कीर्तिपुर, असोज २८ गते ।
क्रोधकला शिरोमणी कालु कुमाले (कुम्हा) को जीवनी, उहाँको कलायात्रालगायतका विषय समेटिएको म्युजिक भिडियो “शान्त स्वभाव” सार्वजनिक भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासङ्घलगायतका सङघ, संस्थाद्वारा सोमवार कीर्तिपुरमा आयोजित कार्यक्रममा क्रोधकला शिरोमणी कुमालेको जीवनी झल्काउने गीत शान्त स्वभावको लोकार्पण गरिएको हो ।
क्रोधकला शिरोमणी फाउन्डेसनले प्रस्तुत गरेको शान्त स्वभाव गीतको रचना प्रेम महर्जन, नरेन्द्र प्यासीको सङ्गीत÷स्वरमा शान्त स्वभावका गीतको म्युजिक भिडियो उज्ज्वल सिंहको निर्देशन÷छायाङ्कन गर्नुभएको छ ।
सो अवसरमा कीर्तिपुर महानगरले क्रोधकला शिरोमणी कालु कुमालेलाई दोसल्ला, प्रमाणपत्रसहित अभिनन्दन गरेको छ ।
कीर्तिपुर महानगर प्रमुख कृष्णमान डंगोलले भन्नुभयो,“अरनीको जन्मेको देश नेपालमा क्रोधकलामा पारङ्गत कलाकार कुमालेले पनि देशविदेशमै चर्चा कमाउनुभएका छ । ९३ वर्ष उमेरमा पनि मूर्ति बनाउने कर्ममा सक्रिय कलाकार कुमालेलाई कीर्तिपुर महानरले अभिनन्दन गर्न पाउने सौभाग्य ठानेका छौं ।”
सो अवसरमा लोककवि राजभाई जकमीःले क्रोधकला शिरोमणी कुमालेप्रति समर्पित कविता वाचन गर्नुभएको थियो । भने भैरवकाली नृत्य पनि प्रस्तुत गरिएको थियो ।
क्रोधकला शिरोमणी फाउन्डेसनका अध्यक्ष राकेश अवालेले आर्थिक अभावका कारण शिक्षाको उज्यालोबाट बन्चित हुनुपरेको कलाकार कुमालेले कलाकारीतामा संलग्न रहँदा पनि धेरैपटक अभावका कारण दुःखकष्ट झेल्नुभयो, उहाँले कलाकारीतामा सफल हुनुभएपछि अन्य कलाकार र असहायलाई सक्दो सहयोग गरौं भन्ने भावले स्थापना गरिएको फाउन्डेसनमार्फत समाजसेवामा संलग्न रहनुभएको बताउनुभयो ।
ललितपुर थपाटोल ओकुबहालमा जन्मनुभएका सौम्य, सितल, अति कम बोल्न रुचाउने व्यक्तित्वको धनी कलाकार कुमालेको बाल्यकाल कलामय वातावरण वित्यो । उहाँको परिवारले देवताको पूजामा चडाइने माटोको भाडा, विभिन्न आकृति बनाउनुहुन्थ्यो ।
बुबा सानु कुमालेले माटोको भाडा बनाउँदा कालु कुमाले पनि माटोका स, साना सुगा, मैना, हात्ति, बाघलगायतका आकृति बनाउदै कलायात्रा सुरु भयो ।
उहाँमा शास्त्र, थाङ्कामा वर्णन गरिए जस्तै मूर्ति बनाउन सक्ने खुवीको विकास भयो । उहाँको प्रतिभाको देशबाहिर पनि चर्चा हुन थाल्यो ।
उहाँका साइला छोरा राकेश अवालेका अनुसार माटोको भाडा बनाउने कलाकार परिवारको विडो थाम्दै सुरू भएको बुवा कालु कुमालेको यात्रा धातुको क्रोधमय भावको विशालकाय मूर्तिसम्म पुगेको र कलाकै माध्यमबाट चर्चित र सम्मानित हुने अवसर जुरेको छ ।
हात्तीवनस्थित उहाँको घर परिसरमा स्थापना गरिएको कला स्टुडियोमा राखिएका मूर्ति हेर्ने आगन्तुकको भीड नै लाग्छ ।
उहाँको मुर्ति सन् १९६८ मै लण्डनस्थित भिक्टोरिया एण्ड अल्बर्ट म्युजियममा राखिएको थियो, भने भारत, तिब्बतका थुप्रै गुम्बा, मन्दिर देवस्थलमा उहाँका मुर्तिकला देवताको रूपमा पुजीन्छ ।
क्रोधित एवं अन्य भाव भङ्गीका देव–देवीको विशाल मूर्तिकला निर्माण गरेर देश–विदेशमा समेत चर्चित बन्नुभएका प्राज्ञ कुमालेलाई उहाँको कामका कारण नागरिक समाज र राज्यको तर्फबाट क्रोधकला शिरोमणि पद्वी दिइएको थियो । नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानले मानार्थ प्राज्ञ उपाधि पनि दिइएको छ ।
उहाँले निर्माण गर्नुभएको चर्चित एवं विशाल कलाकृतिहरू भैरव,धँटल धन्वन्तरी बाराही, त्यागल बालकुमारी मन्दिरको गणेश र भैरव,महाबुद्ध ठूलो बज्र, यमन्त, सिद्धा, अजिमा, पद्यपाणि, बोधिसत्व, बज्रयोगिनी, बज्रभैरव, चक्रसम्वर, ह्यगृव, कालभैरव,स्वेत महाकाल, काग्युलगायतका छन् ।
म्युजिक भिडियो हेर्न तल फोटोमा क्लिक गर्नु होला –