
अछाम । नेपाल कम्युनिस्ट पार्टीले रामारोशनका बाढी पीडित परिवारलाई राहत सामाग्री हस्तान्त्रण गरेको छ । विप्लव नेतृत्वको नेकपाले यही भदौ २ गते राति आएको बाढीबाट ज्यान गुमाएका मृतक परिवारलाई नगरसहित कोरोना सामाग्री हस्तान्त्रण गरेको छ ।
नेकपा अछामले मंगलबार सैनीबजार, सनानीगाउँ र भोटाकाँटियाका मृतकका परिवारलाई ५१ हजार नगदसहित कोरोना प्रतिरोध स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको बताएको छ । नगदसँगै मास्क, सिनिटाइजर, साबुन पनि उपलब्ध गराएको छ । बाढी पछि र मृतकको अन्त्येष्टीको लागि गरिने कार्यमा कोरोना संक्रमणको जोखिम रहेकोले स्वास्थ्य सामाग्री उपलब्ध गराएको नेकपाले जनाएको छ । रामारोशन गाउँपालिका कोरोना संक्रमणबाट बढी प्रभावित क्षेत्र पनि हो ।
राहत र स्वास्थ्य सामाग्री बोकेर नेकपाका नेता कार्यकार्ता पीडितको गाउँमा पुगेका थिए । नेकपाको जिल्ला जनपरिषदका प्रमुख सौगातले राहत र स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका थिए । उनले सो अबसरमा आफ्नो पार्टी जनताको साथमा रहेको बताउँदै सरकारी प्रतिबन्धका बीच आफूहरुले सहयोग गरेको बताए ।
त्यसैगरी कार्यक्रममा नेकपा अछामका सचिव लक्ष्मण, युवा संगठनका सुमनसहितका नेताहरुको सहभागीता थियो । कार्यक्रममा नेकपाका नेताहरुले ज्यान गुमाउनेहरुप्रति पार्टीको श्रद्धाञ्जली र परिवारमा समवेदन व्यक्त गरेका थिए । त्यस्तै घाइतेको उपचार र विस्थापितलाई सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह समेत गरेका थिए ।