 
	
काठमाडौं । वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले लामो संघर्षबाट बनेको संविधान विपरित संसद भंग गरेर त्यसलाई च्यातेको र उनका गलत कदममा लाहा छाप लगाउने राष्ट्रपति विद्यादेबी भण्डारी रबर स्ट्याम्प भएको आरोप लगाएका छन् । सोमबार राजधानीको संवाद डबलीमा ‘नयाँ पार्टी नेपाल’द्वारा ‘नेपालको राजनैतिक अवस्था र त्यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले ओलीको संवैधानीक ‘कु’वीरुद्धमा जनआन्दोलन–३ को आवश्यकता भएकोसमेत बताएका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गरेको संसद विघटन र त्यसबाट भएको संवैधानीक ‘कु’लाई सच्याएर देश जोगाउन सर्वोच्च अदालतको हातमा रहेको बताए । त्रिपाठीले कुनैपनि हालतमा संसद पुर्नस्थापना हुनु पर्ने र अदालतले त्यो गर्ने विश्वास व्यक्त गर्दै भने,“ ओली स्टेप वाई स्टेप असंवैधानीक र अराजनीतिक कदम चाल्दै जानुभएको छ, त्यसलाई राष्ट्रपति रवर स्ट्याम्पको भूमिका खेल्दै हुनुहुन्छ सो कार्य रोक्न जनताले अर्को ठूलो आन्दोलन गर्नुपर्ने बेला आएको छ ।” उनले अगाडी थपे“उहाँ विस्तारै थप तानाशाही र निरङ्कुश बन्दै जानुभएको छ, यस्तै हो भने उहाँको अबको स्टेप भनेको संकटकाल लगाएर मिडियाहरुमासमेत मिल्ट्री पठाउनु हुन्छ, हामी सतर्क बनौं ।” त्यसैगरी अर्का वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले प्रधानमन्त्री ओलीले आफ्नो विवेकले भन्दा पनि विदेशी शक्तिहरुको कठपुतलिकारुपमा उनिहरुको स्वार्थअनुरुप संसद विघटन गरेको आरोप लगाए । कार्कीले भित्रभित्रै देशमा खतरनाक षड्यन्त्र चलेको र देश गम्भिर संकटमा जानसक्ने चिन्ता व्यक्त गरे ।
त्यसैगरी वरिष्ठ पत्रकार प्रेम कैदीले वर्तमान शासकहरुले देशलाई निरन्तर परनिर्भर्ता तर्फ डोर्याइरहेकोले नेपाली जनताले हाम्रा पितापूर्खाहरुले आर्जेको नेपाली स्वाधीनतालाई जोगाउन तत्पर रहनुपर्ने बेला आइसकेको बताए । त्यस्तै, सीमाविद बुद्धिनारायण श्रेष्ठले हाम्रो देशमा हुने राजनीतिक अस्थिरताको फाइदा विदेशीहरुले उठाउने गरेको बताउँदै, ओली सरकारले नेपालको चुच्चे नक्सा सार्वजनीक गरेपनि त्यसको कार्यान्वयन पक्षमा भने परिणाम शून्य हुनु दुर्भाग्य भएको धारणा राखे । उनले अब नेपाल सरकार कुनैपनि हालतमा भारतसँग नेपाली भूमी फिर्ताको लागि दत्तचित्त भएर लाग्नुपर्ने र त्यसको निकासको लागि वार्ता उत्तम विकल्प भएको बताए, वार्तामा बस्दा नेपाली पक्ष दह्रो भएर भारतको तर्फबाट आउने हरेक रणनीतिमा जवाफसहित जानु पर्ने बताए । श्रेष्ठले यदि नेपाली पक्ष भारतसँग वार्तामा बस्न हिम्मत मात्रै गरेपनि भारतले नेपाली भूमि छाड्ने बताए ।
त्यसैगरी, प्राध्यापक डाक्टर खेमबन्धु कोइरालाले हाम्रो देशमा लोकतान्त्रीक स्वतन्त्रता आएको तीस वर्षमा नेपाली नेताहरुले देशलाई दिनप्रतिदिन परतन्त्रता तिर धकेल्दै गएकोप्रति आक्रोश व्यक्त गरे ।ग्रेटर नेपालका अभियान्ता प्रा.डा.सुरेन्द्र ढकालले विगतमा विश्व राजनीति युरोप र अमेरिका लगायत पश्चिमाहरुको हातमा रहेतापनि चीनको अभुतपूर्व मौलिक विकासले उनिहरुलाई तर्साएको र त्यसको प्रभाव नेपालमा पनि परेको बताए । नेपाल मार्फत चीनलाई घेर्ने पश्चिमा रणनीति र त्यसलाई कुनैपनि हालतमा रोक्ने चीनियाँ नीतिकोबीचमा नेपाल पर्ने भएकोले त्यस तर्फ हामी सजग रहनु पर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सल्लाहकार केशव देवकोटाले अहिले आफ्नो पार्टीमा ठूलो विभाजन आएको र त्यसको जिम्मेवार स्वयम् केपी ओली र प्रचण्ड जिम्मेवार रहेको बताउँदै भने,“माओवादी र एमाले विपरित धुर्ब थिए उनिहरुले हामी कसैलाई सोधेनन् एक भए अहिले विभाजन भए म कता हो मलाई नै थाहा छैन ।, जे भयो त्यो गलत भएको छ ।” कार्यक्रममा वरिष्ठ पत्रकार गोरख विसि, धर्मसभाका अध्यक्ष विष्णु राज पाण्डेले,समाजसेवी बलराम शाहले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता नयाँ नेपाल पार्टीका उपाध्यक्ष युवराज सफल तथा संचालन सो पार्टीका महासचिव लक्ष्मिदत्त भट्टले गरेका थिए ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          
















