
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । त्यसको प्रभाव केही दिनदेखि केही क्षेत्रको मौसम बदली भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । अहिले काठमाण्डौ उपत्यका तथा तराई/मधेसमा हुस्सु र कुहिरो लागेको तर घाम लाग्न थालेसँगै हट्नेछ ।
मौसम बदलीसँगै तापक्रम पनि घट्दो अवस्थामा छ । आज बिहान काठमाडौंको तापक्रम बढेको छ । आज न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । जबकी बुधवार न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस थियो ।
आज पनि तराईका धेरै क्षेत्रमा घाम नलाग्ने बताइएको छ । केही दिनदेखि बाक्लो हुस्सुका कारण तराई–मधेसमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ ।
निरन्तर बाक्लो हुस्सु कुहिरो लागेर चिसो स्याँठ चलेकाले कठ्याङ्ग्रिँदाे चिसो भइरहेको छ । तापक्रम दिनदिनै घट्न थालेपछि विशेषगरी बालबालिका, वृद्धवृद्धा, दमका रोगी र दीर्घरोगी तथा अल्पसङ्ख्यक समुदाय प्रभावित भएका छन् ।