
काठमाडौँ । यही बैशाख १५ गते हुन लागेको उपचुनावको प्रचारप्रसार अन्तिम चरणमा पुगेको छ । बझाङमा प्रदेससभा १ मा हुन लागेको चुनावको घरदैलो अभियानबाट नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्ताहरु उत्साहित भएका छन् ।
दुई चुनावपछि पहिलो पटक यो क्षेत्रमा माओवादीले उम्मेदवारी दिएपछि मतदाता तथा समर्थकदेखि स्थानीय कार्यकर्ताहरु खुशी भएका छन् । दश बर्षपछि दिएको उम्मेदवारीसँगै माओवादी नेता कार्यकताहरुले जित निकाल्ने गरी रातदिन खटिएका छन् ।
यसैबीच उम्मेदवार जनक बहादुर बुढा ‘सुदिप’ यो क्षत्रिका जनताले लामो समयदेखि माग गरेका खुटिया, दिपायल, चैनपुर, उरै सडकलाई राष्ट्रिय गौरवको आयोजनादेखि भूकम्प पीडितका माग पूरा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
बुढाले तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा रहेर जनतासँग प्रत्यक्ष जोडिएका समस्याको समाधानको लागि पहल गर्नेदेखि संविधान लेखनमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । बुढाले आफ्नो जीवन रहेसम्म जनताको पक्षमा लडिरहेन समेत प्रतिवद्धता जाहेर गरेका छन् ।
“म बिगत लामो समय जनयुद्ध लडेको, युद्धमा परिवार गुमाएको र घर सम्पत्ति समेत ध्वस्त भएको व्यक्ति हुँ । म शान्ति प्रक्रियापछि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर बझाङबासी जनसमुदायको पक्षमा लडेको र बोलेको कुरापनि सबैलाई जानकारी नै छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला उहाँको सचिवालयमा बसेर जिल्लाको बिकास र जनताको सेवामा सकेजति योगदान गरेकै हुँ । दोस्रो संविधान सभामा चुनिएपछि यो देशको समाजवाद उन्मुख वर्तमान संविधान लेखनमा पनि मैले महत्वपूर्ण भुमिका खेलेको छु । बिगत संविधानसभा सदस्य हुँदादेखि अहिलेसम्म पनि म माओवादी पार्टीको प्रदेश कमिटी सचिवको रुपमा देश, जनता र बिशेष गरेर बझाङ जिल्लाको बिकाश र समृद्धिको पक्षमा काम गरिरहेको छु । म सार्वजनिक पदमा रहेपनि नरहेपनि जीवनभर देश र जनताको पक्षमा लागिरहनेछु” बुढाले आफ्नो प्रतिवद्धतामा लेखेका छन् ।
यस्ता छन् बुढाका २२ प्रतिवद्धताः
१) खुटिया, दिपायल, चैनपुर, उरै सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न पहल गर्नेछु ।
२) चैनपुर, मेल्लेख, भामचौर, बिजगडा सडकलाई आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्नेछु ।
३) चैनपुर–सुर्मा सडकको स्तरोन्नती गर्नेछु ।
४) सेती लोकमार्गको छान्ना खण्डको काममा तीब्रता दिन पहल गर्नेछु ।
५) प्रत्येक पालिकामा कालोपत्रे सडक संजाल पुर्याउन पहल गर्नेछु ।
६) खप्तड, सुर्मा, साइपाललाई आकर्षक पर्यटक गन्तव्यस्थलको रुपमा बिकास गर्न पहल गर्नेछु ।
७) बान्नीमष्टा, ढडारमष्टा, सुर्मा र दुर्गा आदि देवस्थलहरुलाई धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्न पहल गर्नेछु ।
८) बिद्युत नपुगेका बस्तिहरुमा बिद्युतिकरण गर्नेछु ।
९) युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने कार्यक्रम लागू गर्नेछु ।
१०) उच्च हिमाली भेगमा रहेका र पहाडी भेगमा रहेका जडिबुटीको संरक्षण, बिकास, प्रशोधन र प्रवर्द्धन गर्ने कार्यक्रम लागू गर्न पहल गर्नेछु ।
११) बझाङ जिल्लामा सञ्चालित र सम्भावित बिद्युत आयोजनाहरुलाई चाँडो सञ्चालन र व्यवस्थापन गर्न पहल गर्नेछु ।
१२) भूकम्प र बाढी पीडितहरुका समस्या तत्काल समाधान गर्न पहल गर्नेछु ।
१३) सेती नदी, बाहुलीगाड, जडारीगाड कालंगालगायतमा तटबन्धको लागि पहल गर्नेछु ।
१४) नेट, इन्टरनेट र दूरसचार टावर व्यवस्थापनको लागि पहल गर्नेछु र जिल्लालाई प्रविधि मैत्री बनाउनेछु ।
१५) हरेक गाउँमा स्वच्छ खानेपानी, बाटोघाटो र सिँचाइको सुविधा पुर्याउन पहल गर्नेछु ।
१६) शिक्षा र स्वास्थ्यलाई निःशुल्क र शुलभ बनाई गुणात्मक सुधार गर्न पहल गर्नेछु ।
१७) जडिबुटीको प्रचुर सम्भावना भएको जिल्ला भएकोले बझाङमा जडिबुटी प्रशोधन तथा सकल उद्योग खोल्न पहल गर्नेछु ।
१८) चाइनासँग जोडिएको उरै नाका तत्काल सञ्चालनको लागि पहल गर्नेछु ।
१९) जडारथाम सडक, दाँतोला बाजुरा सडक, पिमी कैलाश बाजुरा सडक, मष्टा बाजुरा सडक, सिम्खेत जयपृथवी, बान्नीचौर, बिसौना, चुवावन, खोल्लेक सडक बिस्तार तथा स्तरउन्नती गर्न पहल गर्नेछु ।
२०) जिल्लामा भएका पुराना र ऐतिहासिक स्थल, संस्कृति, गढी धरोहर र कृतिहरुको संरक्षण र बिकास गर्नेछु ।
२१) साइपाल गाउँ पालिकामा बैंकिङ सुबिधा, खाद्यान्न व्यवस्थापन र सडक बिस्तार गर्न पहल गर्नेछु ।
२२) रुपातोला तलकोट जोड्ने मोटरेवल पुल निर्माण गर्न तत्काल पहल गर्नेछु ।