आज :

लघुवित्तीय संस्थाविरुद्धको आमरण अनसनमा संयुक्त किसान संघर्ष समितिको एक्येवद्धता, गभर्नरलाई कारवाहीको माग

  • अनलाइन डबली

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको मनपरी र ज्यादतीविरुद्धको आमरण अनसनमा संयुक्त किसान संघर्ष समितिले एक्येवद्धता जाहेर गरेको छ । नियमन गर्न नसक्दा लघुवित्तीय संस्थाहरुले सामाजिक, नैतिक तथा भौतिक आक्रमणपछि पीडितहरु बाध्य भएर आमरण अनसन बस्नु परेको समेत किसान संघर्ष समितिले जनाएको छ ।

संघर्ष समितिले संयुक्त विज्ञप्ति जारी गरेर लघुवित्तीय संस्थाहरुको गैरकानुनी र अमानवीय हर्कतहरुबाट उत्पन्न समस् को या समाधान गर्न माग समेत गरेको छ । प्रधानमन्त्री प्रचण्डले समस्या समाधानको लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समस्या समाधान गर्न निर्देशन दिएको तर अहिलेसम्म कुनै पहल नलिएको भन्दै संयुक्त किसान संघर्ष समितिले आपत्ति जनाएको छ ।

समितिले ग्रामीण क्षेत्रका गरिब किसान, मजदुर तथा आम जनता र त्यसमा पनि विशेषतः महिलाहरूमाथि विगत ३० वर्षदेखि शोषण र सामाजिक तथा वर्गीय उत्पीडनसहित मीटरब्याजसँग तुलनायोग्य लघुवित्तीय संस्थाहरुले संस्थागत सुद्खोरीको धन्दा चलाएको निष्कर्ष समेत निकालेको छ ।

गलत मौद्रिक नीतिकै कारण समस्या उत्पन्न भएको बताउँदै समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल राष्ट्र बैंकले लघु वित्तीय संस्थाहरूको उचित नियमन गर्न नसक्नु, तिनका ज्यादतीलाई आँखा चिम्लेर बस्नु, मौद्रिक नीति गलत हुनु, सोही नीतिसमेत लागु गर्न नसक्नु र कोरोनाकालको समस्याबारे केपी ओली नेतृत्वको तत्कालीन सरकारले जनपक्षीय निर्णय लिन नसकेको कारण निम्तिएको यस समस्याबारे पीडितहरूले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जानकारी गराएपछि सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई तत्काल समस्या समाधानका लागि पहल लिन निर्देशन दिएको भए पनि नेपाल राष्ट्र बैंक र गभर्नरका तर्फबाट हालसम्म पनि समस्या समाधानका लागि कुनै पहल भएको छैन । यही क्रममा लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मणिराम ज्ञवालीले २०८० असार २८ गतेदेखि माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेको र संघर्ष समितिले विभिन्न शान्तिपूर्ण संघर्षका कार्यक्रमहरू अघिसारेकोमा सो न्यायपूर्ण संघर्षको पक्षमा हामी दृढतपूर्वक ऐक्यबद्धता जाहेर गर्दछौँ र समस्या समाधानका लागि ६ कम्युनिस्ट पार्टी निकट संयुक्त किसान संघर्ष समिति, नेपालको तर्फबाट निम्न मागहरू अघिसार्दै अविलम्ब पूरा गराउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।”

पीडितहरुले लघुवित्तीय संस्थाका हर्कतविरुद्ध विगत १७ महिनादेखि शान्तिपूर्ण विरोधका कार्यक्रम गर्दै आएका छन् । उनीहरुले संघर्ष समिति बनाएर काठमाडौँसहित देशभर विरोधका कार्यक्रम गर्दै आएका छन् ।

मागहरुको सुनुवाई नभएपछि संघर्ष समितिको अगुवाईमा पीडितहरु असार २८ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन बसेका छन् । उक्त आमरण अनसनमा संयुक्त किसान सघर्ष समितिले एक्येवद्धता जाहेर गरेको हो ।

संघर्ष समितिले सात वटा माग समेत राखेको छ । समस्या सिर्जना गर्ने, समाधानका लागि कुनै पहल नगरी अटेरी गरी अर्थतन्त्रलाई नै धरासायी बनाउन मुख्य भूमिका खेल्ने नेपाल राष्ट्र बैंकको नेतृत्वलाई तत्काल कारबाहीको समेत संयुक्त विज्ञप्तिमा गरिएको छ ।

यस्ता छन् मागहरु
१. गरिब किसान, मजदुर र विशेषतः महिलाहरूमाथि गरिरहेको चरम शोषण र अमानवीय व्यवहारसहितको अत्याचार गर्ने लघुवित्तीय संस्थाहरूको विरुद्ध पीडित जनताले चलाएकोे संघर्षलाई तत्काल सम्बोधन गरियोस् । तत्काल एक वार्ता समिति गठन गरी समस्या समाधानका लागि ठोस पहल गरियोस् ।

२. राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने गरी किसानमुखी तथा जनमुखी मौद्रिक नीति जारी गरी लागु गरियोस् । नेपाल राष्ट्र बैंकको विद्यमान नीतिसमेतको विपरीत हुनेगरी ऋण प्रवाह तथा अन्य कारोबार गर्ने लघुवित्तीय संस्थाहरू र तिनका सञ्चालकहरूलाई कालो सूचीमा राखी कडा कारबाही गरियोस् ।

३. एकै व्यक्ति २ भन्दा बढी लघुवित्तमा सदस्य बन्न र ऋण लिन नपाउने व्यवस्था गरी कडाइपूर्वक लागु गरियोस् ।

४. लघुवित्तहरूले ऋणीहरूलाई लगाउने ब्याज १ अंकमा झारियोस् । लघुवित्तहरूले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६ प्रतिशभन्दा बढी रकम असुल्ने तथा पटक पटक ब्याज र हर्जानालाई साँवामा गाभेर चलाइआएको संस्थागत मीटरब्याजको धन्दा अविलम्ब बन्द गरियोस् । यसरी हर्जाना असुल्ने लघुवित्तहरूलाई कडा कारबाही गरियोस् ।

५. लघुवित्तहरूले चक्रीय व्याज प्रणालीमा लिइरहेको कोरोनाकालदेखि हालसम्मकोे सम्पूर्ण ब्याज र हर्जाना बिनाशर्त तत्काल मिनाहा गरियोस् । बाँकी साँवा ऋण भुक्तानीका लागि ऋणीको माग र क्षमताअनुसार पर्याप्त समय अवधि दिई ऋणको पुर्नतालिकीकरण (नयाँ किस्ता जारी) गर्न लगाइयोस् ।

६. ऋण उठाउने नाममा गरिब ऋणीहरूको हस्ताक्षर जबरजस्ती गराई वा नक्कली हस्ताक्षर गरी ऋण नवीकरण गराउने, भौतिक तथा मानसिक यातना दिने, महिला हिंसा गर्ने, अपशव्द बोल्ने, घरमा तालाचाबी ठोकिदिने, गाइवस्तु आफूखुसी बेचिदिने र अमानवीय यातनाबाट पीडित भई घर–परिवार छोड्न वाध्य बनाउने र आत्महत्याका लागि दुरुत्साहन गर्ने सबै लघु वित्तीय संस्थाहरू, तिनका प्रतिनिधिहरू र मतियारहरूलाई अबिलम्ब गिरफ्तार गरी कडा कारबाही गरियोस् ।

७. यो समस्या सिर्जना गर्ने, समाधानका लागि कुनै पहल नगरी अटेरी गर्ने र मुलुकको अर्थतन्त्रलाई नै धरासायी बनाउन मुख्य भूमिका खेल्ने नेपाल राष्ट्र बैंकको नेतृत्वलाई तत्काल कारबाही गरियोस् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal