आज :

सर्वोच्चको यस्तो फैसलापछि संकटमा एआईजी विश्वराज पोखरेल, भन्छन- श्रीमतीलाई पर्खेको छु

  • अनलाइन डबली

काठमाडौँ । सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आफ्नो पक्षमा नआएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई संकट आइलागेको छ ।

अब धीरजप्रताप सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु आइपरेको छ । उनी तत्काल के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । हाल निकटस्थ र पारिवारसँगकै छलफलमै आफू रहेको पोखरेलको भनाइ छ ।

आईजीपीविरुद्ध तपाईँले दायर गरेको मुद्दा खारेज भएसँगै अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अहिले छलफलमै रहेको र श्रीमती पनि बाहिर भएकाले उनी फर्किएपछि आपसी सल्लाह गरेर आइतबार वा सोमबारसम्मका उपयुक्त निर्णय लिने बताए ।

‘श्रीमती पनि बाहिर गएको छ । म आइतबार सोमबारसम्ममा सल्लाह गरेर निर्णय लिन्छु।  काममा फर्किन पनि सक्छु । तर, काममा फर्किने कि राजीनामा दिने भन्नेमा एकिन भने भएको छैन । सल्लाह गरेर निर्णय लिन्छु ।’, उनले भने ।

उनले सर्वोच्च अदालतको फैसलामा आफनो केही पनि प्रतिक्रिया नरहेको बताए । सर्वोच्चका प्रवक्ता विमल पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।

आईजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको थियो । मुद्दामा शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू सतिशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहाल, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

पोखरेलले आफू आईजीपी हुन नपाएपछि लामो बिदा लिएका थिए भने बिदा सकिएपछि पनि उनले पुनः बिदा स्वीकृत गराउन चाहेका थिए । तर, उनको बिदा स्वीकृति भएको थिएन । बिदा स्वीकृत नभएपनि उनी कार्यालय भने गएका थिएनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal