काठमाडौं । पाठ्यक्रम विकास परिषद्को बैठकले माध्यमिक तहमा गणित विषयलाई अनिवार्य रुपमा राखेको छ । उक्त तहमा गणित विषय अनिवार्य नहुँदा विद्यार्थीले उच्च शिक्षामा अवसरलाई प्राप्त गर्न नसक्ने अवस्थालाई मनन् गरी गणित विषयलाई अनिवार्य गरेको छ ।
कक्षा ११ र १२ मा देखिएको विषयगत समस्यालाई समाधान गर्ने गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । निर्णयमा विषयगत प्रयोगात्मक पाठ्यघण्टा सम्बन्धित पाठ्यक्रमले निर्धारण गरेबमोजिम थप हुन सक्ने व्यवस्था गरेको छ ।
उक्त निर्णयमा अनिवार्य विषयका रूपमा गणित विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय र अनिवार्य विषयका रूपमा सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा विषय अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक विषयको रूपमा गणित विषय अध्ययन गर्न सक्ने व्यवस्था गरेको छ ।
निर्णयपछि मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै नमिलेका विषय र संरचनामा केही हेरफेर गरेको जानकरी दिए । केन्द्रका महानिर्देशक केशव दाहालले अब पाठ्यक्रमको सबै समस्या हल भएको जानकारी दिएका छन् ।