
काठमाडौं । केही दिनदेखि उठन नसकेको काठमाडौंको फोहोर आजबाट उठाउने सहमति भएको छ । काठमाडौंमा दुर्गन्ध फैलिरहेको फोहोर आज विहानबाट बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको हो ।
सोमबार सहरी विकास मन्त्रालय, काठमाडौैं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सहरी विकास मन्त्रालयमा काठमाडौं महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको छ ।
सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन गरेको, अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने र प्रभाविक क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल संचालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिवद्धता जनाएको छ ।
काठमाडौं महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फोहोरलाई आगामी १ साउनदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ । १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने प्रतिवद्धता पनि महानगरले जनाएको छ ।
फोहोर विसर्जनमा ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग र सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् । यसअघि ककनी र धुनिबेसीका स्थानीयले अवरोध गर्दै आएका थिए । उनीहरुले विभिन्न माग राखेर फोहोर जान रोक्दै आएका थिए ।
बार्तामा धुनिबेसी नगरपालिकाका वडा नम्बर १,२,४ र ककनीको वडा नम्बर १,२, र ३ का प्रभावित क्षेत्रका स्थानीय बसोबास गरिहरेका बासिन्दलाई नेपाल स्वास्थ्य बीमा बोर्डबाट विधि र प्रक्रिया पूरा गरी दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा गर्ने र यसका कामको प्रारम्भ १ हप्ताभित्र गर्ने सहमति भएको छ ।
त्यसैगरी धुनिबेसी नगरपालिकाका वडा नम्बर १,३,४ र ककनीको वडा नम्बर १, २, र ३ का प्रभावित क्षेत्रका वडाहरुको पूर्वाधार विकासको लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिने सहमति पनि भएको छ ।
सहमति पत्रमा साउन १ गतेदेखि उपत्यकामा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गिकरण गरी लैजाने व्यवस्था गर्ने उल्लेख छ भने वातावरणीय प्रभाव मूल्यांकनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने प्रतिवद्धता पनि काठमाडौँ महानगरले प्रतिवद्धता जनाएको छ ।
काठमाडौंका मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापनलाई आफ्नो चुनावी एजेण्डा बनाएका थिए । शपथ दिएर काम सुरु गरिसक्दा पनि फोहोर नउठेपछि बालेनको आलोचना हुन सुरु भइसकेको थियो ।