काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार मोहन बस्नेतले मेयर जितेको निर्वाचन अधिकृत अमृता शर्माले बताइन्।
निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा भने गरिसकेको छैन। बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए।
उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्। उनले एमालेकी इन्दिरा न्यौपानेलाई पराजित गरेकी हुन्। वडा नम्बर १ मा एमालेका जय थापा मगरले जितेका छन्।
वडा नम्बर २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, वडा नम्बर ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, वडा नम्बर ४ मा कांग्रेसका पुष्कर खड्का, वडा नम्बर ५ का श्यामबहादुर खत्रीले जितेका छन्।
वडा नम्बर ६ मा पनि कांग्रेसका शैलेश मानन्धर, वडा नम्बर ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा कांग्रेसका योसकुमार वाइबा र वडा नम्बर ९ मा अमृका बलामीले जितेका छन्।
यता स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहनुभएका बालेन्द्र साहले अग्रता कायम गरेका छन् । महानगरको १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवार साह ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । एमाले उम्मेदवार स्थापितले हालसम्म २ हजार ९९२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६५७ मत ल्याएकी छन् ।
अरु उम्मेदवार कसको कति ?
मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः कलम १२, तराजु ६५, हलो ५२२, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा ३, करुवा २, तीर २, साँचो २, कार २, किताव ९, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुइँकटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५१९ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेका छन् ।
उपमेयरमा डंगोल अगाडि
शाखा अधिकृत श्रेष्ठका अनुसार उप मेयरमा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोल अग्र स्थानमा छन् । उनले हालसम्म ५ हजार ८ सय ९६ मत प्राप्त गरेकी छन् । त्यस्तै गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६ सय ३२ मत ल्याएका छन् ।
त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले क्रमशः तराजु २७८, हलो १,२४९, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गोलाकार भित्र हँसिया हतौडा १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ २, आधा खोसेलो निकालिएको मकैको घोगा ११, पुतली १, खरायो २, भुइँकटहर १, आँप २, गुलावको फूल २, लौरो ६२३, खानेपानीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ३८, अर्ना ६, आँखीझ्याल ५८३ मत प्राप्त गरेका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को अहिले मत गणना कार्य जारी छ । काठमाडौं महानगरपालिकामा अहिले १,२,३,४,५,३१ र ३२ वडाको मत गणना भएको छ । जसमा १ नम्बर वडाको मत परिणाम आइसकेको छ ।