काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनालाई उचल्ने प्रयास गरेका छन् । उनले राष्ट्रपति निकोलस मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् । ट्रम्पले विपक्षी नेता हुँवा गुएडोलाई साथ दिन आग्रह गरेका हुन् ।
मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गत जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपेली युनियन तथा ब्राजिल, पेरु, कोलम्बियासहितका दक्षिण अमेरिकी देशको समर्थन छ । यस्तै, राष्ट्रपति मादुरोलाई चीन र रुसको साथ छ भने देशको सेना पनि उनकै पक्षमा छ ।
गुएडोको आग्रहमा भेनेजुएलाका लागि मानवीय सहायता सामग्री पठाएको अमेरिकाका राष्ट्रपति ट्रम्पले सोमबार फ्लोरिडामा गरेको सम्बोधनमा विश्वको आँखा मादुरोलाई साथ दिनेमाथि रहेको भन्दै चेतावनी समेत दिए । आन्तरिक कलह चुलिंदै जाँदा भेनेजुएला प्रकरणले विश्व पनि विभाजित बन्दै गएको छ ।