
काठमाडौं । काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भइरहहेको छ । कोरोना भाइरसको सङ्क्रमण केही कम भए पनि जोखिम उस्तै रहेको भन्दै उपत्यकामा थप एक हप्ता लम्ब्याउने तयारी भइरहेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाका बारेमा निर्णय गर्न दिउँसो चार बजे तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।
यसअघि नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । आजको बैठकमा सार्वजनिक सवारी साधान संचालन गर्ने वा केही दिन अझैं रोक्ने भन्नेबारे छलफल हुने बताइएको छ ।
काठमाडौँ उपत्यकामा निषेधाज्ञा अहिले केही खुकुलो गरिएको छ । यसलाई थप खुकुलो बनाउने बारे छलफल भइरहेको छ । निजी गाडी र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । यस्तै, तरकारी तथा फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न दिइएको छ भने पुस्तक पसल पनि बिहान ११ बजेसम्म खुल्दै आएको छ । त्यसैगरी निश्चित समय तोकेर हार्डवेयरलगायत अन्य पसल पनि खोल्न दिइएको छ ।
विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । विज्ञले सङ्क्रमणको जोखिम कायमै रहेकोले सार्वजनिक गाडी खुलाउन हतार नगर्न सुझाव दिएका छन् । तर, यातायात व्यवसायीले लामो समयदेखि गाडी थन्किँदा समस्यामा परेको भन्दै खुलाउन माग गर्दै आएका छन् ।
काठमाडौं उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । पछिल्लो पटक थपिएको निषेधाज्ञा भोलि राति १२ बजेदेखि सकिँदै छ ।