
रामेछाप । बिपी राजमार्गको करिब ३० किलोमिटर सडक अब दुई लेनको राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने भएको छ । सडक विभागले हालसम्म चार निर्माण कम्पनीसँग विभिन्न चार खण्डका ठेक्का सम्झौता गरिसकेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अर्को खण्ड अनुदानमा निर्माण गर्ने तयारी गरिरहेको छ ।
सडक विभागका अनुसार निर्माण कार्यको ठेक्का सम्झौता सम्पन्न भएको मितिबाट दुई वर्षभित्र सबै काम सम्पन्न गरिसक्नुपर्नेछ । यस निर्माणले बिपी राजमार्गमा सवारी आवागमन सहज हुने, ट्राफिक जाम घट्ने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ ।
भकुण्डेबेंसीदेखि चारसयबेंसीसम्मको ११ किलोमिटर सडक खण्डको निर्माण ठेक्का लामा–नव कान्तिपुर जेभीले लिएको छ । विभागसँग भएको सम्झौताअनुसार यो खण्ड निर्माणका लागि भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँको ठेक्का मूल्य निर्धारण गरिएको छ ।
चारसयबेंसीदेखि डालाबेंसीसम्मको ९ किलोमिटर दूरीको सडक खानी–कमलजित–एवान जेभीले निर्माण गर्ने भएको छ । यसका लागि विभागले भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा सम्झौता गरिसकेको छ । यी दुवै खण्ड दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने गरी ठेक्का सम्झौता भएको हो ।
बिपी राजमार्गमा पर्ने पिप्लेदेखि बर्खेखोलासम्मको खण्डको निर्माण जाइकाले गर्ने भएको छ। प्रारम्भिक योजना अनुसार ५ किलोमिटर खण्ड बनाउन चाहेको भए पनि पछि जाइकाले जम्मा ३.२ किलोमिटर मात्रै बनाउने जानकारी दिएको हो । उक्त खण्डमा अहिले जाइकामार्फत अन्तिम सर्भेको काम भइरहेको छ । जापानी सरकारको अनुदानमा निर्माण हुने भएकाले यसको ठेक्का प्रक्रिया पनि जापान सरकारकै संयोजनमा हुनेछ ।
जाइकाको खण्डमा नै पर्ने पिप्लेदेखि डालाबेंसीसम्मको २.३ किलोमिटर सडकखण्डको ठेक्का भने विभागले छुट्टै निर्माण कम्पनीमार्फत गराउने तयारी गरेको छ । हालसम्म उक्त खण्डको ठेक्का भइसकेको र केही हप्तामै सम्झौता प्रक्रिया औपचारिक रूपमा सम्पन्न हुने विभागले जनाएको छ ।
यता सिन्धुली जिल्लाको बर्खेखोलादेखि नेपालथोकसम्मको ५ किलोमिटर खण्डको सडक निर्माण कार्य खरीढुंगा–घिसिङ–क्षितिज जेभीले पाएको छ ।
यसका लागि भ्याटबाहेक ५५ करोड रुपैयाँमा असार दोस्रो सातामा ठेक्का सम्झौता भइसकेको छ ।
यी सबै खण्ड राष्ट्रिय मापदण्डअनुसार दुई लेनको सडक हुनेछन् । यो राजमार्ग काठमाडौंलाई तराई र पूर्वी नेपालसँग जोड्ने वैकल्पिक मार्ग भएकाले यसको स्तरोन्नति यातायात, व्यापार र पर्यटन विकासका लागि महत्वपूर्ण मानिएको छ ।
धेरै घुम्ती, साँघुरा खण्ड र बिग्रिएको सतहका कारण यात्रु र सवारी चालकलाई सास्ती खेप्नुपर्ने अवस्थालाई अब नयाँ निर्माणले सुधार गर्ने अपेक्षा गरिएको छ ।
विभागका अनुसार भौगोलिक बनावट, माटोको गुणस्तर र वर्षाको प्रवृत्तिलाई ध्यानमा राखी सडक निर्माणको प्रविधि र गुणस्तरमा कुनै सम्झौता हुने छैन ।
बिपी राजमार्गमा विभिन्न ठाउँमा दुर्घटना बढिरहेका बेला सडक स्तरोन्नतिको यो योजना प्रभावकारी सावित हुने विश्वास विभागले व्यक्त गरेको छ । आवश्यक कागजात, नक्सा, फाइनल सर्भे, डिजाइन र वातावरणीय मूल्याङ्कनका प्रक्रिया पूरा भइसकेका ती सडक खण्डमा अब निर्माण कार्य सुरु हुने चरणमा पुगेक छन् ।