
काठमाडौं । नेकपा (एमाले)का नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आज अभियान घोषणा गर्दैछ । शुक्रबार बसेको सो समूहको स्थायी समिति बैठकले ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ चलाउने निर्णय गरेको थियो ।
पार्टी पुनर्गठन अभियान नाम दिने भनिएपनि नेताहरुको सुझावअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ देशभर चलाउने निर्णय गरेको हो । अभियानको नेतृत्व केन्द्रीय नेताहरुले गर्ने बताइएको छ । त्यसको विस्तृत जानकारी पनि आजै दिने एक नेताले बताए ।
बैठकले नेपाल समूह राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’ लाई कार्यकर्ता माझ लैजाने निर्णय समेत गरेको थियो । सो समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो । भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने नेता योगेश भट्टराईले बताए ।
नेपाल समूहले ४५ जिल्लामा आफ्नो नेतृत्वसहित बहुमत रहेको दाबी गर्दै आएको छ । नेतृत्व भएका जिल्लाहरुमा त्यसैलाई निरन्तरता दिने र अध्यक्ष केपी शर्मा ओली समूहको नेतृत्व रहेका जिल्ला तथा कमिटीमा समानान्तर कमिटी बनाउने निर्णय समेत गरेको छ ।
राष्ट्रिय भेला, समानान्तर गतिविधि गरेर पार्टी अनुशासन उलंघन गरेको भन्दै अध्यक्ष ओलीले नेताहरु माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिसकेका छन् । उनीहरुलाई स्पष्टीकरण सोधिएको थियो । चारैजनाको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले कारवाही गरेका थिए ।