आज :

गृहमन्त्रीका पिएसओले हिरासतमै मच्चाए यस्तो काण्ड, ४ लाख झ्वाम परेपछि…

  • अनलाइन डबली

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणका निजी सुरक्षा अधिकृत (वरिष्ठ प्रनानि) टंक कार्की छानविनमा परेका छन् ।

वरिष्ठ सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एकजना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायव’ बनाएको आरोप छ ।

असार १६ मा चितवनको इच्छाकामना गाउँपालिका–४ घर भएका एकजना युवकलाई प्रहरीले बोलाएको थियो । ती प्रहरी अधिकारीले काठमाडौंको गैरीधारामा भेटेर ‘केही कुरा गर्नुछ’ भन्दै प्रहरी वृत्त गौशालामा लगे । त्यहाँ उनलाई अभद्र व्यवहारको आरोपमा थुनियो ।

युवकलाई गैरीधाराबाट गौशाला वृत्तमा लगेर झुटो मुद्दामा थुनाउने प्रहरी थिए वरिष्ठ सई टंक कार्की । थुनामा राख्नुअघि पीडित चढेको प्रदेश–३–०१–२३ च ६५४७ सुजुकी बलेनो गाडीको सेफमा रहेको ४ लाख नगद सई कार्की र आकाश ठकुरीले लिएर गएको पीडितको आरोप छ ।

गौशाला प्रहरी वृत्तको हिरासतबाट उनी असार २७ मा थुना मुक्त भए । हिरासतमा बस्दा वरिष्ठ सई कार्की र आकाश ठकुरीले धाक धम्की दिएर ५ जनाको नाममा ५ थान चेक काट्न लगाएको पीडितको आरोप छ ।

त्यसबारे उनले प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी गरेका छन् । उजुरी उपर छानविन भइरहेको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए । उनले भने–‘गौशाला वृत्तमा भएको घटनाबारे उजुरी परेको छ, त्यसमा छानविन भइरहेको छ ।’

‘हिरासतमा थुनेको ४–५ दिनपछि टंक कार्की आएर मलाई धम्की दिए’ पीडितले प्रहरी प्रधान कार्यालयमा दिउको उजुरीमा भनिएको छ– ‘मेरी आमालाई चेक लिएर आउनु र छोरा लिएर जानु भनेर फोन गरेर उनीहरुले ५ जनाको नाममा चेक काटेर मलाई हिरासत बाहिर निकालेर हस्ताक्षर गराए ।’

आरोपीहरुले कृष्णप्रसाद भट्टराई, दिनेश आचार्य, युद्धबहादुर घर्ती, आलाबहादुर बम र नवराज हमालको नाममा चेक काटेर लगेको र सो पैसा नदिए फेरि पक्राउ गर्ने धम्की दिएको पीडितले बताएका छन् । चेक काटिएकाहरुसँग आफ्नो कुनै लेनदेन नभएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाले अनुसन्धानका लागि आइतबार पीडित युवकलाई झिकाएको छ । गौशाला वृत्तको हिरासत दुरुपयोग गरेर ११ दिन युवकलाई थुन्दा त्यहाँ कार्यरत डीएसपी केशव भट्टराईले रहस्यमय मौनता देखाएका छन् ।

यसबारे सम्पर्क गर्न खोज्दा भट्टराई सम्पर्कमा आउन चाहेनन् । सो घटनाको गर्भमा सुन तस्करी जोडिएको छ । असार ९ मा युएईबाट हिमालय एयरलाइन्सको जहाजमा ६ जना व्यक्तिहरु ५० ग्राम दरका सुन लिएर आएका थिए ।

तीमध्ये एकजना अजयकुमार रोकालाई प्रहरीले नियन्त्रणमा लियो । अन्य ५ जना विमानस्थल भन्सार पार गर्न सफल भए । पर्यटक भिसामा युएई गएर फर्कन लागेकाहरूलाई तस्करले ‘विमानस्थलमा लिन आउने मेरो मान्छेलाई दिनु’ भनेर सुन दिएर पठाएका हुन् ।

विमानस्थल भन्सार पार गरेर निस्केपछि ५ जनाले चितवनका युवकलाई सम्पर्क गरेर ५० ग्राम सुन दिए । उनीहरुले विदेश जाँदा लिएको ऋण बापत सो सुन दिएको बताइएको छ । ऋण तिरेपछि विदेशबाट फर्किनेहरूले युएईबाट सुन पठाउनेले भनेको मानिसलाई सुन दिएनन्, ५० ग्राम दरका चार थान बाला लिएर घरतिर लागेका थिए ।

सुन हराएपछि सुन तस्करको निर्देशनअनुसार वरिष्ठ सई कार्कीले चितवनका ती युवकलाई पक्राउ गरेर धम्क्याएको र थुनामा राखेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal