आज :

अछाम अपडेट : पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना बेपत्ता

  • अनलाइन डबली

अछाम । अछाममा अविरल वर्षासँगै आएको पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुगेको छ। जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

रिजालका अनुसार अन्य ५ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो। ९ जना अझै बेपत्ता छन् । अहिले जिल्लाका विकट स्थानीय गाउँमा पहिरोबाट प्रभावितको उद्धारमा समस्या भइरहेको सहायक प्रजिअ रिजालले बताए।

अछामको तुर्माखादका पहिरो प्रभावितलाई उद्धार गर्न समस्या भएको छ। हिड्ने बाटो समेत नहुँदा पहिरो गएको ठाउँका स्थानीयको उद्धारमा समस्या भएको उनले बताए।

शुक्रबार राति दुई बजे तुर्माखाद गाउँपालिका–५ नाडा गाउँमा अचानक गाउँको दुई सय मिटरमाथिबाट पानीको मुहान फुट्दा डाँडा भत्किएर पहिरो आयो।

कतिपय गाउँलेहरु निन्द्रा थिए, जागेकाहरुले पनि पानीको ठुलो आवाजले पहिरो आएको कसैले थाहा पाएनन्। पहिरोले स्थानीय नेत्रबहादुर शाही र रिटबहादुर शाहीको घर पुरिदियो। नेत्रका चार जना र रिटका ५ जना परिवार घरसँगै पहिरोमा पुरिए।

स्थानीय प्रतापबहादुर शाहीका अनुसार बिहान पाँच बजेतिर वरपरका छरछिमेकीले नेत्र र रिटको घर पहिरोले सखाप पारेको देखेका थिए। पहिरोमा पुरिएका मध्ये अहिले १६ वर्षीय विमला शाही र जानकी शाहीको शव फेला परेको छ। अन्यको खोजी गर्न गाह्रो भइरहेको शाहीले बताए।

बाटो र सञ्चार अबरुद्ध हुँदा पहिरो प्रभावितको उद्धारमा थप कठिनाइ भएको छ। अहिले नाडाका ५० जना स्थानीय एकै ठाउँमा जम्मा भएर उद्धारको प्रतिक्षामा छन्। सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार वेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको बताए।

यसैबीच गृहमन्त्री बालकृष्ण लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएका र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal