आज :

‘रैथाने दमाईँ जातिको लोकजीवन’ ऐतिहासिक ग्रन्थ सार्वजनिक

नेपाली कलासंँस्कृतिका स्पन्दन दमाईँ जातिको बारेमा बिहंगम अनुसन्धान गरिएको ऐतिहासिक ग्रन्थ ‘रैथाने दमाईँ जातिको लोकजीवन’ सार्वजनिक भएको छ । साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानाद्धारा सम्पादित ग्रन्थको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

कुलपति राईले भने–‘प्राज्ञिक क्षेत्रले बाटो देखाइदिनुपर्छ र राजनीतिक नेतृत्वले नेतृत्वदायी भूमिका खेल्न सकेमा राष्ट्र अगाडि बढछ ।’ उनले राजनीतिभन्दा संस्कृति महत्वपूर्ण भएको र ग्रन्थले संस्कृतिका यावत पक्ष सार्वजनिक गरेको विचार व्यक्त गरे । समीक्षक प्राडा अभि सुवेदीले ग्रन्थ अत्यन्तै बृहत आकारको ग्रन्थभित्र बृहत् ज्ञानको भण्डार पाएको बताए । उनले भने, ‘ शक्तिसंरचनाले बाहिर पारिएका समुदायको लिखित दस्तावेज दुर्लभ नै हुन्छन् । तर यसो भन्दैमा उनीहरुको अस्तित्व, इतिहास र पहिचान नै हुँदैन भन्न मिल्दैन । उनीहरुसँग रहेको मिथक, किंवदन्ति, लोकविज्ञान, लोककथा आदि सबै लोकजीवनमा हुन्छन्, त्यसलाई इतिहासको प्रमाणको रुपमा लिनुपर्छ ।’ रैथाने दमार्इँ जाति शिल्पकला, संस्कृति, सम्पादाले भरिपूर्ण भएको र सोहीअनुसारका खुराक ग्रन्थमा समेटिएको उनको भनाइ छ । तर राज्यले, समाजले उनीहरुमाथि ज्ञानको हिंसा जारी राखेको छ । यो अत्यन्तै अमानवीय र अप्राकृतिक कुरा हो ।’

सुवेदीका अनुसार–‘लोकजीवनमा फोल्क आर्किटेक्चरको असाध्यै महत्व हुन्छ । त्यसमा प्रदर्शनकारी कला शक्तिशाली हुन्छ । नेपालका प्रदर्शनकारी कलामा दमाईँ संस्कृतिको निकै ठूलो महत्व रहेको छ । उदाहरणको रुपमा बाहुनमा केवल शास्त्रीय कला मात्रै छ, प्रर्दशनकारी कला छैन । तर दमाईँमा प्रदर्शनकारी कला शक्तिशाली र प्रभावकारी रहेको पाइन्छ । दमाईँ प्रभाती गीति काव्य उस्तै मनमोहक र भव्य छ । लोकविज्ञान ग्रन्थको मूल स्पन्दन तत्व रहेको छ । ग्रन्थले रैथाने अनादिवासी दमाईँ जातिका लागि ठीक–ठीक स्पन्दन समातेको छ । ग्रन्थ समग्रमा जैविक चेतनाको ऐतिहासिक साहित्य छ । यो ज्यादै महत्वपूर्ण विषय छ ।’ सुवेदीले भने–‘सामन्ती सामाजिक बर्बरता सहेर आजको विश्व जलवायू परिवर्तनको सन्दर्भमा जैविक पर्यावरणीय सन्तुलन  (Ecological Environment Balance ) लाई दमाईँ जातिले उत्पीडन भोग्दै दुख गरेर ज्ञान बाँडिरहेका छन् ।’

 

समीक्षक सीताराम तामाङले भने, ‘ग्रन्थले दमाईं जाति आदिवासी रहेको तथ्यप्रमाण दिएको छ, जुन अत्यन्तै सकारात्मक पाटो हो । दमाईं जातिबाटै यो ग्रन्थ अनुसन्धान गरेर लेखिनु गौरवपूर्ण विषय हो ।’ यस ग्रन्थले वर्तमान इतिहासलाई उल्टाइदिएको उनको तर्क छ । ‘यसले प्रबुद्ध–प्राज्ञिक जमात भनिनेहरुलाई ठूलो चुनौती दिएको छ । यो चुनौतीलाई सबैले अवसरको रुपमा लिएर अझै विस्तृत खोज गर्न सकेमा उत्तम हुन्छ’, उनले थपे ।
ग्रन्थका मुख्य लेखक डीबी. नेपाली ‘दमु’ ले एक दसकभन्दा बढी समयावधि खर्चिएर अनुसन्धान गरी ग्रन्थ लेखेको बताए । उनले भने, ‘प्राथमिक स्रोत नै लोकजीवन हो । त्यो ज्ञान नै रैथाने आदिवासी ज्ञान हो । राष्ट्र अगाडि बढ्नुमा पारिवारिक संस्कृतिको ज्यादै अहं भूमिका हुन्छ ।’ हाम्रो छिमेकी चीन र अरू विकसित देश अगाडि बढ्नुमा पारिवारिक संस्कृतिले नै मुख्य भूमिका खेलेको उनले बताए ।

ग्रन्थका सम्पादक गोपीकृष्ण ढुंगानाले ग्रन्थले यथार्थ घटना र सन्दर्भलाई अभिलेखीकरण गर्ने ऐतिहासिक काम गरेको बताए । ‘दमाईं जातिको लोकजीवन’ ले एकातिर नेपाली समाजको समग्र यथार्थ चित्रण गरेको छ भने अर्कोतिर दमाईं जातिको इतिहास रच्ने काम भएको उनको तर्क छ । ग्रन्थमा दमाईं जातिका मौलिक लोकबाजा, लोकसंगीत, लोकसंस्कार, लोकविज्ञान, लोकसंस्कृति ज्ञान र सीप समाविष्ट रहेको उनले बताए । आफू सञ्चारकर्मी भएकोले सम्पादनको क्रममा थाहा पाएँ कि दमाईं जाति आदिम सञ्चारकर्मी रहेछन् । समाज रूपान्तरणका संवाहक रहेछन् । सञ्चारको आँखाले हेर्दा क्यानेडियन प्राध्यापक डा. ह्यारोल्ड ए. इनिसको थ्यौरी ‘अ बायोस अफ कम्युनिकेसन’ थ्यौरीभित्र दुईवटा पक्ष छन्, ‘टाइम बायोस्ड मिडिया र स्पेस बायोस्ड मिडिया ।’ र, निष्कर्ष निकालेको छु– ‘रैथाने दमाईं जातिको लोकजीवन’ टाइम बायोस्ड मिडिया हो । हो, ‘रैथाने दमाईं जातिको लोकजीवन’ ले अबका दिनमा सयौं वर्षसम्म सञ्चार गरिरहने छ । रैथाने दमाईं जातिको लोकजीवनमा…!, दिमाग रन्थन्याउने सन्दर्भदेखि सङ्गीतका अनेक आयामसम्मको विस्तृत जानकारी पाइन्छ । समग्रमा यो ग्रन्थ नेपाली समाजको ऐना बनेको छ ।’ उनले ग्रन्थ विद्यालय तहदेखि विश्वविद्यालयसम्म ‘रिफरेन्स’ का रूपमा राख्न सकिने तर्क पनि गरे ।

व्यावसायिक विकास तथा अनुसन्धान केन्द्र, मार्टिन चौतारी र नेपाल बौद्ध–अम्बेडकर महासभाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । केन्द्रकी अध्यक्ष कमला हेमचुरीले ग्रन्थले दमाईं जातिका यावत विषयमा वैचारिक बहसको थालनी गरेको बताइन् । ग्रन्थ मकालु प्रकशन गृह काठमाडौंले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal