काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापी महामारीको रुप लिएको घोषणा गरेको छ । यसअघि महामारीको रुप लिएको घोषणा गर्न नमानेको डब्ल्यूएचओले १ सय २३ देशमा कोरोनाको संक्रमण देखिएपछि भने सो घोषणा गरेको हो ।
डब्ल्यूएचओले बुधबार प्रधान कार्यालय जेनेभामा पत्रकार सम्मेलन गर्दै सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी महामारीको रुपमा फैलिएको बताए ।
महामारी शब्दले मानिसमा डर उत्पन्न गराउने भए पनि अहिले कोरोनाको संक्रमण त्यही रुपमा फैलिएको उनको भनाइ छ । डब्ल्यूएचओको मूल्यांकन अनुसार अब यो प्रकोपका रुपमा मात्रै नरहेको उनले बताए ।
तीन महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट ती देशहरुका एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको छ भने चार हजार ६ सय २७ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ ।
डब्ल्यूएचओले पछिल्लो २४ घन्टामा मात्रै तीन सय ३१ जनाको कोरोनाकै संक्रमणका कारण मृत्यु भएको छ भने सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएको बताइएको छ ।
कोरोनाको संक्रमण चीनमा घट्दै गएपनि अन्य देशमा भने हावाको गतिमा फैलिएको छ । इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ ।
यसैबीच इटली र डेनमार्कले भने अत्यावश्कीय सेवा र बस्तु बाहेक सबैमा बन्द गरेका छन् । आवतजातमा प्रतिबन्ध ङ्लकसगाएका छन् ।
चीन पछि सबैभन्दा बढी इटलीमा कोरोनाको संक्रमण देखिएको छ । डेढ कोरोड मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने मृत्यु हुनेको संख्या करिब ८ सय २८ जना पुगेको छ ।
कोरोनाबाट डराउनु भन्दापनि संक्रमण नहुँदै सतर्क बन्न सरोकारवाला निकाय र व्यक्तिहरुले अपील गरेका छन् ।