
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने भएका छन् । नयाँ समिकरणसँगै नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
फागुन २१ गते बनेको नयाँ समिकरणमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादीले समर्थन गरेका छन् । नयाँ समिकरणमा हस्ताक्षर गर्ने पाँच राजनीतिक पार्टीबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी १५१ सांसद प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने भएका छन् ।
त्यस्तै, ह्वपी जारी गरिसकेका कारण नागरिक उन्मुक्ति पार्टीका चार सांसदले पनि प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने बताइएको छ । यदि नाउपाले पनि मतदान गर्याे भने प्रधानमन्त्रीको पक्षमा १५५ सांसदले मतदान गर्ने भएका छन् ।
स्वतन्त्र सांसद प्रभु शाहले पनि प्रधानमन्त्रीकै पक्षमा मतदान गर्ने बताइएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका ८७, राप्रपा १४, जनमतपा ६, लोसपा ४, नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक-एक सांसद छन् भने विपक्षमा मतदान गर्ने बताइएको छ । यसअघि प्रधानमन्त्रीको पक्षमा मतदान गरेका अमरेशकुमार शाहले भने विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते तेस्रो कार्यकालकाे लागि प्रधानमन्त्री नियुक्त भएका थिए ।