काठमाडौँ । युक्रेन युद्धको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको बेला भएको यो दुर्घटनापछि दुवै देशका सेना सतर्क अवस्थामा रहेको बीबीसीले जनाएको छ ।
मंगलबार रुसीको एसयू-२७ लडाकु विमान र अमेरिकाको मानवरहीत ड्रोन आकासमा उडिरहेका थिए । त्यही क्रममा अमेरिकी ड्रोन ‘ब्ल्याक सी’मा खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
अमेरिकी वायु सेनाका अधिकारी जनरल जेम्स हेकरले आफ्नो ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा नियमित उडानमा भइरहेको बेला रुसी जेट लडाकु विमान जानीजानी अगाडि आएर ठोक्किएको बताएका छन् ।
रुसका अधिकारीहरुले भने अमेरिकी ड्रोन आफैं कालो सागरमा खसेको बताएका छन् । रुसको विमानसँग उक्त ड्रोन नठोक्किएको रुसी अधिकारीहरुको दाबी छ ।
यता हिन्द प्रशान्त क्षेत्रमा बढ्दै गएको चिनियाँ प्रभावलाई चुनौती दिने उद्देश्यले अमेरिका, बेलायत र अष्ट्रेलियाबीच क्यालिफोर्नियामा विशेष सम्झौता भएको छ।
यो सम्झौता हिन्द प्रशान्त क्षेत्रमा आणविक हतियारसहितको पनडुब्बी जहाज राख्नका लागि भएको हो। सम्झौता अनुसार अमेरिकाले अष्ट्रेलियालाई तीनवटा आणविक हतियारसहितको पनडुब्बी उपलब्ध गराउने छ।
अत्याधुनिक प्रविधि सहितको जहाज निर्माणको जिम्मेवारी बेलायतको रोल्स रोयसलाई दिने सहमति पनि तीन मुलुकले गरेका छन्। यो सम्झौताको मुख्य उद्देश्य त्यस इलाकामा बढ्दै गएको चिनियाँ प्रभावलाई चुनौती दिनु हो।
सम्झौतापछि बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अष्ट्रेलियाले आणविक हतियारहित मुलुक घोषणा गरेपनि यस सम्झौताले त्यस घोषणाको कुनै उल्लंघन नहुने दाबी गरेका छन्। ‘अष्ट्रेलियाले आफूलाई आणविक हतियार रहित मुलुक भनेको छ। तर यो सम्झौताले उसको घोषणामा कुनै असर पुर्याउनेछैन,’ सम्बोधनमा बाइडेनले भनेका छन्।
सोमबार सम्झौता भएपछि अष्ट्रेलियाको जल सेनाले जहाज चलाउने तालिम बेलायती र अमेरिकी जल सेनाबाट लिनेछ। यो तालिम समापन भएपछि सन् २०२७ भित्र बेलायत र अमेरिकाले अष्ट्रेलियाको जल सेनासँग सहकार्य गरेर पश्चिम अष्ट्रेलियाको पर्थमा जहाज राख्नेछन्। सन् २०३० सम्म अष्ट्रेलियाले अमेरिकाबाट तीनवटा जहाज खरिद गर्ने सम्झौता भएको छ।
यी जहाजमा तीनवटै मुलुकका प्रविधिको प्रयोग हुने भए पनि यसको डिजाइन भने अष्ट्रेलिया र बेलायतले भने अनुसारको हुनेछ। नयाँ प्रविधिको जहाजबाट अष्ट्रेलियाका जल सेना हालको भन्दा पनि तेज गतिमा गस्ती गर्नसक्ने बताइएको छ। क्रुज क्षेप्यास्त्रको सहायताबाट जल सेनाले जमिन र समुद्री इलाका दुवैमा आक्रमण गर्नसक्नेछ।


अनलाइन डबली




