आज :

एकाबिहानै यस्तो आयो भरतपुरको ताजा मतपरिणाम, हेर्नुहोस् रेणु र विजयको मतान्तरसहित

  • अनलाइन डबली

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग मतान्तर बढाएकी छन्।

पछिल्लो विवरण अनुसार रेनुले विजय सुवेदीलाई १३४४ मतले पछि पारेकी छन्। २६ हजार २६ मत गनिसक्दा रेनुले ९३६३ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ८०१९ मत पाएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४१९१ मत पाएका छन्। उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारी १११३६ मतसहित पहिलो स्थानमा छन्। उनलाई राप्रपाकी हिमला गुरूङले ६५३५ मत ल्याएर पछ्याइरहेकी छन्।

भरतपुरमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल छ। भरतपुरमा अहिले वडा नम्बर ६ को मत गणना भइरहेको छ। यस्तै विवेकशील साझा पार्टीकी काठमाडौं महानगरपालिका मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले आफूले स्थानीय तह निर्वाचनमा ‘यति थोरै मत आउने अपेक्षा नगरेको’ बताएकी छिन्।

समीक्षाले थौरै मत आए पनि आफूले त्यसलाई सहर्ष स्वीकार गरेको बताएकी छिन्। झन्डै ३० हजार मत गणना हुँदा समीक्षाले अहिलेसम्म मेयर पदमा १२६ मत मात्र प्राप्त गरेकी छिन्। काठमाडौं महानगर पालिकाको अहिलेसम्म वडा नम्बर १ र २ वडाको गणना सकिएको छ भने वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ वडाको गणना जारी छ।

‘गणना भइरहेका ठाउँमा यति थोरै मत आउने अपेक्षा गरेका थिएनौं। अझै आशावादी हुनुपर्ने के छ भने अझै २० वटाभन्दा धेरै वडा गणना गर्न बाँकी छ,’ समीक्षाले भनिन्, ‘यद्यपि यो ७ देखि ८ वटा गणना गर्दा जति मत आउनुपर्ने हो, त्यो आएन।’ समीक्षाले जारी मतगणनाको नतिजालाई मैले सकारात्मक रूपमा हरेको बताइन्।

‘काठमाडौंमा ठूला दलहरू प्रतिको जुन वितृष्णा थियो, त्यसलाई काठमाडौंले यसपटक पोखेको छ। मतको आधारमा जाहेर गरेको छ। मैले यसलाई सकारात्मक रूपमा हेरेकी छु,’ समीक्षा भन्छिन्, ‘विवेकशील साझाले जुन आशा गरेको थियो, त्यो अहिले गणना भएका वडाहरूमा मतमा परिणत भएन। तर परिदृश्य सकारात्मक छ।’

उनले आफू अहिलेको अवस्थाका लागि तयार रहेको पनि बताइन्। ‘म यो सबैका लागि तयार थिएँ। किनभने पार्टीको पछिल्लो अवस्थाबारे मलाई जानकारी थियो। त्यसका बाबजुद म चुनावमा गएकी हुँ,’ उनले भनिन्, ‘मैले बारम्बार भनेँ, म राजधानीको फोहोर र राजनीतिको फोहोर सफा गर्न आएकी हुँ। अहिलेसम्मको नतिजाले राजधानीको फोहोर सफा गर्ने लक्षण देखाउँदैन तर राजनीतिको फोहोर सफा गर्न म यहीँ नै हुन्छु। मैले धेरै ठूलो विषयको रूपमा लिएकी छैन।’

उनले स्वतन्त्र उम्मेदवार बालेन शाहको भोटलाई आफूले आशाका रूपमा लिएको बताइन्। ‘स्वतन्त्र उम्मेदवारले जसरी मत प्राप्त गर्नुभएको छ त्यसलाई मैले आशाको रूपमा हेरेकी छु,’ उनले भनिन्, ‘२०७४ को चुनावमा रञ्जु दर्शना र किशोर थापालाई मत बाँडियो। राम्रो दुई उम्मेदवारबीच मत बाँडिएका कारण केही नतिजा निकाल्न गाह्रो भयो। अहिले बालेन्द्र शाहलाई जसरी मत आइराखेको छ, त्यो दुइटा राम्रो व्यक्तिलाई नगएर लहर पछ्याऊँ भन्ने आयो।’

उनले स्वतन्त्र उम्मेदवारलाई आएको मत सबैलाई चकित पार्ने हिसाबले आएको उल्लेख गरिन्। ‘यो भोट आक्रोशको भोट हो। ठूला दलप्रतिको वितृष्णाको भोट हो,’ समीक्षाले भनिन्, ‘महानगरले परिवर्तन चाहिराखेको छ।’ तर त्यो वितृष्णाको मत विवकेशीले साझातर्फ नआउनुमा आफ्नो पार्टीको समस्या कारक रहेको बताइन्।

‘पार्टीमा जुन टुटफुटदेखि लिएर विचारको विमतिलाई पनि मतदाताले अन्य दलको जस्तै रूपमा हेरिदिनुभयो। दल भर्सेस स्वतन्त्र उम्मेदवारको अवस्थामा विवेकशील साझा पनि दलको कित्तामा पर्‍यो,’ उनले भनिन्, ‘दसकौंदेखि भोट बैंक जम्मा गर्नुभएका दलहरूलाई यसले सरासर चुनौती दिएको छ। भोट कोही कसैको हुँदैन भन्ने कुरालाई चुनौती दिएको छ। ५ वर्षदेखि पार्टी निर्माणको क्रममा भएकालाई पनि यो चुनौती भयो।’ उनले महानगरबासीले आफू र बालेनलाई मत नबाँडियोस् भन्ने चाहेको बताइन्।

‘रञ्जु र किशोरको बेलामा पनि आक्रोश व्यक्त भएको थियो। त्यसले नतिजा निकाल्न सकेको थिएन। अहिलेको पटक त्यसैगरी मत विभाजित भयो भने गल्ती हुन्छ कि भनेर महानगरवासी सचेत भएको हो कि भन्ने पनि लाग्छ,’ उनले भनिन्, ‘मलाई नै कयौंजनाले फोनमा मेसेज पठाउनुभएको छ। तपाईं राम्रो उम्मेदवार हुँदाहुँदै पनि हामीले रञ्जु र किशोरको बेलाको जस्तो नहोस् भनेर यता दियौं भोट भनेर मेसेज आएको छ। मतदातामा २०७४ को विभाजित मतलाई एकै ठाउँ लैजानुपर्छ भन्ने देखियो।’

‘दल प्रतिको वितृष्णा पोख्दा नयाँ दल भए पनि हामीलाई त्यही बास्केटमा राखिदिनुभयो,’ उनले भनिन्, ‘जबकि हामी अहिलेसम्म डेलिभरी गर्ने ठाउँमा पुगेका छैनौं।’ उनले विवकेशील साझा नयाँ दल भए पनि उम्मेदवारी घोषणा ढिला भएको बताइन्। समीक्षाले आफू परिणामबाट नआत्तिने बताइन्।

‘कयौं व्यक्ति जमानत जफत भए पनि राजनीतिमा रहेर राजनीतिमा धेरै अगाडि बढेको स्थिति छ,’ उनले भनिन्, ‘महानगरको अहिलेमसम्म पूरै वडाको गणना पनि भएको छैन। अहिले प्राप्त गरेको मतमा म आत्तिनुपर्ने भन्दिनँ। तर हामीले सोचेको लक्ष्य यसले प्राप्त गर्दैन। मत परिणामले के परिदृश्य देखायो भने जुन लक्ष्य हामीले राखेका थियौं। त्यतातिर यसले लगेको छैन। जस्तो मत आएको छ त्यसलाई स्वीकार गर्नुको विकल्प छैन।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal