आज :

मतदानका सुरु भएलगत्तै बारामा तनाव, १ जनाको टाउको फुट्यो, मतदान स्थगित

बारा । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

यस्तै उता दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा मतदान स्थगित भएको छ । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।

निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन । स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

गैरीमुदी, जनज्योती मावि र कालिढुंगा मावि मतदान केन्द्रमा बिहानैदेखि तनावपूर्ण रहेको छ । त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए । वैत्यश्वर कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

मतदान गर्न जाँदा के नगर्ने?
मतदाता नामावलीमा नाम भएका मतदाताले मतदाता परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गा धनीपुर्जाको सक्कल प्रमाणपत्रमध्ये एक लिएर जान आयोगको अनुरोध गरेको छ।

राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने ।

कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदानकेन्द्रमा प्रवेश गर्न नहुने।

मतदाताले मतदान केन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाईटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाउने।

कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार फैलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने।

कसैको दल वा उम्मेदवारको झण्डा वा चिन्ह अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने, कसैको पक्ष विपक्षमा सामाजिक संजाल मार्फत् कुनै कुरा प्रकाशन प्रसारण र सम्प्रेषण गर्न नहुने।

मतदान केन्द्रमा होहल्ला गर्न पनि पाइँदैन। यस्तै मतदान केन्द्रमा मतदानको लागि आउने अशक्त, वृद्ध, सुत्केरीलाई आवश्यक सहयोग गर्नुपर्छ।

आयोगले मतदान गर्न जाँदा स्वास्थ्य मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ। मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने पाए पनि यो चिह्नमा मत गर्नुपर्छ भनेर कसैलाई पनि भन्न पाइने छैन।

आयोगले मतदानको दिन गाडी प्रयोग गरी आउजाउ गर्न नहुने, अर्काका नामबाट मतदान गर्न नहुने, एकभन्दा बढी पटक मतदान गर्न नहुने, मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न नपाइने उल्लेख गरेको छ।

कुनै व्यक्तिले आफ्नो नाम ढाँटेर अर्को मतदाताका नाममा मतदान गर्न मतपत्र लिन आए उम्मेदवार र दलको प्रतिनिधिले एक सय रुपैयाँ धरौटी राखेर कारबाहीको माग गर्न सक्ने व्यवस्था छ। छानबिन गर्दा नाम ढाँटेर मतदान गर्न आएको पाइए तत्काल २५ हजार रुपैयाँसम्म जरिबाना गर्न पाउने अधिकार मतदान अधिकृतलाई दिइएको छ।

मतदान केन्द्रमा मतदाता, उम्मेदवार, निर्वाचन प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, महिला मतदाताका साथमा पाँच वर्षका बालबालिका, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्य मात्रै जान पाउनेछन्। शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकसाथ देशभर मतदान हुँदैछ।

निर्वाचन आचार संहिता, २०७८ ले मतदानको दिन मतदानकेन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणबारे पष्ट व्यवस्था गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal