आज :

भारतबाट नेपाल आउनेलाई सीमा नाकामै परीक्षण गर्न कर्णाली प्रदेशको केन्द्र सरकारसँग माग

सुर्खेत । कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले सीमा नाकामै परीक्षण गर्न माग गरेको छ । भारतबाट आउने नेपालीमा संक्रमण देखिन थालेपछि शनिबार प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सीमा नाकामै परीक्षण गर्न संघीय सरकारसँग माग गरेको हो ।

केन्द्रीय विपद् व्यवस्थापन समिति (सिसिएमसी) र संघीय सरकारसँग परीक्षण गरेर नेगेटिभ देखिएकालाई मात्रै प्रवेश गर्नु दिनुपर्ने माग गरेको छ । त्यस्तै, प्रदेश विपद् व्यवस्थापन समिति बैठकले भारतबाट आउने व्यक्ति बिनापरीक्षण प्रदेश प्रवेश गरेको अवस्थामा प्रदेश प्रवेश विन्दुमै आवश्यक स्वास्थ्य परीक्षण गरिने, आवश्यक मनोसामाजिक परामर्श प्रदान गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि तोकिएको समयपछि पिसिआर परीक्षण गर्नेलगायत ११ निर्णय गरेको छ ।

यस्ता छन् निर्णयहरु
१. भारतबाट आउने नेपालीहरुलाई सीमा नाकामै परीक्षण गरी संक्रमण नदेखिएका व्यक्तिलाइ मात्र आफ्नो प्रदेश र जिल्ला पठाउने व्यवस्था हुन CCMC र नेपाल सरकारलाई अनुरोध गर्ने।

२. भारतबाट आउने व्यक्तिहरु विना परीक्षण प्रदेशमा प्रवेश गरेको अवस्थामा प्रदेशको प्रवेश विन्दुमै आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, आवश्यक मनोसामाजिक परामर्श प्रदान गर्ने र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखेपछि तोकिएको समय पश्चात PCR Testing को प्रबन्ध सामाजिक विकास मन्त्रालयले मिलाउने।

३. प्रदेश भित्र प्रवेश गर्ने भारतबाट र स्वदेशकै जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पूर्ण विवरण अद्यावधिक गरी तिनीहरुको उद्धार तथा यातायात व्यवस्था सहित सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा पुर्‍याउने कार्य आन्तरिक मामिला तथा कानून मन्त्रालयले गर्ने। अत्यावश्यक अवस्थामा नेपाल-भारत सीमाबाट उद्धारको व्यवस्था समेत मिलाउने।

४. जिल्ला र स्थानीय तहमा स्थापित क्वारेन्टाइनको अनुगमन गरी आवश्यक सुधार र सुरक्षा व्यवस्था मिलाउन जिल्ला सुरक्षा निकायहरु समेत संग समन्वय गर्ने गरी देहाय अनुसार जिम्मेवारी बांडफांड गर्ने।

क)जुम्ला र कालिकोट – प्रदेश प्रहरी प्रमुख

ख) दैलेख र सुर्खेत – पृतनापति, उत्तर पश्चिम पृतना हेडक्वाटर

ग) सल्यान रुकुम (पश्चिम) र जाजरकोट – प्रमुख, सशस्त्र प्रहरी बल नेपाल, महेश्वरी बाहिनी मुख्यालय

५. क्वारेन्टाइनलाई सुरक्षा र अन्य दृष्टिकोणले समेत पायक र सुगम स्थानमा राख्नुपर्ने भएकाले यातायात साधनको पहुंच हुने उपयुक्त स्थानमा पालिकाको एकल वा दुई वा सो भन्दा बढी पालिकाको एकीकृत क्वारेन्टाइन स्थापनाका लागि जिल्ला र स्थानीय तहलाई आग्रह गर्ने।

६. विकास निर्माणका कामहरुलाई निरन्तरता दिने, प्रदेश सरकारको नीति अनुरुप आयोजना विशेषका लागि आवश्यक पर्ने निर्माण सामग्री र सीपयुक्त जनशक्ति (प्राविधिक जनशक्ति) जिल्ला बाहिरबाट ल्याउनुपर्ने अवस्थामा आयोजना सञ्चालन गर्ने निकायले आयोजना संचालन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेपछि जुन जिल्लाबाट त्यस्तो जनशक्ति र निर्माण सामग्री ल्याउनु पर्ने हो, सो जिल्लासंग आवश्यक समन्वय गरी जनशक्ति र निर्माण सामग्री सहज आगमनको व्यवस्था मिलाउने।

७. विकास आयोजना संचालन गर्न प्रदेश बाहिरबाट ल्याउने जनशक्तिको आवश्यक परीक्षण गरी स्वास्थ्य सुनिश्चितता गर्ने र त्यसरी ल्याईएका व्यक्तिहरुलाई आयोजना स्थलसंगै समूह अलगाव (Group isolation) मा राख्ने समेतको व्यवस्था सम्बन्धित आयोजना र निर्माण व्यवसायीले मिलाउने।

८. COVID-19 का संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लामा नै आइसोलेशनमा राख्ने, मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने र उपचारको प्रबन्ध गर्ने कार्य गर्ने। रिफरल केसमात्र विशिष्टिकृत अस्पताल (Dedicated Hospital)मा पठाउने।

९. निर्माणजन्य, खाद्य तथा कृषि र पशुजन्य सामग्री प्रयाप्त सुरक्षा प्रत्याभूति गरेर मात्र ढुवानी प्रबन्ध गर्ने। जोखिमयुक्त क्षेत्रबाट त्यस्ता सामग्रीको आगमन हुन नदिने। निर्माण र खाद्य सामग्री उद्योग वा कारखानाबाट सोझै सवारी साधनमा लोड हुने प्रबन्ध मिलाउने, प्रदेशको प्रवेश विन्दुमा अनिवार्य रुपमा निसंक्रमण गर्नुपर्ने। सामग्रीको गन्तव्य स्थलको स्थानीय उद्योग वाणिज्य क्षेत्रको प्रतिनिधिमूलक संस्थाले त्यसरी आगमन हुने सवारी साधनको सुरक्षा र सामग्रीको सुरक्षित भण्डारणमा ध्यान दिने।

१०. डोल्पा जिल्लाको शे-फोक्शुण्डो, डोल्पो बुद्ध र छार्का ताङसुङ गाउँपालिकाबाट भौगोलिक विकटताको कारण निर्धारित समयभित्र संकलन गरिएको स्वाब (Swab) परीक्षणका लागि परिक्षण प्रयोगशालामा पुर्‍याउन नसकिने भएकाले सो स्वाब संकलन गरी प्रयोगशाला सम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर प्रयोग गर्नुपर्ने अनिवार्यता रहेकोले नेपाल सरकार समक्ष अनुरोध गर्ने।

११. कोरोना संक्रमित व्यक्तिहरुलाई क्वारेन्टाईनबाट तोकिएको आइसोलेसन वा अस्पतालमा पुर्याउनका लागि जिल्लामा भएका एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र त्यस्तो एम्बुलेन्सलाई COVID-19 को दृष्टिकोणले सुरक्षित बनाउने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal