चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुका अनुसार सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लड्ने लगभग तय भइसकेको थियो । काठमाडौं २ बाट चुनाव लड्न चाहेका आकांक्षीहरुलाई पनि सभापति लड्ने क्षेत्र भन्दै अन्यत्र पठाइएको थियो ।
सत्ता गठबन्धन र एमालेबाट बलियो उम्मेदवार नदेखिएको र रविको आफ्नै क्षेत्र पनि भएकाले पार्टीका नेताहरुले पनि काठमाडौं २ बाट चुनाव लड्न सुझाएका थिए ।
तर रविले काठमाडौं होइन, चितवन २ रोजे । रवि भरतपुरमा रहेको निर्वाचन क्षेत्र नं. २ को कार्यालयमा तोकिएको समयभन्दा झण्डै १ घण्टा ढिलो पुग्दा उनका समर्थकहरुले चर्को नाराबाजी गरेका थिए । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै रविले चितवनले देखाएको मायाका कारण यहाँ आएको बताए ।
पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा खेपेका रवि केही समय चितवन प्रहरीको हिरासतमा थुनिएका थिए । रवि प्रहरी हिरासतमा रहँदा उनको समर्थनमा चितवनमा हरेक दिन जस्तो प्रदर्शन भएको थियो भने उनी धरौटीमा छुट्दा नारायणी नदी किनारमा केही हजार समर्थक भेला भएका थिए ।
‘हामीले त अरु क्षेत्र पनि हेरेका थियौं । तर जुन ठाउँले म पनि राजनीति गर्न सक्छु भन्ने आँट दियो, त्यहीबाट चुनाव लड्छु भन्ने उहाँको अडान रह्यो’, राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्य भन्छन्, ‘चितवन २ जाने उहाँको इमोसनल निर्णय हो ।’
अर्थात आत्महत्या दुरुत्साहन मुद्दामा जेल पर्दा चितवनमा देखिएको समर्थनबाट हौसिएर उनी चितवन २ मा उम्मेदवार बन्न आएका हुन् । त्यसबेला उनलाई समर्थन गर्न बाहिरबाट पनि मानिसहरु चितवन पुगेका थिए । चितवनका पनि अर्धशहरी र ग्रामीण भेगका मानिस धेरै थिए । जबकी क्षेत्र नं. २ मा विकट भेग र शहरी क्षेत्र बढी छ ।
चितवन २ को भूगोल
चितवन २ भूगोलका हिसावले सबभन्दा कठिन मानिन्छ । यो क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा यसमा पर्दछन् ।
गत स्थानीय तहको निर्वाचनमा इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका एमालेले जितेको थियो भने, भरतपुरका बढि मतदाता भएको क्षेत्र पनि एमालेले जितेको छ । इच्छाकामना गाउँपालिकाको वडा नं.३,४ र ५ को बजार क्षेत्र बाहेक अरू ठाउँ विकट र ग्रामिण छ । कालिका नगरपालिको वडा नं. १० र ११ पनि विकट मानिन्छ ।
भरतपुर महानगरको वडा नंं. २९ बाहेक अरू वडा भौगोलिक रुपमा सहज छन् । नारायणगढ बजार (वडा नं. १,२, ३) भरतपुरको वडा नं. १०, ११, १२ क्षेत्र शहरी भागमा पर्छन् ।
यहाँ परम्परागत दलहरु बलिया छन् । एमालेबाट २०७० र २०७४ मा मत ल्याएर जितेका कृष्णभक्त पोखरेल उम्मेदवार छन् । गत निर्वाचनमा वाम गठबन्धनको साझा उम्मेदवार रहेका उनी ४४ हजार ६७० मतका सात विजयी हुँदा कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत पाएका थिए ।
स्थानीय निर्वाचनमा यस क्षेत्रमा सत्ता गठबन्धनबाट वडाध्यक्षका उम्मेदवारहरुले ३५ हजार ३९४ मत ल्याएका थिए । एमालेका वडाध्यक्षका उम्मेदवारले ३५ हजार ५४३ मत ल्याएका थिए । जबकी ७ असारमा मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा संगठन बनाइसकेको छैन ।
त्यसैले रविका लागि प्रमुख चुनौती एमाले उम्मेदवार पोखरेल नै हुन् । तटस्थ मत पनि तान्न सक्ने भएकाले एमाले नेताहरु उनलाई ‘चुनावी मान्छे’ समेत भन्छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका कांग्रेसका उमेश श्रेष्ठ अर्को चुनौती हुन् । दुईपटकसम्म समानुपातिकबाट सांसद बनिसकेका श्रेष्ठ पहिलोपटक प्रत्यक्ष चुनाव लड्न लागेका हुन् । उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ ।
रवि र उनको पार्टीले पनि त्यसैले आफ्नो संगठनको बलमा भन्दा प्रमुख दलका परम्परागत मतदाता तान्ने रणनीति बनाएको छ । मतदाताको मनसिकतामा परिवर्तन आएकाले पुरानो गणितले काम नगर्ने भन्दै यो पार्टीका नेता गणेश कार्की भन्छन्, ‘हामी न वामपन्थी, न दक्षिणपन्थी हौं, त्यसैले जनतालाई हामी उपयुक्त हौं ।’
अर्थात रविले चुनाव जित्छन् कि जित्दैनन् भन्ने उनले प्रमुख दलहरुको मत कति काट्छन् भन्नेमा भर पर्छ ।