
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा आज नेपाली कांग्रेसले पालिकाहरुमा विरोध प्रदर्शन गर्दैछ । संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको काँग्रेसले आज देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।
काँग्रेसको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद् विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ।
यसैबीच काँग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनमा सहभागी हुन नेता-कार्यकर्ता तथा समर्थक-शुभचिन्तकहरुलाई अपिल गरेका छन् ।