
काठमान्डौं । कैलालीमा मङ्गलबार राति देखि लगातार परेको वर्षाले अधिकांश ठाउहरु डुबानमा परेका छन् । वर्षाले यतिखेर टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ । त्यस्तै जानकी गाउँपालिकाका वडा नम्बर ३, ७, ८, ९ का सयौँ घर डुबानमा परेका छन् ।
भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको खबर प्राप्त भएको छ । त्यस्तै जोशीपुर गाउँपालिकाका कान्द्रा र काँडा नदी सतहभन्दा माथि पुगेपछि जोशीपुर–१, ३, ५, ७ का अधिकांश बस्ती डुबानमा परेका छन् । त्यसै गरी पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिज वृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । घरमा पसेको पानी खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका छ ।
जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि यसरी बस्तीमा पानि बग्न थालेको हो । सिँचाइ कुलो भरिएर बस्तीमा पसेपछि अधिकांश क्षेत्र जलमग्न भएका छन् । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको हो । निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा पनि बढेको छ ।
यति खेर जानकी गाउँपालिकाका केही नागरिकलाई बस्तीबाट सार्ने तयारी गरिएको छ । ’जहाँ–जहाँ जोखिम छ, त्यहाँ समूहमा प्रहरी परिचालन गरेको छ । जोखिममा परेकालाई स्थानीयस्तरमा रहेका उच्च घर, सामुदायिक वन तथा विद्यालयमा सार्ने तयारी थालेका थालिएको छ । जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा प्रहरी उद्धारमा खटिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसुदन न्यौपानले बताएका छन ।
कैलालीमा रहेका कर्णाली, नदीमा पानीको बहाव मोहना, काडा, कान्द्रा, खुटियालगायतका नदीमा पानीको बहाव बढेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।