
काठमाडौँ । विवादित डा. संगीता कोशल मिश्र अन्तरिम सरकारको मन्त्री नबन्ने पक्का भएको छ । मेडिकल माफियाले भ्रष्टाचार मुद्दा खेपिरहेकी मिश्रलाई मन्त्री बनाउन लागिपरेका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गरेका थिए । उनि मन्त्रीमा सिफारिस भएको खबर सार्वजनिक भएपछि विवादित पात्रलाई मन्त्री नियुक्त गर्न लागेको भन्दै चौतर्फी विरोध भएको थियो ।
अनलाइन डबलीलगायतका संचारमाध्यमहरुले डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मेडिकल माफियाको प्रभावमा परेर नितिगत भ्रष्टाचार गरेको र उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको सार्वजनिक गरेका थिए ।
नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो २ बजे तोकिएको छ । तर, उक्त सूचीमा डा. मिश्रको नाम नभएको सार्वजनिक भएको छ । अख्तियारले छानबिन गरिरहेको भन्दै अब उनको नियुक्ति अगाडि नबढाउने निष्कर्षमा प्रधानमन्त्री कार्की पुगेको स्रोतको दाबी छ ।
अख्तियार स्रोतले पनि उनिविरुद्ध परेको उजुरी छानबिनको अन्तिम चरणमा पुगेको बताएको छ ।