आज :

अन्ततः चीन र रुसबीच भयो यस्तो सहमति, अमेरिकालाई झट्का, युरोप हल्लियो

  • अनलाइन डबली

काठमाडौँ । चीन र रुसबीचको ग्यास पाइपलाइन निर्माण कार्य सन् २०२४ बाट सुरु हुने भएको छ । द फाइनान्सियल टाइम्सकाअनुसार पावर अफ साइबेरिया दुई पाइप लाइनले मंगोलियाको भूभाग हुँदै चीनमा ग्यास आपूर्ति गर्नेछ ।

यसैबीच युरोपेली संघ (ईयू) ले अजरवैजानसँग नयाँ ग्याँस सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । रुस र चीनबीचको ग्यास पाइपलाइनको निर्माण कार्य दुई वर्षभित्र पूरा गरिसक्ने लक्ष लिइएको छ । यी दुई गठबन्धन मुलुकबीच आर्थिक र ऊर्जा सम्बन्ध गहिरिँदै गइरहेको छ ।

मंगोलियाका प्रधानमन्त्री ओयुन–एर्डेने लुभासान्नाम्सराइले फाइनान्सियल टाइम्सलाई बताएका छन्, “युक्रेनमा भइरहेको रुसी फौजको आक्रमणका कारण पावर अफ साइवेरिया पाइपलाइनको योजनामा केहि कठिनाइ आइरहे पनि यसको निर्माण कार्य २०२४ मै सुरु गरिनुपर्छ ।

दुईहजार ६०० किलोमिटर लामो यो पाइपलाइनले सन् २०३० मा सेवा आरम्भ गर्ने आशा गरिएको छ । यस पाइपलाइनमार्फत पारवहन शुल्क र कर पाइने हुँदा कोरोना भाइरस महामारीको कारण नाजुक अवस्थामा पुगेको मंगोलियाको अर्थतन्त्रमा पनि सकारात्मक टेवा पुग्ने भएको छ ।

रुसबाट चीनमा ग्यास निर्यात गराउनेबारे सन् २०१९ देखि नै प्रसंग उठेको थियो । तर युरोपले आफ्नो ग्यास माथिको निर्भरता कम गर्न थालेपछि अहिले रुस यस विषयमा तातिएको हो । ईयूले आगामी २०२७ मा अजरवैजानबाट कम्तीमा २० अर्ब क्युविक मिटर प्राकृतिक ग्याँस आयात गर्ने नयाँ सम्झौतामा हस्ताक्षर गरेको हो ।

उता युरोप अहिले खतरनाक हिट वेव(तातो लहर) सँग जुधिरहेको छ । यस कारणले कैयौं युरोपेली मुलुकमा डढेलो लागेको छ । यसबाट ठूलो धनजनको क्षति भएको छ । डढेलो र अचाक्ली गर्मी सहन नसकेर जर्मनी, स्पेन, पोर्चुगलमा मर्नेको संख्या हजार कटेको छ । महादेशभरमा मृतकको संख्या ४२०० कटेको बताइन्छ भने मानिसहरु गर्मीका कारण अत्यावश्यक काममा बाहेक घरबाट निस्किन सकिरहेका छैनन् ।

तातो लहर जलवायु परिवर्तनका विभिन्न असरमध्ये एक हो । युरोपमा पहिले पनि तातो लहर आउँथे तर तिनको तिव्रता र संख्या वर्षैपिच्छे बढ्दै गएको छ । खास कुनै क्षेत्रको त तापक्रम औसतभन्दा धेरै नै बढ्छ र त्यो स्थिति कयौ दिनसम्म रहन्छ भने त्यस स्थितिलाई हिट वेव वा तातो लहर भनिन्छ । यस्तो समयमा प्रभावित क्षेत्रको आद्रता पनि बढेको हुन्छ ।

युरोपमा तातो हावाको लहर चल्नुअघि यही वर्ष मार्च, अप्रिल र मे महिनामा उत्तर भारत र पाकिस्तानमा कीर्तिमानी तातो लहर आएको थियो । तातो लहरका कारणले दुवै नराम्ररी प्रभावित भएका थिए । उक्त तातो लहरबाट सयौँको ज्यान गएको थियो भने कृषिमा पनि त्यसले ठूलो क्षति पुर्याएको थियो ।

युनाइटेड किंगडम मौसम विज्ञान कार्यालयको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण भारत र पाकिस्तानमा गर्मीको लहरको सम्भावना १०० गुणा बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर जलवायु परिवर्तन कारण तापक्रम बढ्दै जाँदा भविष्यमा तातो लहरको अतिरिक्त मानिसहरुले पानी, खाना र ऊर्जाको अभाव झेल्नुपर्नेछ । साथै गम्भीर रोग, अकाल मृत्युको दर पनि बढ्दै जानेछ ।

हिट वेव आउनु पछाडिको कारण
युरोपमा अहिले आएको हिट वेवमा जलवायु परिवर्तनको योगदान भएको माथि नै चर्चा गरियो । खासमा त्यसले कसरी असर गर्छ त ? आज पृथ्वीको तापक्रम १९ औं शताब्दीको औसत तापक्रमको तुलनामा १.१ डिग्री सेल्सियस बढिसकेको छ ।

हरेक वर्ष वायुमण्डलमा मिसिने कार्बनडाइअक्साइडको वृद्धिले निरन्तर पृथ्वीको तापक्रम बढाइरहेको छ । यसका धेरै पर्यावरण असर हुन्छ, जसमध्ये एक तातो लहरको बढ्दो संख्या र तिव्रता पनि हो । जलवायु परिवर्तनको हिट वेबमा महत्वपूर्ण भूमिका हुने भएपनि यसबाहेक पनि अरु कारकहरु पनि रहेको छ, जुन निम्न बमोजिम छन् :

–जेट स्ट्रिम : पृथ्वीको माथिल्लो वायुमण्डलमा द्रुत गतिमा चल्ने हावा (जेट स्ट्रिम) मा परिवर्तनले युरोपमा गर्मी बढाउनेछ । सन् २००३ मा पनि यस्तै भएको थियो ।

– न्यून चाप क्षेत्र : हावा जहिले पनि उच्च चापीय क्षेत्रबाट न्यून चापीय क्षेत्रमा प्रवाहित हुन्छ । अहिले उत्तर अफ्रिकाको मरुभूमिबाट युरोपतिर हावा चलिरहेको छ । पोर्चुगलको तटीय क्षेत्र (न्यून चापीय क्षेत्र) वरपर केही दिनदेखि तातो हावा चल्नुको मुख्य कारण यही पाइएको छ ।

–ध्रुवीय क्षेत्रको हिउँको तिव्र पग्लाई : जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रको बरफ द्रुत गतिमा पग्लिरहेको छ । वैज्ञानिकहरुले यस भेगको बरफ अहिलेकै दरमा पग्लिने हो भने वर्षको अधिकांश बरफ रहने यो क्षेत्र स्थायी जल क्षेत्रमा बदलिने बताएका छन् ।

विगतमा यस क्षेत्रबाट युरोपमा चिसो लहर चल्ने गथ्र्यो । अहिले यो दर घट्न थालेको छ । माटोको सुख्खापन :युरोपका अधिकांश भागहरूमा माटोको चिस्यान कम छ । अर्थात् यहाँको जमिनले धेरै गर्मी सोस्दैन, जसका कारण तापक्रम बढ्दा हावाको तापक्रम उच्च हुँदै जान्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal