आज :

मध्यपुर थिमि सहकारीको सांस्कृतिक सम्मान – फोटोहरु

  • बुद्धशरण शाही

भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखँ मध्यपुर बोडे, लायकू भैलः सञ्चालन समिति, महाकाली प्याखँ व्यवस्थापन समिति दिगुटोल, थिमि गुंला बाजा खलः बज्राचार्य समुदाय, मध्यपुर थिमि गुंला बाजा प्रजापति समुदाय,  येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा व्यवस्थापन समिति तथा मानन्धर गुंला बाजा सिवा साय्मि खलःलाई सम्मान गरेको हो । मध्यपुर क्षेत्रकै गौरव गर्न लायकको संस्कृतिलाई विकास, संरक्षण र प्रवद्र्धनमा टेवा दिएकोलाई मूल्यांकन गरी वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय श्री बसन्त मानन्धरले दोसल्ला ओडाएर फूलमालासहितको कदर–पत्र हस्तान्तरण गरी सम्मान गरेका हुन् । कार्यक्रममा सुरेश श्रेष्ठ तथा समीर कारंजितलाई सदस्य प्रोत्साहन पुरस्कार दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा माननीय मानन्धरले सहकारी संस्थालाई नियमन, निरीक्षण र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । ‘तीनवटै सरकारका संयन्त्रले सहकारीको विकासको लागि काम गरिरहेको छ । संघ सरकारमार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेशगत संरचना तथा स्थानिय तहको सरकारले समेत सहकारीको क्षेत्रमा काम गरिरहेको छ ।’ मन्त्री मानन्धरको भनाइ थियो । उहाँले रुस र युक्रेनबीचको युद्धको प्रभाव नेपालमा पनि पर्नसक्ने औंल्याउँदै त्यसको लागि वित्तीय संस्थाहरुले प्रतीकात्मक तयारी थाल्नुपर्नेमा जोड दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रमेश थापाले स्थानिय स्तरमा सञ्चालित सहकारीहरुमा मात्र बचत गर्न सम्पूर्ण सेयर सदस्यहरुलाई आह्वान गरे । ससाना पुँजीलाई चलायमान गर्न सहकारी संस्था काफी भएको बताउँदै वार्षिक रुपमा साधारणसभा गर्ने, हिसाब किताबलाई पारदर्शी ढंगले प्रस्तुत गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थालाई विश्वास गर्न सकिनेमा जोड दिए ।
कार्यक्रममा संस्थाको सन्तुलन परीक्षण रु. १९,८२,७२,९०२।१७ (उन्नाइ करोड बयासी लाख बहत्तर हजार नौ सय दुई रुपियाँ सत्र पैसा मात्र), चुक्ता पुँजी रु. १,६४,४०,४००।– (एक करोडा चौंसठी लाख चालिस हजार चार सय रुपियाँ मात्र), बचत÷निक्षेप रु. १३,६६,२४,२६२।३९ (तेह्र करोड छैसठी लाख चौबिस हजार दुई सय बैसठी रुपियाँ उन्नानचालिस पैसा मात्र) तथा ऋण÷कर्जा रु. १२,५९,२०,२७४।– (बाह्र करोड उन्नानसाठी लाख बीस हजार दुई सय चवहत्तर रुपियाँ मात्र) रहेको तथा वित्तीय विवरणलाई कोपोमिस सफ्टवेयरको अनलाइन प्रविधिमार्फत अद्यावधिक गरिंदै आएको जानकारी दिइएको थियो । संस्थामा आर्थिक वर्ष २०७८–७९ मा सेयर सदस्यहरु १४२५ जना (पुरूष ८७५ महिला ५५) पुगेको समेत अवगत गराइएको थियो ।
यो वर्ष मध्यपुर थिमि नगरपालिका सहकारी शाखाबाट उद्घाटन तथा बन्द सत्र दुईथरी नगरी एउटै कार्यक्रममार्फत साधारणसभा सम्पन्न गर्न कार्यविधि जारी भएको छ । सोही बमोजिम संस्थाले छलफल गर्नुपर्ने सम्पूर्ण प्रस्तावलाई सभामा प्रस्तुत गरी सदस्यहरुको सुझाव संकलन गरी निर्णय पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कृष्ण काजी मानन्धरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेश खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय श्री बसन्त मानन्धर, अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिका ८ का वडाध्यक्ष रमेश थापा श्रेष्ठ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी कार्यसमिति सदस्य कृष्णश्वर प्रजापति, मध्यपुर थिमि नगरपालिका सहकारी शाखाका प्रमुख सुरेश राई, सिवा सायमि खलःका अध्यक्ष मनोज लाल मानन्धर, बज्राचार्य गुंला बाजा समूहका संयोजक सूर्य बहादुर बज्राचार्य, महांकाली नाच व्यवस्थापन समितिका राधेश्याम प्रजापति, प्रजापति समुदायको गुंला बाजा समूहका विक्रम प्रजापति, निलबाराही गण प्याखँ बोडेका आदरणीय देवगणहरु, लायकू भैलःका गुरु मुतीकुमार श्रेष्ठ, येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा व्यवस्थापन समितिका विरेन्द्र भक्त गजू श्रेष्ठ लगायतको उपस्थिति थियो ।
सञ्चालक सदस्य रमेश थुसा श्रेष्ठको संयोजनमा सम्पन्न भएको कार्यक्रममा कोषाध्यक्ष प्रेम सुन्दर श्रेष्ठ र लेखा सुपरिवेक्षण समितिका सुन्दर श्रेष्ठले आआफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सागर गुरागाइँले सञ्चालन गरेको कार्यक्रममा महिला उपसमितिकी संयोजक ललिता यलायले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal