
काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाएका छन् । सोमबार उनले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताए ।
खड्काले सो समाचारप्रति दुख व्यक्त गर्दै भने, ‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर म किन देश छोडेर भाग्छु?’ उनले थपे, ङपत्रकारिता समाजलाई शुसूचित गर्ने क्षेत्र हो । तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो । म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।’
पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उनले सो घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटि तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोपसमेत लगाए ।
‘यो सबै अचम्मलाग्दो र दुखदायी कुरा हो,’ उनले भने, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।’
खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे ।
खड्का सार्वजनिक भएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले हाकाहाकी झुट बोलेर जनतालाई उल्लु बनाइरहेको पुष्टि भएको छ । केही दिन पहिले अर्यालले खड्का भारत हुँदै अमेरिका पुगिसकेको बताएका थिए ।
गृहमन्त्रीले नै खड्का अमेरिका पुगेको बताएपछि धेरैले विश्वास गरेका थिए । तर, खड्का आज जलेको घरमै सार्वजनिक भएपछि ‘उल्लु गृहमन्त्री’ भन्दै सामाजि संजाल प्रयोगकर्ताहरुले उनको आलोचना गरिरहेका छन् ।