आज :

फाइनलमा सुदूरपश्चिमसँग भिड्न लुम्बिनी तयार, रोहितले भने–मोमेन्टम महत्वपूर्ण

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा शनिबार सुदूरपश्चिम रोयल्ससँग भिड्न लुम्बिनी लायन्स तयार रहेको कप्तान रोहित पौडेलले बताएका छन् ।

फाइनल खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रोहितले तीन दिनको विश्रामपछि टोलीले राम्रो अभ्यास गरेको र खेलाडीहरूले सुधार गर्नुपर्ने पक्षमा काम गरेको बताए ।

उनले भने, ‘हाम्रो तीन दिन रेस्ट थियो । सुरुमा दुई दिन रेस्ट गर्‍यौँ र आज भर्खर राम्रो प्राक्टिस सेसन गर्‍यौँ। सबैको इम्प्रुभ गर्नुपर्ने कुराहरूमा काम गर्‍यौँ र भोलिका लागि एकदमै रेडी छौँ। एकदम एक्साइटेड पनि छौँ।’

टोलीले पछिल्ला खेलमा हासिल गरेको जितले आत्मविश्वास बढाएको उल्लेख गर्दै रोहितले मोमेन्टम कुनै पनि टिम गेम र प्रतियोगितामा महत्वपूर्ण हुने बताए ।

‘मोमेन्टम एकदमै इम्पोर्टेन्ट हो कुनै पनि टिम गेममा र टुर्नामेन्टमा, मोमेन्टम भयो भने एउटा फिल हुन्छ । टिममा कुनै पनि सिचुएसनबाट जित्न सक्छौँ भन्ने विश्वास हुन्छ । अहिले मलाई लाग्छ लुम्बिनी लायन्समा त्यो फिल छ,’ उनले भने ।

यद्यपि, पछिल्लो प्रदर्शन राम्रो हुँदैमा फाइनल जित सुनिश्चित नहुने भन्दै उनले सुदूरपश्चिम पनि बलियो टोली भएकाले आफ्नो उत्कृष्ट क्रिकेट खेल्नुपर्ने बताए ।

लुम्बिनीले पछिल्ला तीन खेलमा सुदूरपश्चिमलाई पराजित गरे पनि त्यसलाई फाइनलको नतिजासँग जोड्न नहुने उनको भनाइ छ । सुदूरपश्चिमले त्यसअघि दुई खेल जितेको स्मरण गर्दै उनले क्रिकेटमा जुनसुकै नतिजा आउन सक्ने बताए ।

‘पछिल्लो तीन वटा गेममा हामीले सुदूरलाई जितेका छौँ तर त्योभन्दा अगाडिको दुईवटा गेममा उनीहरूले पनि जितेका छन् । क्रिकेट हो, जे पनि हुन सक्छ । अहिले लुम्बिनी राम्रो खेलिरहेको छ, तर आफ्नो बेस्ट क्रिकेट खेल्नुपर्छ। पछिल्ला तीन खेलमा जे भयो, त्यसले भोलिको खेलमा केही अर्थ राख्दैन। जित्नको लागि भोलि राम्रो खेल्नैपर्छ,’ उनले भने ।

यता सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीको बलिङ आक्रमण राम्रो रहेको र त्यसको सामना गर्ने रणनीति टोलीले बनाइसकेको बताए ।

‘उनीहरूको बलिङ अट्याक राम्रो छ। त्यो बलिङ अट्याकलाई कसरी खेल्ने भन्ने कुरा मिटिङमा प्लान भइसकेको छ। त्यो कुरा धेरै नगरौँ, भोलि फिल्डमै हेरौँ,’ उनले भने ।

टोलीको खेलाडी संयोजनबारे बोल्दै दीपेन्द्रले खेलाडी परिवर्तन हुँदा टिमको सन्तुलनमा असर पर्ने बताए । परिस्थितिअनुसार खेलाडी परिवर्तन गर्दा नयाँ खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने अवस्था पनि रहने उनको भनाइ थियो ।

‘कोही प्लेयर खेलिरहेको छ, यहाँको कन्डिसनमा खेलिरहेको छ भने अचानक त्यो गयो भने टिमको ब्यालेन्स पनि बिग्रिन्छ । आउने प्लेयर पनि त्यो अनुसारले पर्फर्मेन्स गर्दैन । कोही प्लेयरले गर्छ, कोही प्लेयरले गर्दैन। त्यसले अलिकति ब्यालेन्स त बिग्रिन्छ । त्यसअनुसार हामी पनि तलमाथि गरिरहेका छौँ,’ उनले भने ।

अघिल्लो खेलको परिस्थितिलाई धेरै सोच्नुभन्दा फाइनलमा केन्द्रित हुनुपर्ने बताउँदै दीपेन्द्रले भने, ‘त्यो एउटा गेम थियो, त्यतिबेला सिचुएसनमा त्यस्तो भयो। त्यो कुरा पास भइसक्यो, अब त्यो कुरा सोचेर पनि फाइदा छैन। अगाडि बढौँ।’

एनपीएलको तेस्रो संस्करणको फाइनलमा शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दैछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal