियो । परियारलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले सुनुवाइ गर्दै हिरासत मुक्त गरेको थियो ।
सो रिटमा अधिवक्ताहरु यमकुमारी ददेल, अप्सरा केसी, गम्भीर नेपाली र सरकारी वकिल शिला भूसालले बहस गरेका थिए ।


अनलाइन डबली

