आज :

एकै ठाउँमा जल्ने भए तुलसिपुरमा एउटै खाल्डोभित्र गाडिएका रोशनी र शरदको चिता, को हो ह’त्या काण्डको मास्टर माइन्ड ?

  • अनलाइन डबली

तुलसीपुर । जंगलमा ह त्या गरी एकै ठाउँमा गाडेको अवस्थामा शव फेला परेका दाङका रोशनी महतरा र शरद आचार्यका चिता एकै ठाउँमा जल्ने भएका छन्।

फरेन्सिक विज्ञ आएर मंगलबार उनीहरूको शव पोष्टमार्टमको प्रक्रिया सुरू गर्दै छन्। त्यसपूर्व नै रोशनी र शरदका आफन्त तथा परिवार जनले उनीहरूको चिता एकै ठाउँमा सँगसँगै जलाउने निर्णय गरेका हुन।

मामा खेमराज खड्काले पोष्टमार्टमपछि भान्जा शरदको शव दंगीशरण गाउँपालिका-६ थपगाउँस्थित घरमा पुर्‍याइने र त्यहाँबाट फेरि तुलसीपुर ल्याएर तुलसीपुर-१२ शितलपुरस्थित बबई नदी घाटमा दुबैको सँगै अन्त्येष्टि गर्ने निर्णय भएको बताए।

‘शरद र रोशनी दुबैको हत्यापछि एकै ठाउँमा फालेको अवस्थामा शव भेटिएको हुँदा उनीहरूको अन्त्येष्टि पनि सँगसँगै एकै ठाउँमा गरौं भन्ने निर्णय भएको हो,’ खड्काले भने, ‘दुबैका लागि चिता भने अलग-अलग बनाउने निर्णय भएको छ।’

मंगलबार दिउँसो दुबै जनाको शितलपुर घाटमा अन्त्येष्टिको तयारी भइरहेको उनले जानकारी दिए। तुलसीपुर-१३ दमारगाउँमा आइतबार दिउँसो स्थानीय सामुदायिक जंगलको एकै चिरोमा ह त्या गरी फालेको अवस्थामा रोशनी र शरदका शव फेला परेका थिए।

शरदको शवमाथि रोशनीको शव राखेर माटोले अलिअलि पुरेको अवस्थामा शव भेटिएका थिए। सोही दिन बेलुका अबेर उनीहरूका शव तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको थियो।

तुलसीपुरमा शव पोष्टमार्टम गर्ने फरेन्सिक विज्ञ नभएको हुँदा पोष्टमार्टम गर्न ढिला भएको थियो। मंगलबार बिहान घोराहीबाट विज्ञसहितको टिम आएपछि पोष्टमार्टमको प्रक्रिया सुरू भएको छ। फरेन्सिक विज्ञको टिम घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आएको हो।

तुलसीपुरका चिकित्सकले प्रहरीले आग्रह गरे अनुसारको जाँच गर्न नसकिने बताएपछि सोमबार बेलुका उनीहरूका शव पोष्टमार्टमका लागि घोराही पठाउने तयारी भइरहेको थियो। अन्तिममा समन्वय गरी घोराहीबाट विज्ञसहितको टिम तुलसीपुर आउन सहमत भएको थियो। १५ वर्षीया रोशनी र १४ वर्षीय शरद स्थानीय अम्बापुर माविमा क्रमश: कक्षा ८ र ९ मा पढ्दै थिए।

शरद आमासँगै मामाघरमा बस्दै आएका थिए। उनका बुवा-आमाको छोडपत्र भइसकेको भन्ने बुझिएको प्रहरीले जानकारी दिएको छ। त्यस्तै रोशनीका बुवा-आमा राजगोरीका लागि भारत गएका थिए। उनका दाजु पनि केही दिनअघि भारत गएका भन्ने खुलेको प्रहरीले बताएको छ।

रोशनीका दुई बहिनी मात्रै घरमा बस्दै आएका थिए। एक शिक्षकका अनुसार दिदी-बहिनी दुबैले कक्षा ८ मा सँगै पढ्ने गर्थे। छोरीको हत्या भएपछि रोशनीका बुवा आमा घर आएका छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रोशनी र शरद असोज २७ गते रातीदेखि बेपत्ता भएको जानकारी दिएका छन्। शरदकी मावलीकी हजुरआमाले नजिकै रहेको कौवापुर प्रहरी चौकीमा असोज २८ गते पुगेर आफ्नो नाति हराएको भन्दै खोजी गरिदिन निवेदन दिएकी थिइन्।

तीन दिनपछि उनीहरूको शव हत्या गरी एकै चिरोमा फालेको अवस्थामा फेला परेको थियो। उनीहरूको हत्या २७ गते मध्यराती नै भएको अनुमान प्रहरीले गरेको छ।

उक्त दिन राती साढे १० बजेसम्म रोशनी र शरदले मोबाइल प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ। तर, हालसम्म उनीहरूले प्रयोग गर्ने मोबाइल फेला परेका छैनन्।

घटना अनुसन्धानमा सहयोग पुगोस् भनेर उनीहरूका केही सहपाठी तथा गाउँका साथीसमेत गरी ६ जनालाई सोधपुछको लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ।

मोबाइल प्रयोगको आधारमा आइतबार दिउँसो नै प्रहरीले एक जना टिपर चालक नियन्त्रणमा लिएको थियो। ती चालकको बयानका आधारमा आशंका गरिएका अर्का युवालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार सोमबार पक्राउ परेका ती युवाको ससुराली घर दमारगाउँमा छ।

उनीहरूको बयानका आधारमा अन्य केहीलाई निगरानीमा राखिएको प्रहरीले बताएको छ। रोशनी र शरदको हत्यामा संलग्नको पहिचानपछि पक्राउ गरेर छिटो सार्वजनिक गरिने प्रहरीले बताएको छ। दमारगाउँमा एकै साथ दुई किशोरकिशोरीको शव फेला परेपछि गाउँ शोकमा डुबेको छ भने स्थानीय त्रसित छन्। सेताेपाटीबाट साभार

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal