आज :

नेपालमा कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो ।

नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

यस्तै उता पूर्वी चीनमा केही दर्जन मानिसहरूलाई सङ्क्रमित गरिसकेको जनावरबाट सर्ने नयाँ भाइरसको वैज्ञानिकहरूले निगरानी गरिरहेका छन्।

चीनको हेनान र साङ्दोङ प्रान्तमा नोवल लाङ्ग्या हेनिपाभाइरस (लेभी) बाट ३५ जना सङ्क्रमित भइसकेका बताइएको। सङ्क्रमित धेरैलाई ज्वरो, थकान र खोकीजस्ता लक्षण देखिएको छ।

यो भाइरस जनावरबाट मानिसमा सरेको ठानिएको छ। तर लाङ्ग्या भाइरस मानिसबाट मानिसमा सर्ने कुरा पुष्टि भइसकेको छैन।अनुसन्धानकर्ताहरूले यो भाइरस छुचुन्द्रो प्रजातिको एक जनावरमा रहने गरेको पत्ता लगाएका छन्।

चीन, सिङ्‌गापुर र अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिनमा यसै महिना प्रकाशित गरेको लेखमा यो अन्वेषणबारे चर्चा गरिएको छ।

अनुसन्धानकर्तामध्येका एक सिङ्‌गापुरको ड्युक-एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग यो भाइरस घातक वा गम्भीर नभएको र यसबाट “आत्तिनुपर्ने अवस्था नभएको” बताएका छन्।

यद्यपि प्रकृतिमा रहने कतिपय भाइरसले मानवलाई सङ्क्रमित गरेपछि अकल्पनीय परिणाम आउने गरेको भन्दै वाङले यसबाट सजग रहनुपर्ने बताएका छन्। वैज्ञानिकहरूले परीक्षण गरेकामध्ये २७ प्रतिशत श्रु भनिने छुचुन्द्रो प्रजातिको जनावरमा यो भाइरस पाइएको थियो।

परीक्षणबाट यो जनावर यस्तो भाइरसको “प्राकृतिक भण्डार” रहेको देखिएको थियो। परीक्षण गरिएकामध्ये पाँच प्रतिशत कुकुर र दुई प्रतिशत बाख्रामा पनि यो भाइरस पाइएको थियो।

ताइवानको सेन्टर फर डिजिज कन्ट्रोलले आइतवार यो भाइरसको विकासक्रम “नजिकबाट नियालिरहेको” जनाएको थियो। लेभी जुनोटिक भाइरस भएको र हेनिपाभाइरसकै एक प्रकार भएकाले यो जनावरहरूबाट मानिसमा सर्न सक्ने बताइएको छ।

जुनोटिक भाइरसहरू सामान्य भए पनि कोभिड महामारीपछि यस्ता भाइरसहरूले धेरै ध्यान खिचेको छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले मानिसहरूमा देखा पर्ने हरेक नयाँ चार सङ्क्रमणमध्ये तीन वटा जनावरबाट सर्ने गरेको बताएको छ।

वन्यजन्तुको बढ्दो शोषण र जलवायु परिवर्तनका कारण थप यस्ता रोगहरू देखा पर्ने भन्दै संयुक्त राष्ट्रसङ्घले यसअघि सचेत गराएको थियो। कतिपय जुनोटिक भाइरसहरू मानव जातिका लागि घातक हुन सक्छन्। यस्ता घातक भाइरसमा निपाह भाइरस पनि एक हो।

एशियाली देशहरूमा यसले जनावर र मानिसहरूमा समय समयमा महामारीको रूप लिने गरेको छ। अस्ट्रेलियामा सबैभन्दा पहिले घोडामा पाइएको हेन्द्रा भाइरस पनि मानिसहरूका लागि घातक रहेको पाइएको थियो। यस्तै प्रकृतिका अन्य हेनिपाभाइरसहरू पनि श्रु, चमेरा र लोखर्के प्रजातिका जनावरमा पाइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal