काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिको लागि आज अन्तिम खेल हुँदैछ । एनपीएलको दोस्रो संस्करणमा उपाधिको लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच खेल हुन लागेको हो ।
दिउँसो ३ बजे फाइनल खेल त्रिवि क्रिकेट रंगशालामा हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।
सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स पहिलोपटक प्लेअफ पुगेर फाइनलसम्मकै यात्रा तय गरेको छ ।
पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । जनकपुर भने यसपटक लिग चरणबाटै बाहिरिसकेको छ ।
यसपटक पनि लिगमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगिसकेको छ । दोस्रो प्रयासमा सुदूरपश्चिम उपाधि जित्ने लक्ष्यमा छ ।
सुदूरपश्चिमका लागि ब्याटिङमा विनोद भण्डारी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको भूमिका महत्वपूर्ण हुनेछ । तीनजना खेलाडीले धेरै रन बनाएका छन् । विनोदले ८ खेलमा २६४ रन, आरिफ शेखले १८० रन तथा दीपेन्द्रले १४९ रन बनाएका छन् ।
बलिङमा अविनाश बोहरा, स्कट कुग्लेइन र हर्मीत सिंह प्रभावकारी हुनेछन् । अविनाशले १६ विकेट लिएका छन् भने हर्मीतले १२ अनि कुग्लेइनले १० विकेट लिएका छन् ।
त्यस्तै, लुम्बिनीका लागि ब्याटिङमा रोहित पौडेल, डार्शी शर्ट र निरोशन डिक्वेलाको प्रदर्शनले महत्व राख्नेछ । रोहितले ९ खेलमा २६० रन बनाएका छन् । उनलाई अस्ट्रेलियन डार्शी शर्टले साथ दिइरहेका छन् जसले २४२ रन बनाएका छन् । निरोशन डिक्वेलाले ५ खेलमा १२६ रन बनाएका छन् ।
त्यसैगरी सुदूरपश्चिम रोयल्समा विनोद भण्डारी, मुख्तार अहमदरपुनीत मेहरा, शेल्डन ज्याक्सन, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, हर्मीत सिंह, स्कट कुग्लेइन, अविनाश बोहरा, हेमन्त धामी, मिलन बोहरा खेलाडी मैदानमा छन् ।
त्यस्तै, लुम्बिनी लायन्समा डार्शी शर्ट, दिनेश अधिकारी, रोहित पौडेल, दिलिप नाथ, निरोशन डिक्वेला, जेजे स्मिथ, सन्दीप जोरा, शेर मल्ल, रुबेन ट्रम्पलमन, अभिशेष गौतम, तिलकराज भण्डारी मैदानमा छन् ।


अनलाइन डबली


