काठमाडौं । कम्युनिस्ट सिद्धान्त परित्याग गरेको घोषणा गरेका पूर्वमाओवादी नेता डा. बाबुराम भट्टराई अन्ततः नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्न तयार भएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तसँगै माओवादी विचारको औचित्य सकिएको बताउँदै नयाँ शक्ति गठन गरेका भट्टराई अहिले नेपाल समाजवादी पार्टीको नेतृत्व गरेका छन् ।
जारी केन्द्रीय समिति बैठकमा बहुमत नेताहरुले माओवादीसँग एकताको पक्षमा उभिएका कारण बाबुराम पनि तयार भएका हुन् ।
बुधवार केन्द्रीय कार्यालय, तीनकुनेमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको नेसपाले एक विज्ञप्ति जारी गर्दै पार्टी एकता–ध्रुवीकरणका लागि अध्यक्ष भट्टराईको संयोजकतामा संयोजन समिति बनाउने निर्णय गरेको जनाकारी दिएको छ ।
संयोजन समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह पनि छन् ।
यसअघि भट्टराईले कम्युनिस्ट शब्द हटाएर पार्टीको नाम राख्न तयार नभएसम्म माओवादी केन्द्रसँग एकता नगर्ने अडानमा राख्दै आएका थिए । तर अर्का अध्यक्ष महेन्द्र राय यादव र सहअध्यक्ष गंगानारायण श्रेष्ठसहित बहुमत नेताहरु एकताको पक्षमा उभिँदै आएका थिए ।
एकताको निर्णय गरेको नेपाल समाजवादी पार्टीले जारी संगठन निर्माण तथा बिस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने पनि बैठकले निर्णय पनि गरेको छ ।
यसैगरी सबै स्थानीय तहको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने तथा मंसिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने पनि बैठकमा निर्णय भएको छ ।
साथै माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने तथा वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने पनि बैठकको निर्णय गरेको छ ।
पार्टी एकताको निर्णय गरेको नेसपाले नियमित कार्यक्रम भने सार्वजनिक गरेको छ ।


अनलाइन डबली



