काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारोमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उच्च ज्वरोलगायतका कोरोनाका लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यो चौथो परीक्षण भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
कोरोना महामारीलाई सुरुदेखि नै सामान्य फ्लू भएको भन्दै आएका राष्ट्रपति बोलसोनारो आफैलाई संक्रमण भएको छ । कोरोनालाई सामान्य रुपमा लिएको भन्दै बोलसोनारोको आलोचना हुँदै आएको थियो । राष्ट्रपति बोलसोनारोले कोरोनालाई सामान्य भन्दै सामाजिक दूरी, मास्क, सेनिटाइजर समेत प्रयोग गर्दैन थिए ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले हालै राष्ट्रपति बोलसोनारोले कोरोना सम्बन्धी मापदण्ड पूरा नगरी सार्वजनिक कार्यक्रममा सहभागी भएको फोटो सार्वजनिक गरेका थिए । राष्ट्रपतिकै लापर्वाहीका कारण ब्राजिलमा कोरोनाले महाकारीको रुप लिएको बताइन्छ । उनले नागरिकलाई सामान्य फ्लू मात्रै भएको सन्देश दिइरहेकोले कम सतर्कता अनपाइएको बताइन्छ ।
अहिले कोरोनाबाट बढि संक्रमितमा अमेरिका पछि ब्राजिल नै छ । हालसम्म ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ६६ हजार ७ सय ४१ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच अमेरिकामा कोरोना संक्रमितको संख्या ३१ लाख नजिक पुगेको छ । त्यस्तै १ लाख ३४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । कोरोनाबाट बढी प्रभावितको सूचीमा छिमेकी भारत तेस्रो नम्बरमा पुगेको छ । भारतमा बुधबार विहानसम्म साढे ७ लाख संक्रमित भएका छन् भने करिब २१ हजारले ज्यान गुमाएका छन् ।