काठमाडौं । सुस्ता क्षेत्रमा भारतीय प्रहरी प्रवेश गरेको विरोधमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी भई फर्किरहेका राष्ट्रिय जेनजी नागरिक अभियानका दुई अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अभियानका अनुसार अजय सोडारी र वीरजंग विकलाई काठमाडौंको कालोपुल क्षेत्रबाट पक्राउ गरी सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ।
शुक्रबार भएको प्रदर्शनमा सहभागीहरूले सुस्ता क्षेत्रमा भएको भनिएको भारतीय सुरक्षा निकायको प्रवेशप्रति आपत्ति जनाउँदै विभिन्न नारासहित विरोध प्रदर्शन गरेका थिए।
राष्ट्रिय जेनजी नागरिक अभियानले शान्तिपूर्ण रूपमा आफ्नो धारणा व्यक्त गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत भएको जनाएको छ। अभियानले पक्राउ परेका अभियन्ताहरूको तत्काल रिहाइको माग गर्दै घटनाबारे स्पष्ट जवाफ दिन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
यता, पक्राउको कारण र कानुनी आधारबारे नेपाल प्रहरीले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


अनलाइन डबली


