श्यामकुमारी साह
लहान । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आज (नोभेम्बर २५) देखि विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यस अभियानले महिलामाथि हुने हिंसा अन्त्य, पीडितको संरक्षण, न्यायको सुनिश्चितता र दोषीलाई जवाफदेही बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएको छ ।
सन् १९९१ मा सुरु भएको यो अभियान महिला अधिकार तथा लैङ्गिक समानताका क्षेत्रमा विश्वव्यापी अभियानका रूपमा स्थापित भएको हो । नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस र डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका रूपमा मनाइन्छ ।
सन् २०२६ को अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि एकजुट बनौँ; न्याय सुनिश्चित गरौँ, हिंसापीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ रहेको छ । यसको भावनाअनुसार यस वर्षको अभियानले पीडितको संरक्षण, न्यायको सुनिश्चितता र दण्डहीनताको अन्त्यमा जोड दिएको छ ।
हिंसा व्यक्तिगत समस्या होइन, सामाजिक संरचनाको परिणाम
महिलामाथि हुने हिंसा कुनै व्यक्तिगत वा पारिवारिक समस्या मात्र नभई समाजमा विद्यमान असमान शक्ति सम्बन्ध, पितृसत्तात्मक सोच, लैङ्गिक विभेद र सामाजिक कुरीतिको परिणाम हो । घरेलु हिंसा, बलात्कार, यौन दुव्र्यवहार, बालविवाह, दाइजोका कारण हुने हिंसा, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने दुव्र्यवहार यसका विभिन्न स्वरूप हुन् ।
यस्ता घटनालाई पारिवारिक प्रतिष्ठा वा सामाजिक संस्कृतिको नाममा लुकाउने प्रवृत्तिले हिंसालाई थप निरन्तरता दिइरहेको छ । त्यसैले हिंसा अन्त्यका लागि कानुन निर्माण र कार्यान्वयनसँगै सामाजिक सोच तथा व्यवहारमा परिवर्तन आवश्यक छ ।
मधेशमा महिलाले भोगिरहेका बहुआयामिक चुनौती
मधेश प्रदेशमा लैङ्गिक हिंसाको अवस्था विश्लेषण गर्दा महिलाको लैङ्गिक पहिचानसँगै जात, वर्ग, भूगोल, अपाङ्गता र आर्थिक अवस्थाले पार्ने प्रभावलाई पनि ध्यान दिन आवश्यक छ ।
विशेषगरी दलित, गरिब, भूमिहीन, सीमान्तकृत, मुस्लिम समुदायका महिला, अपाङ्गता भएका महिला, एकल महिला तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाले विभेद र हिंसाका थप चुनौती सामना गरिरहेका छन् ।
दलित महिलाले जातीय विभेदसँगै लैङ्गिक हिंसाको जोखिमसमेत भोग्नुपरेको छ । आर्थिक रूपमा कमजोर महिलालाई हिंसाविरुद्ध आवाज उठाउन र कानुनी प्रक्रिया अपनाउन कठिनाइ हुने गरेको छ । ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाका लागि प्रहरी, स्वास्थ्य सेवा, न्यायिक निकाय, कानुनी सहायता र सुरक्षित आवाससम्मको पहुँच पनि सहज छैन । बालविवाह, दाइजो प्रथा, छोरा र छोरीबीचको विभेद तथा महिलाको सम्पत्ति र निर्णय प्रक्रियामा कमजोर पहुँच मधेशमा सामाजिक रूपान्तरणका प्रमुख चुनौती बनेका छन् ।
कानुन छ, तर न्यायको अनुभूति अझै चुनौतीपूर्ण
नेपालको संविधानले समानताको हक, महिलाको हक, शोषणविरुद्धको हक तथा सामाजिक न्यायको हक सुनिश्चित गरेको छ । घरेलु हिंसा, कसुर र सजाय ऐन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन र मुलुकी अपराध संहितालगायत कानुनी व्यवस्थाले महिलामाथि हुने हिंसालाई सम्बोधन गर्ने आधार प्रदान गरेका छन् ।
तर कानुन हुनु र व्यवहारमा न्याय प्राप्त हुनु फरक विषय हुन्। हिंसापीडित महिलाले उजुरी दर्ता, निष्पक्ष अनुसन्धान, प्रमाण संरक्षण, कानुनी सहायता र न्यायिक प्रक्रियामा सहभागी हुन अझै कठिनाइ सामना गरिरहेका छन् ।
कतिपय अवस्थामा पीडितलाई नै दोष दिने, सामाजिक प्रतिष्ठाको नाममा मिलापत्र गर्न दबाब दिने र राजनीतिक तथा सामाजिक पहुँचका आधारमा दोषीलाई संरक्षण गर्ने प्रवृत्तिले न्याय प्रक्रियालाई कमजोर बनाएको छ ।
न्याय भनेको अदालतबाट फैसला आउनु मात्र होइन। पीडितले सुरक्षित रूपमा आफ्नो कुरा राख्न पाउनु, गोपनीयता र आत्मसम्मानको रक्षा हुनु, स्वास्थ्य तथा मनोसामाजिक सेवा प्राप्त गर्नु र दोषीलाई कानुनअनुसार कारबाही हुनु पनि न्यायका महत्वपूर्ण पक्ष हुन् ।
पीडितलाई दयाको पात्र होइन, अधिकार प्राप्त व्यक्तिका रूपमा हेरौँ
हिंसा भोगेका महिला तथा बालिकालाई दया वा सामाजिक कलङ्कको दृष्टिले होइन, अधिकार प्राप्त व्यक्तिका रूपमा हेर्न आवश्यक छ । उनीहरूको आवाज सुन्ने, अनुभवलाई विश्वास गर्ने र निर्णयको सम्मान गर्ने जिम्मेवारी राज्य तथा समाज दुवैको हो ।
विशेषगरी बालिकामाथि हुने यौन हिंसा, बालविवाह र शोषणका घटनामा संवेदनशील व्यवहार आवश्यक छ । पीडितको परिचय सार्वजनिक गर्ने, घटनाबारे पटक–पटक बयान दिन बाध्य पार्ने र सामाजिक सञ्जालमार्फत पहिचान खुल्ने सामग्री राख्ने प्रवृत्ति रोक्नुपर्छ ।
हिंसाबाट प्रभावित महिलाका लागि सुरक्षित आवास, कानुनी सहायता, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, पुनस्र्थापना र जीविकोपार्जनका अवसर सुनिश्चित गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्छ ।
महिला मानवअधिकारकर्मीको सुरक्षा पनि उत्तिकै आवश्यक
महिला मानवअधिकार रक्षकहरूले हिंसा, विभेद, अन्याय र दण्डहीनताविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् । उनीहरूले समुदायमा सचेतना अभिवृद्धि गर्ने, पीडितलाई सहयोग गर्ने र राज्यका निकायलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
तर यही कामका कारण उनीहरूले धम्की, सामाजिक बहिष्करण, चरित्रहत्या, अनलाइन दुव्र्यवहार र राजनीतिक दबाबसमेत सामना गर्नुपरेको छ । त्यसैले महिला मानवअधिकार रक्षकहरूको सुरक्षा, स्वतन्त्रता र सम्मान सुनिश्चित गर्न राज्यले आवश्यक स्रोतसाधन तथा संस्थागत सहयोग उपलब्ध गराउनुपर्छ ।
सचेतनाबाट जवाफदेहितातर्फ अभियानलाई अघि बढाउनुपर्ने
१६ दिने अभियानलाई सभा, गोष्ठी, ¥याली र नारामा मात्र सीमित गर्नु हुँदैन। हिंसाका घटनाको निष्पक्ष अनुसन्धान, कानुनअनुसार कारबाही, पीडितमैत्री सेवा प्रणाली र स्थानीय तहका न्यायिक समिति, प्रहरी, स्वास्थ्य संस्था तथा महिला अधिकार संस्थाबीच प्रभावकारी समन्वय आवश्यक छ ।
त्यसैगरी बालविवाह, दाइजो प्रथा, घरेलु हिंसा र डिजिटल माध्यमबाट हुने दुव्र्यवहार अन्त्यका लागि समुदायस्तरबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्छ । हिंसा रोकथाममा पुरुष, किशोर तथा युवाको अर्थपूर्ण सहभागिता पनि सुनिश्चित गर्न आवश्यक छ ।
लैङ्गिक हिंसा अन्त्य गर्ने जिम्मेवारी महिलाको मात्र होइन । राज्य, राजनीतिक दल, नागरिक समाज, परिवार, विद्यालय, सञ्चारमाध्यम, निजी क्षेत्र र प्रत्येक नागरिकको साझा दायित्व हो ।
महिलालाई सुरक्षित रहन सिकाउने मात्र होइन, हिंसा गर्ने सोच र व्यवहार परिवर्तन गर्न आवश्यक छ । पीडितलाई चुप लाग्न आग्रह गर्ने होइन, हिंसाविरुद्ध बोल्न सक्ने वातावरण निर्माण गर्नुपर्छ ।
यस वर्षको १६ दिने अभियानले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ—हिंसा भोगेका व्यक्तिले न्यायका लागि अझै कति समय कुर्नुपर्नेरु दोषीले कहिलेसम्म उन्मुक्ति पाइरहनेरु र राज्यका संयन्त्र कहिले पूर्ण रूपमा जवाफदेही बन्ने ?
अब मौनता होइन, प्रतिकार आवश्यक छ । आश्वासन होइन, प्रभावकारी कार्यान्वयन आवश्यक छ । औपचारिक प्रतिबद्धता होइन, व्यवहारमै न्याय र संरक्षण सुनिश्चित गर्न आवश्यक छ । न्याय सुनिश्चित गरौँ, हिंसापीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ ।
(लेखक शाह महिला मानवअधिकारकर्मी हुन ।)


अनलाइन डबली

