
धनगढी । बझाङ प्रदेशसभा १ को उपचुनावको प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । आज राति १२ बजेबाट प्रचारप्रसार गर्न निर्वाचन आयोगले निषेध गरेको छ ।
उक्त क्षेत्रमा नेकपा (माओवादी केन्द्र)ले दश बर्षपछि पहिलो पटक आफ्नो उम्मेदवार उठाएको छ । गठबन्धनका कारण लामो समयसम्म आफ्नो चुनाव चिन्हमा भोट माग्न नपाएका र मतदान गर्न नपाएका मतदाता खुशी भएका छन् ।
माओवादीले प्रदेश कमिटी सचिव जनकबहादुर बुढा ‘सुदिप’ लाई उम्मेदवार बनाएसँगै यो क्षेत्रका नेता कार्यकर्तादेखि मतदाताले खुशी व्यक्त गरेका थिए । लामो सयमसम्म आफ्नो उम्मेदवार नभएको क्षेत्रमा उम्मेदवारी दिएसँगै माओवादीले दुई चरणमा कार्यक्रम बनाएर घरदैलोमा पुग्यो ।
पहिलो चरणमा पार्टी कमिटीका बैठक तथा छलफल, दोस्रोमा उम्मेदवारसहित घरदैलो र तेस्रो चुनावी कमाण्डरसहित जनभेटघाट । माओवादीले पहिलो र दोस्रो चरणका कार्यक्रम सकेर अहिले पालिकाका चुनावी कमाण्डरसहित जनभेटघाटमा माओवादी नेता कार्यकर्ताहरु व्यस्त छन् ।
केन्द्रको तर्फबाट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेतृत्व गरेका छन् । पुनले सातवटै पालिकाका चुनावी कमाण्डरसँगै आफूहरु टोली बनाएर जनभेटघाटमा रहेको जानकारी दिए ।
भेटको क्रममा मतदाताले माओवादी फेरि घरआगनमा आएकोमा खुशी व्यक्त गरेका छन् । घरदैलोमा पुग्दा उम्मेदवारसहित माओवादी नेताहरुलाई मतदाताले भव्य स्वागत गर्ने गरेका छन् । एक आमाले उम्मेदवार सुदिपलाई स्वागत गर्दै “सम्झना माओवादीकै आउँदो टाढा भएपन…” भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
त्यसैगरी बुढापाकादेखि युवा पंक्तिले समेत सुदिपलाई जिताए क्षेत्रको थप विकास हुन भन्दै प्रचारमा जुटेका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेका भन्दा माओवादी उम्मेदवार सुदिप जिल्लामा परिपक्क र अनुभवी नेताका रुपमा परिचित छन् । जनयुद्ध हुँदै संविधान लेखनमा समेत महत्वपूर्ण भूमिका निभएका सुदिप आफूलाई जनताको सेवाबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको सुदिप बताउँछन् ।
तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयमा रहँदासमेत जिल्लाको विकासको लागि महत्वपूर्ण योजना अगाडि बढाएको बताउँदै सुदिपले जनताको जीवनसँग जोडिएका २२ वटा योजना अगाडि सारेका छन् ।
यी हुन् माओवादी उम्मेदवार सुदिपले अगाडि सारेका २२ योजनाः
१) खुटिया, दिपायल, चैनपुर, उरै सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्नेछु ।
२) चैनपुर, मेल्लेख, भामचौर, बिजगडा सडकलाई आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्नेछु ।
३) चैनपुर–सुर्मा सडकको स्तरोन्नती गर्नेछु ।
४) सेती लोकमार्गको छान्ना खण्डको काममा तीब्रता दिन पहल गर्नेछु ।
५) प्रत्येक पालिकामा कालोपत्रे सडक संजाल पुर्याउन पहल गर्नेछु ।
६) खप्तड, सुर्मा, साइपाललाई आकर्षक पर्यटक गन्तव्यस्थलको रुपमा बिकास गर्न पहल गर्नेछु ।
७) बान्नीमष्टा, ढडारमष्टा, सुर्मा र दुर्गा आदि देवस्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न पहल गर्नेछु ।
८) बिद्युत नपुगेका बस्तिहरुमा बिद्युतिकरण गर्नेछु ।
९) युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने कार्यक्रम लागू गर्नेछु ।
१०) उच्च हिमाली भेगमा रहेका र पहाडी भेगमा रहेका जडिबुटीको संरक्षण, बिकास, प्रशोधन र प्रवर्द्धन गर्ने कार्यक्रम लागू गर्न पहल गर्नेछु ।
११) बझाङ जिल्लामा सञ्चालित र सम्भावित बिद्युत आयोजनाहरुलाई चाँडो सञ्चालन र व्यवस्थापन गर्न पहल गर्नेछु ।
१२) भूकम्प र बाढी पीडितहरुका समस्या तत्काल समाधान गर्न पहल गर्नेछु ।
१३) सेती नदी, बाहुलीगाड, जडारीगाड कालंगालगायतमा तटबन्धको लागि पहल गर्नेछु ।
१४) नेट, इन्टरनेट र दूरसचार टावर व्यवस्थापनको लागि पहल गर्नेछु र जिल्लालाई प्रविधि मैत्री बनाउनेछु ।
१५) हरेक गाउँमा स्वच्छ खानेपानी, बाटोघाटो र सिँचाइको सुविधा पुर्याउन पहल गर्नेछु ।
१६) शिक्षा र स्वास्थ्यलाई निःशुल्क र शुलभ बनाई गुणात्मक सुधार गर्न पहल गर्नेछु ।
१७) जडिबुटीको प्रचुर सम्भावना भएको जिल्ला भएकोले बझाङमा जडिबुटी प्रशोधन तथा सकल उद्योग खोल्न पहल गर्नेछु ।
१८) चाइनासँग जोडिएको उरै नाका तत्काल सञ्चालनको लागि पहल गर्नेछु ।
१९) जडारथाम सडक, दाँतोला बाजुरा सडक, पिमी कैलाश बाजुरा सडक, मष्टा बाजुरा सडक, सिम्खेत जयपृथवी, बान्नीचौर, बिसौना, चुवावन, खोल्लेक सडक बिस्तार तथा स्तरउन्नती गर्न पहल गर्नेछु ।
२०) जिल्लामा भएका पुराना र ऐतिहासिक स्थल, संस्कृति, गढी धरोहर र कृतिहरुको संरक्षण र बिकास गर्नेछु ।
२१) साइपाल गाउँ पालिकामा बैंकिङ सुबिधा, खाद्यान्न व्यवस्थापन र सडक बिस्तार गर्न पहल गर्नेछु ।
२२) रुपातोला तलकोट जोड्ने मोटरेवल पुल निर्माण गर्न तत्काल पहल गर्नेछु ।