काठमाडौं। कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरुले विद्यार्थी, अभिभावक तथा सम्बन्धित विषयका जानकारहरुसँग परामर्श नगरी एकोहोर अनलाईन माध्यमबाट पढाउने विषयलाई जोड दिनु पनि गलत भएकोसमेत औंल्याएका छन् ।
कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा हालै आयोजना गरेको एक वेबिनारमा नेपाल, थाइल्याण्ड र नर्वेका प्राविधिक तथा गैर–प्राविधिक प्राज्ञहरूले यस्तो सुझाव दिएका हुन् । सुझाब दिनेहरुले ४६ प्रतिशत भन्दा बढी विद्यार्थीहरु इन्टरनेट सुविधा लगायतबाट टाढा रहेको यथार्थलाई मुल्याङ्कन नगरी या आवाश्यक आधार तयार नपारी यसलाई जोड दिदा झनै शिक्षामा असमानताको खाडले बढ्ने चिन्ता व्यक्त गरेका छन् । उनिहरुले अब अनलाईन माध्यमको विकल्प पनि नभएकोले सरकार तथा सरोकारवाला पक्षले पहिला वैकल्पिक आधारबाट शिक्षा दिने माध्यमलाई दरो बनाउन जोड पनि दिएका छन् ।
कोभिड–१९ का कारण उच्च शिक्षामा पुगेको बाधालाई हटाएर यसलाई निरन्तरता दिन यसरी भर्चुअल शिक्षामार्फत् सीप विकास गर्ने र हालको केन्द्रिकृत परीक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने सुझाव आएको हो । वरिष्ठ शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका पूर्व डीन मनप्रसाद वाग्लेले कोभिड–१९ पछि उच्च शिक्षाको अवस्था चित्रण गर्दै सबै संस्थाबीच समन्वय आवश्यक भएको बताए । यस महामारीपछि उच्च शिक्षाको रोडम्याप तयार गर्न उनले सबैलाई आह्वान गरे ।
कल्प एकेडेमीका अध्यक्ष डा. प्रल्हाद कार्कीले उच्च शिक्षाका सबै सरोकारवालालाई एकै ठाउँ ल्याएर उच्च शिक्षा र शैक्षिक संस्थालाई महामारीपछि पनि कसरी दीगो बनाउने भन्नेमा जोड दिनुपर्ने औँल्याए । संयुक्त राष्ट्रसंघ दीगो विकास समाधान सञ्जाल तथा दीगो विकास एकेडेमीको सहयोग रहेको उक्त कार्यक्रममा देश–विदेशबाट विभिन्न सङ्कायका ११७ भन्दा बढी सहभागी थिए ।
नास्टका प्राज्ञ तथा प्रस्तावित मदन भण्डारी विज्ञान–प्रविधि विश्वविद्यालयका प्राध्यापक डा. रमेश कुमार मास्केले इन्जिनियरिङ र प्राविधिक विषयमा अनलाइन शिक्षाको चुनौती औँल्याए । उनले डिजिटल विभेदका कारण कसरी उच्च शिक्षामा ज्ञान, सीप र विचारमा फरक आउने जनाए ।
काठमाडौँ विश्वविद्यालयका डा. मनिष पोखरेलले उच्च शिक्षाका सबै सरोकारवालालाई एक ठाउँमा ल्याई महामारीपछिका लागि नयाँ शिक्षण शैली विकास गर्नुपर्ने बताए । अनलाइन शिक्षणलाई पुरानो शैलीको शिक्षणलाई निरन्तरता दिनेजस्तो नगरी शिक्षण शैली एवं पाठ्यक्रम मिलाउनुपर्ने उनले बताए । उच्च शिक्षाका लागि दूरदर्शी नेतृत्वको आवश्यकता उनले औँल्याए । उनले यहि अवस्थामा व्यापक छलफल, विद्यार्थी अभिभावकहरुसँग छलफल नगरि तथा प्रायजसो ग्रामीण इलाकाहरुमा इन्टरनेटको पहुँच नहुँदा शिक्षामा झनै खाडल बढ्ने चिन्ता समेत जाहेर गरे ।
मिडिया प्राध्यापक रामकृष्ण रेग्मीले कार्यक्रममा यस्ता छलफलले उच्च शिक्षाका सरोकारवालालाई भविष्यका यस्तै बाधाविरुद्ध सुदृढ बनाउने र ‘न्यु–नर्मल’ अवस्थाको परिष्कृत शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिए । थाइल्याण्ढका किङ्ग मोङ्गकुट विश्वविद्यालयका खगेन्द्र राज ढकालले एक अध्ययनलाई उद्धृत गर्दै विद्यार्थीहरूले शिक्षाको निरन्तरता खोजेको जनाए । उनले उच्च शिक्षामा विद्यार्थी–केन्द्रित हुँदै भर्चुअल स्थानलाई पनि महत्त्व दिन सुझाव दिए ।
नर्वेका एग्डर विश्वविद्यालयका डा. देविन्दर थापाले यस अवस्थालाई उच्च शिक्षामा नयाँ कदमको अवसरको रूपमा लिनुपर्ने जनाए । उनले पाठ्यक्रमलाई नै परिवेश सुहाउँदो बनाउनुपर्नेमा जोड दिए । छलफलमा सहजकर्ताका रूपमा आभास धरानन्द राजोपाध्यायले यस किसिमको वैचारिक मन्थनले नयाँपन दिने र विपद्को यस परिस्थितिमा उच्च शिक्षाको निरन्तरताका लागि प्रेरणादायी हुने बताए ।