
काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन आज फिर्ता लिनेबारे छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियाे ।
नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै माओवादी केन्द्रले समर्थन फिर्ता लिने तयारी गरेको हो । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिए अविश्वास प्रस्ताव ल्याउने समेत बताएको छ ।
काँग्रेसको नयाँ निर्णयसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिले कोल्टो फेरेको भन्दै नयाँ सरकार गठनबारे घनिभूत छलफल गर्ने बताएका थिए । ओलीलाई सरकारबाट हटाउन चाहेपनि काँग्रेस तयार नभएपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थिएन ।
काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको हो । माके र काँग्रेसका नेताहरुले जसपासँग सत्ता सहकार्यबारे शनिबारबाटै छलफल सुरु गरेका छन् ।
काँग्रेसले नयाँ सरकारबारे निर्णय र माकेले समर्थन फिर्ता लिने तयारीसँगै प्रधानमन्त्री ओलीले पनि आफ्नो तयारी थालेका छन् । स्रोतका अनुसार ओलीले पुनः संसद् विघटन गर्नेबारे केही कानुनविद्सँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएपछि आफ्नो राजिनामा आइहाल्ने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै ओलीले दिनदिनै राजिनामा मात्रै माग्ने तर समर्थन फिर्ता लिए आफूले अर्को कदम चाल्ने संकेत गरेका छन् ।