आज :

कीर्तिपुर , भाजंगाल ,चोभार आदिनाथदेखि टौदहसम्म

  • बुद्धशरण शाही

पदम श्रेष्ठ –

 


सात गाउले (न्हेगाँ )जात्रा
प्राचीनकालमा,एक ऋषिले यज्ञ गर्दा परेवा उडेर बल्खु पीठको रुखमा बस्न पुगेछन् । अचानक एक व्याधाले गुलेली हान्दा परेवा ज्यान बचाउने प्रयास गर्दागर्दै यज्ञकुण्डमा ईहलीला जलेर समाप्त भएछ । निर्दोष परेवाको प्राण होमिएपछि यज्ञ गरिरहेका ऋषिले बखँु (परेवा) मन्त (म¥यो) भन्दै मंसीर शुक्ल दशमीका दिन पश्चाताप सहित पुजा र जात्रा गर्ने परम्परा बसाए्को बताईन्छ । नेपाल भाषामा बखुमन्तनै बखुँमदः भएको भनाइछ । न्हेगाँ अर्थात् सात गाउँले जात्रा काठमाडौं दक्षिण–पश्चिममा सतुङ्गल,मच्छेगाउँ,बोसिगाँ ,नःगाः,पाँगा,कीर्तिपुर छुट्टै राज्यमा जात्रा मनाइन्छ । जुन जात्रा मनाईदैछ । किर्तिपुर घुम्न जाँदा एक दिनमा भाजंगाल ,चोभार आदिनाथदेखि टौदहसम्म भ्रमण गर्न सकिन्छ ।


किर्तिपुर :
नेपालमण्डल (काठमाडौं)को दक्षिण पश्चिम डाँडामाथि थुम्कोको बस्ती हो । मातातीर्थ खः वहालका सापु र ज्यापूले सुयोग्य ठाउँको खोजी गर्दै जाँदा सागाःबाट विस्तार भएको गोपालवंशावलीमा छ । कथानुसार,एउटा गाईले रातमा गोठबाट फुत्किएर देवपत्तन पशुपतिनाथको ज्योति पुरिएको ठाउँमा दूध झारी फर्किन्थिन् रे । आश्चर्यचकित भई खनेरहेर्दा ग्वालाका सरदार जलेर भष्म भएछन् । उनै ग्वालाका वंशज भुक्तमान (भुगतमान)लाई नेमुनि (नेवार) ऋषिले नेपालको राजा बनाए भन्ने कथन छ । गोपालवंशी राजा भुक्तमानपछि जय गुप्त,परमगुप्त,भीम(हर्ष)गुप्त,भीम गुप्त द्वितीय,मणि गुप्त,विष्णु गुप्त र जय यक्ष गुप्त आठ पुस्ताले मातातीर्थबाट राज्यको उल्लेख छ । हालपनि गोपाली बस्ती कीर्तिपुरको मच्छेगाउँ,मातातीर्थ,थानकोटहुँदै चित्लाङ पालुङसम्म पाइन्छ ।
राजा शिवदेव तृतीय र कीर्तिपुर ः
ने.सं.२४३मा राजा शिवदेव तृतीयले कीर्तिपुरका शक्ति बाघभैरवलाई केन्द्र मानी पश्चिम शैव देवीदेवता रहनेगरी शिवरत र पूर्व बौद्ध देवीदेवता रहनेगरी देवरत बसाइए । शिवरत ने.सं.७६३मा उमामहेश्वर बन्नुअघि दरबार रक्षार्थ किल्ला राजाकै नाउँबाट र बाघभैरवबाट पूर्व देवरत भनिए । जेहोस् शिवरततिर चाफल,सागाः कुरूवा,धांवहाल,समल,सायमीटोल,द्योढोका, डोपाछें,तौल्हीं, क्वाचो,दवू,सवाः लाय्कू,सतःको क्षेत्रमा शिवसम्बन्धी देवताको बाहुल्य अझै पाउन सकिन्छ । नक्सामा १४वटा ढोका छन् । ती ढोकामा द्यो ढोका,गंःछें ,बाघभैरव,चिथु,भरियापुखु,मूपुखु ,वहिरिगां,न्यातप,पालिफः,
साःगाः,कुरूझ्वाः,समल,सी ढोका र खांसी छन् ।

क्वाथ उमामहेश्वर र लाय्कू

दरवारको डाँडामाथि तीनतल्ले पेगोडाशैलीयुक्त उमामहेश्वर छ । कीर्तिपुरको अग्लो मन्दिर ने.सं.७७४मा निर्मित मानिन्छ । देश रक्षार्थ स्थापित किल्ला,क्वाथमा मन्दिर भिंmगटीछाने काठ र माटो बाट बनी ठडिएको छ । उपत्यकाको दृश्यावलोकन र शीतल हावा खान पुग्नसकिने देवस्थल म तीन खण्डको भुवनमाथि माहुते चढेको र त्यसमाथि दोस्रो खुड्किलोमा ढुंगाकै भैरव–भैरवी मूर्ति उभ्याउनुले भक्तपुरे कला सिर्जनाको स्मरण गराउँछ । मन्दिरभित्र उमामहेश्वर र पछाडि भगवतीको मूर्ति स्थापितहुनुले यो मन्दिर शाक्त र शैवको संयुक्त तीर्थस्थल हो । यही किल्ला छेउ राजा शिवदेव तृतीयको राज्यकालमा रहेको लाय्कू दरबारका भग्नावशेष छन् भने यही दरबारमानै कीर्तिपुरको अन्तिम मल्ल राजा ज्ञानप्रजा मल्ल र कीर्तिलक्ष्मी रानीले गोरखाका राजा पृथ्वीनारायण शाहविरूद्ध तीनपल्टसम्म जित्ने रणनीतिस्थल हो ।

नेवार सांस्कृतिक केन्द्र नेपाल भाषा एकेडेमी ः
नेवार एउटै जाति, नश्ल, धर्ममा आधारित जात होइन । तर नेवार भाषा र संस्कृतिले एक छ । त्यसैले त नेपालभाषाका महाकवि सिद्धिदास महाजु लेख्छन्– भाषा भ्वासा जाति म्वाई अर्थात् भाषा बांचे जाति बाँच्छ । यही भावना सात्दै जनकवि दुर्गालाल लेख्नुहुन्छ–
झिगु भाषा मन्त धासा ,गय थ्व नेपाः झिगु जुई,
थगुदेय् परदेश याका, म्वायगु न सिइगु जुई,
आफ्नो भाषा नरहे नेपाल कसरी हाम्रो रहन्छ ? मातृभाषा विहीन भई बाँच्नुपनि मृत्यु समान हो । यस्तै मार्मिकतालाई आत्मसाथगर्दै कीर्तिपुरमा नेपालभाषा एकेडेमी खडा भयो । ने.सं.१११२ मा सर्वोच्च नेता गणेशमान सिंहबाट उद्घाटित एकेडेमी ने.सं.१११९मा सीडीओमा दर्ता भयो । भाषारत्न सत्यमोहन जोशी, मल्लके सुन्दरजस्ताको सक्रियतामा खडा भएको, एकेडेमी । मेयर हीराकाजी महर्जनको कार्यकालमा ३० रोपनी जग्गा उपलब्धपछि उद्योगपति गोपाल राजभण्डारीलगायतको लागानीमा दुईसय ५०जना अटाउने हल छ याहाँ । भवन विस्तारमा अमेरिकी नेवाः
अर्गनाइजेसनका त्रिभुवन तुलाधरबाट प्रतिव्यक्ति एक डलर उठाएका थिए ।

 


नरगो र बाघभैरव ः
कीर्तिपुरको इतिहास नरगो र बाघभैरवको आख्यानले छर्लङ पार्छ । स्थानीय बासिन्दा भन्छन्– कीर्तिपुरको प्राचीन बस्ती नरगो हो । जहाँ अहिलेपनि पुराना घरका पर्खालको जग पाउन सकिन्छ । आख्यानुसार कीर्तिपुर नरगोवासी झवाः मचाः(गोठाला) भेडा चराउन जङगल जाँदा माटोको बाघको मूर्ति बनाएर खेल्नेगर्दथे । बाघको बनाउदा बनाउँदै जिब्रो राख्न पात खोजेर फर्कंदा माटोको बाघले साक्षात रूप लिई भेडा सबै खाइदिएछन् । आश्चर्यचकित उनीहरू चिच्याएको सुनी नरगोवासी घटनास्थल पुग्दा जंगलको चारैतिर बाघ गर्जेको आवाज सुनेछन् । भनिन्छ, त्यसैबेलादेखि नरगोवासी हाल टंगालको हांडीगाउँमा बसार्इं सरेका हुन् । त्यसैले टंगालस्थित हांडीगाउँलाई नेपालभाषामा नरदे भनिएको हो । बाघबाट पीडित नःगां र पांगाःवासी मिली तान्त्रिकलाई देखाउँदा माटोको बाघमा भैरव प्रवेश गरेकाले शान्त गर्न पूजा गर्नुपर्ने सुझाव दिएछन् । सोही दिनको स्मरणमा भाद्र सिंह संक्रान्तिको दिन बाघभैरवलाई रांगा,
भेडा,बोका बली दिई खुसी पार्ने र खटजात्रा गर्दैआइरहेको छ । तीनतल्ले आयातकार पेगोडाशैलीको बाघभैरव मन्दिर पाटन पिम बहालका महापात्र जगतपाल वर्माले ने.सं.३३५मा निर्माण गराएका हुन् । गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरे राजा र रानी कीर्तिलक्ष्मीको हत्याअघि ने.सं.८८४मा भएको युद्धमा कीर्तिपुरेले बाघभैरवको शक्तिले तीनपल्ट हराएको बताइन्छ । सो युद्धमा राजा पृथ्वीका भाई सुरप्रताप शाहको देव्रे आँखा फोडिनुका साथै गोर्खा सैनिक कमान्डर कालु पाण्डेको हत्या गरी ढाल,तरबार,कवच र फलामको भोटो बाघभैरवलाई चढाएका थिए । कालु पाण्डेको फलामको भोटो हातहतियार छाउनीस्थित राष्ट्रिय संग्रहालयमा छ ।

देपुखु र नारायण देगलः
बाघभैरवनेर ने.सं.७९६मा निर्मित नारायण मन्दिर पोखरीछेउ छ । गुम्बज मन्दिरको देपुखुमा गाईजात्रामा रांगाको खुट्टा पक्रने प्रतियोगिता हुन्छ । जसले रांगाको खुट्टा बाहिर उही वर्षकै भाग्यमानी मानिन्छ ।
कीर्तिपुरेको वीरता र पृथ्वीनारायण शाहको कुकृत्य
कीर्तिपुरे युद्धमा तीनपल्ट हारेका गोर्खाली राजा पृथ्वीनारायण शाहलाई युद्धकै मोर्चामा एक सिपाहीले काट्न लाग्दा अर्का खडगी सेनाले रोक्दै युद्धको नियमविपरीत राजालाई सिपाहीले काट्न हुँदैन भने, तत्कालै अर्का पुतुवार डोलेले अनेकौं जुक्ति लगाउँदै युद्धस्थलबाट बचाएर पृथ्वीनारायण शाहलाई थानकोटको यङ्की दहसम्म पु¥याइदिए, तर ने.संं ८८४को युद्धमा कीर्तिपुरे राजा र रानीको हत्यापश्चात् निहत्था जनताको नाक काट्ने र थानकोटस्थित त्रिभुवनपार्कमा गाढे । भनिन्छ, जुन ठाउँलाई नेपालभाषामा न्ह्याय्दों भनिए । आजपनि कीर्तिपुरेले न्ह्याय्दों पुग्दा थुक्छन् । रानी कीर्तिलक्ष्मीले आत्मसमर्पण नगरी वीरगति प्राप्त गरेकाले पदम काष्टगिरीलाई कीर्तिपुर भनिएको भनाई छ  ।
भांजांगाल पांगा नः गाउँ ः
कीर्तिपुर आक्रमणबाट बच्न ने.सं.६२१मा राजा रत्न मल्लद्वारा बसाइएको किल्ला पांगाःको प्रमुख देवी हुन् वैष्णवी पीठ । चोभार पूर्व दुईतल्ले वैष्णवी मन्दिरको तोरणमा ने.सं.७९५उल्लेख छ ।। यहाँ ९ कप्ठेरा दाउराबाट पूरै लास खरानी हुनेहुँदा भाजंगाल भनिए । भगवान मान्नेले भाजंगाललाई ईश्वरको चमत्कार ठान्छन् भने वैज्ञानिकहरु भूमिगत प्रज्वलनशील रसायन भएको विश्वास गर्दछन् । भाजंगालमा अघिल्लो विधिपूर्वक नौ कप्टेरामाथि लास राखी जान्छन् भने भोलिपल्ट काजकिरिया गर्न खरानी लिन पुग्ने अनौठो परम्परा छ । कीर्तिपुरको अर्को उपगाउँ नः गाउँ अर्थात् फलाम खानी गाउँ हो । भूवनचैत्य,बज्र धातु चैत्य,जोरगणेश
आदि रहेको नःगाउँको मुख्य बालकुमारी पीठ हो । मंसीर अष्टमीका दिन पांगा वैष्णवी पीठसंगै नः गाउँमा बालकुमारीको पनि जात्रा हुनेगर्दछ ।


चोभा द्यो — जोइपोइ मिलाउने आदिनाथ

काठमाडौंबाट पाँच कि.मी.दक्षिण कीर्तिपुरकैअर्को डाँडा चोयबहाः नै चोभार हो । लिच्छवीकालीन तीनतल्ले पेगोडाशैली आदिनाथको मन्दिर छ । आनन्दादी लोकेश्वर भनिने धातु तथा भिंmगटीले छाएको मन्दिर सातौं शताब्दीमा महासामन्त अंशुवर्माद्धारा निर्मित मानिन्छ । बुंगमतीको आर्यावलोकितेश्वरलाई वर्षा र सहकालका देवता,नालाको सृष्टिकान्ता लोकेश्वरलाई सृष्टिको प्रतीक,जनवहाल असनको जनवाद्यो आर्यावलोकितेश्वरलाई संसारका जनको पालनहार भनिए झैं चोभारको आदिनाथलाई रोगमुक्ति र आपसी मतभेद,लोग्ने–स्वास्नी सम्बन्धविच्छेद
सम्मको स्थिति मिलाइदिने देवताकारूपमा लिइन्छ । आख्यानअनुसार एक समय हैजा रोग लागी धेरै लुभुवासी भटाभट मर्न थालेछ । जति पूजा गरेपनि निको नभएपछि गाउँलेले रिसमा मूर्तिलाई नख्खुमा बगाइदिएछन् । यसरी बगाइएको मूर्तिलाई चैत्रअष्टमीका दिन कीर्तिपुरेले वाग्मतीको किनारमा देखेछन् र श्रद्धा भक्तिपूर्वक बाजागाजाकासाथ आदिनाथलाई डाँडामा विराजमान गराए । यसैदिनको स्मरणमा वागमतीको सुलक्षण महाविहारबाट न्हवं महास्नान गराईने चलन छ । चोकबीच शिखरशैलीको वैत्राचार्य चैत्य छ । चैत्यलाई शैवले गन्धर्वेश्वर भनी भाँडाकुंडा, ऐना चढाउँछन।


चिलंचो,गरिमामय बौद्धस्थल अखडा ः

गोपालकालिन सापू(गाइ पाल्ने, ग्वाला ) ,मेपू ( भैसी पाल्ने ,महिषपाल ) र ज्यापू ( कृषि कर्म गर्ने ) सस्कृतिले सम्पन्न बस्ती कीर्तिपुरमा राजा शिवदेव त्रितियको पालादेखि नया संरचना बनाउन थालियेको हो। ने .स. २१९-२४३ ताका राजा शिवदेव त्रितियले ब्यबस्थित गराएको शिवरत दरवार क्षेत्र (लाय्कु) , बागभैरव र्देवरक्षेत्र मध्ये भगवान बुद्धका चैत्य ,बुद्ध बिहारले चैत्य युक्त क्षेत्र चिलंचो बैद्ध स्थल रहेको छ। हाल यो बिहार क्षेत्र किर्तिपुर भित्रका सम्रक्षित सम्पदाहरु मध्यमा पर्दछ।

दथुलागा ( मध्ये टोल ) बाघभैरव मन्दिर बाट पूर्वतर्फ देवरत क्षेत्रको प्रमुख बौद्ध चैत्य चिलंचो किर्तिपुरको प्रमुख बौद्ध तिर्थ स्थल मानिन्छ। देवरत बस्तीको थुम्को माथि अवस्थित चिलंचो चैत्य नजिकै एउटा जिर्ण कला बिहिन द्य:छे ( देवता घर ) शैलीको बौद्ध विहार छ जसलाई जगतपाल महाविहार पनि भन्ने गरिछ।

अनेकौ बुद्ध मध्ये अक्ष्यभ्य बुद्ध प्रति समर्पित चिलंचोलाइ अशोककालिन सम्पदा मानिन्छ , तर चौत्य ने. स. ६३४ मा पाटन पिम्बहलका महापात्र जगतपाल बर्माले निर्माण गराएको सोहि चैत्य अगाडी रहेको शिलालेखमा उल्लेख छ। सानो बौद्ध चैत्य जस्तो देखिने चिलंचो चैत्यलाइ चारैतिर प्राचिन घरहरुले घेरिएर रहेको छ। भने जगतपाल विहार ढुंगा , इट्टा छापेको विशाल परिषर बीच आकर्षक शैलीमा थदियर रहेको छ।

 

चिलंचो क्षेत्रका बुद्ध विहार र मठ–मन्दिर ः
सिंहदुवास्थित धर्मधातु चैत्य ने.संं ७६१मा हाकू जः शाक्यद्धारा निर्मित मानिन्छ । क्वयः बहाः (करूणाकार ) सिंह दुवाको चैत्यसंगै ने.सं.७५३ मा निर्मित च्वयबहाः हर्षकीर्ति र क्वयबहाः करूणाकार विहार छन् । सिंह दुवाटोलमा नै ने.सं.८०३ मा निर्मित ढुंगे लोकेश्वर र ने.सं.७८३ मा ‘बुद्धधर्म लोहं देग मन्दिर राम भारोद्धारा निर्मित मानिन्छ ।
नगरमण्डप थाई श्रीकीर्ति महाविहार ः
ने.सं.१११० कालीन नेपालका संघनायक भिक्षु प्रज्ञानन्द महास्थवीरको अथक प्रयास र इतिहासविद् तथा पुरातत्वविद् भिक्षु सुदर्शन महास्थवीरको सक्रियतामा स्थापित नगरमण्डप श्रीकीर्ति महाविहारलाई थाईकीर्ति विहार भनिन्छ । कीर्तिपुरको चक्रपथ नयाँ बजारमा निर्मित यस विहार थाई सरकारको सहयोगमा बनेको हो । थाइल्याण्डका भिक्षु संघराज सोमदेय फ्राञाणसम्बरबाट ने.स.१११९मा उद्घाटित विहार नेपाल र थाइल्याण्डबीचको सम्बन्धको प्रतिक बनेको छ । ढुंगा छापेको चोकबीच भिक्षु प्रज्ञानन्द महास्थवीरको पूर्णकदको प्रतिमा र ने.सं.११११ को सिपुन्हीको दिन सम्वेजनीय थाई कलाशैलीमा स्थापित महाचैत्य र विहारले थाइल्याण्डको अनुभूति दिन्छ । प्रधानपञ्च धनलाल महर्जनद्धारा उपलब्ध चार रोपनी ‘ मन्द फल्चामा बनेको हो ।


टौदह, किम्बदन्तीको संगम ः
५ सय मिटर लम्बाई र ४ सय मि.चौडाइ र सुख्खायाममा ६मिटर गहिराइको टौदहले बुँगद्यो (रातो मच्छिन्द्रनाथ)को भोटो देखाउने जात्राको किम्बदन्ती छ । काठमाठौंबाट ७ कि.मी.दक्षिणकाली बाटोमा पर्ने टौदह –( तवगु दह) प्राकृतिक ताल हो । चोभार छेदनगरी दहको पानी बाहिर पठाउँदा कर्कोटक नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना भएपछि मञ्जुश्रीको आह्वानमा नागराजलाई टौदहमा विराजमान गराएछ । उनै नागराजकी रानीको आँखा दुख्दा ललितपुरबासी ज्यापुले आँखा दुख्ने रोग निको बनाइदिएछन् र त्यसबाट खुसी भएका नागराजले नवरत्न जडित भोटो उपहार दिएछन् । ज्यापुले भोटो फुकालेर खेतमा कामगर्दा ख्याकले चोरी भागेछ । एकदिन भोटो लगाई आइरहेका ख्याक र ज्यापुबीच घमासान युद्ध हुँदा बुंगद्यो रातो मच्छिन्द्रनाथले दुवैलाई भनेछन्– जबसम्म प्रमाण ल्याउँदैनौ तबसम्म रत्नजडित यो भोटो मसँगै रहनेछ । ख्याकको त भोटो नै थिएन ऊ जाने कुरै भएन । ज्यापूलेपनि टौदह जानेबाटोनै थाहा पाएनछन् । त्यसै बेलादेखि प्रत्येक वर्ष जावलाखेलको च्वासकाननीमा भोटो सुरक्षित छ है भनी देखाउने गरिन्छ । नागपञ्चमीमा मेला लाग्ने टौदहमा ३८जातका बोटबिरूवा,३६जातका कीरा र ११६ पंक्षीे छन् ।


कोयना गणेश (जल विनायक) मञ्जुश्री पार्क ः
चन्द्र, सूर्य र कार्य विनायकमध्ये एक हुन् जल विनायक कोयनाद्योपनि । चोभार गल्छी ( ह«्सिकाप )को तीनतल्ले पेगोडाशैली मन्दिरमा गणेश भने सादा ढुंगा पुजिन्छ । कथनअनुसार, उपत्यका पानीले भरिएको बेला स्वयम्भूज्योति दर्शनार्थ महाचीनबाट आएका मञ्जुश्रीले चोभार गल्छी काटेर बाहिर पठाएका थिए । त्यसैले चोभार गुफालाई मञ्जुश्री गुफा नाउँ सहित पार्क बनाएको छ । ने.सं.७२२ मा निर्मित गणेश परिसर सुःखावती लोकेश्वर, वरूण, सूर्य, शिव आदिले सिंगारिएको छ भने धातु छानायुक्त तीनतल्ले पेगोडाशैलीको कोयना गणेश प्रवेशद्वारमा दुई सिंह र गणेशको बाहन छुचुन्द्रो र टुंडालमा अष्टमातृका अष्टभैरव कुंदिएका छन् । कोयना गणेशलाई रांगा, हाँस, कुखुरा बलि दिईन्छ । यहि ७० फिट अग्लो ढुङगे मञ्जुश्री पार्क छ ।

 

फोटो:   बुद्ध शरण शाही 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal